
काठमाडौं ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को सोह्रौँ वार्षिक साधारणसभा आज पुस २९ गते सम्पन्न भएको छ। राष्ट्रिय सभा गृहमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७९/८० को मुनाफा रकम मध्येबाट प्रतिशेयर ४० रुपैयाँका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ।
उक्त सभाले आर्थिक वर्ष २०७९।८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८० असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ।
यसैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०८०/८१ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउन्टेन्टद्वय नरेन्द्र भट्टराई र महेश कुमार गुरागाईलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै पारिश्रमिक समेत तोकेको छ ।
त्यसैगरी सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको रुपमा मनिषजङ्ग जोशी निर्विरोध निर्वाचित भएका छन्।
सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले कम्पनीको सोह्रौँ वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै यस क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धाको वातावरणमा मुनाफा भन्दा सेवा बिस्तारलाई उच्च प्राथमिकतामा राखी भौगोलिकरूपले अति विकट तथा दुर्गम क्षेत्रमा सेवा विस्तार तथा वितरण गर्दै डिजिटल नेपाल बनाउने नेपाल सरकारको अवधारणाको कार्यान्वयनमा सहयोग गर्ने, विद्युतीय सुशासनको क्षेत्रमा थप सहयोगी भूमिका निर्वाह गर्ने तथा अप्टिकल फाइबरको माध्यमबाट सूचना महामार्ग निर्माण गरी सेवाको विस्तार तथा गुणस्तर अभिवृद्धिका लागि कम्पनीले आफ्ना कार्यक्रमहरू परिलक्षित गरिरहको बताए।
समीक्षा अवधिमा कम्पनीको भ्वाइस सेवा तर्फको बजार हिस्सा ७.८२ प्रतिशतले वृद्धि भई ६१.५१ प्रतिशत पुगेको उल्लेख गर्दै अध्यक्ष सुवेदीले भने, ‘आन्तरिक तथा बाह्य वातावरणमा देखिएका विविध प्रतिकूलताकाबीच कम्पनीले कुल रु ४४.४२ अर्ब आम्दानी गरी रु ७.९२ अर्ब मुनाफा आर्जन गर्न सफल भएको छ । समीक्षा अवधिमा कम्पनीले कर तथा शुल्क बापत कुल आयको ६४.०७ प्रतिशतले हुन आउने रु २८.४६ अर्ब राजस्वको रूपमा बुझाइ राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याएको छ।’
सूचना प्रविधिलाई थप गुणस्तरीय तथा प्रभावकारी बनाउन कम्पनीले फोरजी एलटीई प्रविधिमा आधारित भोल्टी ( VoLTE -Voice over LTE) सेवा तथा एफटीटीएच सेवा बिस्तार, आवश्यक पूर्वाधार निर्माण र स्तरोन्नति तथा वितरणलाई निरन्तरता दिँदै परियोजना सफलतापूर्वक सम्पन्न हुने दिशामा अगाडि बढेको उनले बताए। यी सबैको परिणामस्वरुप समीक्षा अवधिको अन्त्यसम्ममा देशका ७७ वटै जिल्लाका अधिकांश स्थानीय निकायहरुमा अत्याधूनिक दूरसञ्चार सेवाको पहुँच बिस्तार भएको उनले बताए।
अति विकट र दुर्गममा रहेका बाँकी स्थानीय तहहरूमा उपयुक्त प्रविधिको उपयोग गरी सेवा बिस्तार गर्ने कार्यलाई निरन्तरता दिइएको, देशैभर हाई ब्याण्डविथ कनेक्टिभिटी बिस्तार गर्ने र कन्टेन्टमा आधारित भ्यालु एडेड सर्भिसेजको विस्तार गर्ने नीतिलाई निरन्तरता दिइएको तथा यस क्षेत्रमा भइरहका नवप्रवर्तन र विकासमा आधारित प्रविधि र सेवा बिस्तार गर्न अध्ययन अनुसन्धानलाई प्रोत्साहित गर्न आवश्यक व्यवस्था गरिएको बताए। ग्रामीण दूरसञ्चार विकास कोषबाट प्राप्त सहयोगको अधिकतम प्रतिफल प्राप्त हुनेगरी सूचना महामार्ग निर्माण गर्ने कार्यले गति लिएको समेत उनले बताए ।
कम्पनी सञ्चालक समितिका अध्यक्ष सुवेदीले अगाडि भने, ‘देशभर फोरजी/एलटीई तथा एफटीटीएच सेवा बिस्तारका लागि व्याकबोन नेटवर्कको स्तरोन्नति गरिएको छ। प्राविधिक तथा भौगोलिक दृष्टिकोणबाट सम्भव भएका स्थानहरूमा भूमिगत तथा एडीएसएस अप्टिकल फाइबरको माध्यमबाट सूचना महामार्ग निर्माण कार्यलाई तीव्रता दिइएको छ। अप्टिकल फाइबर नेटवर्क बिस्तार गर्न नसकिने स्थानहरूमा माइक्रोवेभ रेडियो लिंक तथा स्याटेलाइट लिंकमार्फत सेवा उपलब्ध गराइने र विद्युत आपूर्ति उपलब्ध नभएका स्थानमा सोलार पावर प्रणाली जडानमा विशेष जोड दिइएको छ।’
परम्परागत प्रविधिमा आधारित टेलिफोन सेवालाई आधुनिक एफटीटीएच प्रविधिबाट प्रतिस्थापन गर्ने कार्यमा प्राथमिकता केन्द्रित गरिएको र देशैभर यसका लागि आवश्यक कार्य भइरहेको बताउँदै उनले भने, ‘टुजी प्रविधिको प्रयोग गर्ने ग्राहकहरूको संख्या उल्लेख्य रहकोले यसको स्तरोन्नति र फोरजी सेवाको बिस्तार गरी दुर्गम र विकट क्षेत्रमा पुर्याउने कार्यलाई निरन्तरता दिइएको छ। जीएसएम मोवाइल सेवाको सञ्चालन अनमुति पत्रको अवधि २०८१ मा अवधि पूरा हुने भएकोले कानुनमा व्यवस्था भएअनुसार दोस्रो अनुमति पत्रको लागि आवश्यक प्रक्रिया अगाडि बढाइ सकिएको छ। फाइभजी प्रविधिको परीक्षणको लागि आवश्यक पूर्वाधारसहित तयारी अवस्थामा रहेको छ र नियामक निकायबाट परीक्षणको स्वीकृति प्राप्त भए पश्चात् परीक्षण गरिनेछ।’
दूरसञ्चारको प्रतिस्पर्धात्मक बजार अनुरुप समय सापेक्ष कम्पनीको पुनःसरचना गर्नेतर्फ विशेष ध्यान दिइने र कम्पनीमा उपलब्ध जनशक्तिको उच्चतम उपयोग गर्ने नीतिलाई प्राथमिकता दिइएको बताउदै उनले विश्वभर नै भ्वाइस सेवाको माग तथा प्राप्त हुने राजस्वमा गिरावटको साथै ओटीटी जस्ता सेवाले परम्परागत सेवालाई थप चुनौती दिएकोले प्रविधिमा आएको परिवर्तन कम्पनीबाट प्रवाह हुने सेवामा पनि तादात्म्यता मिलाउन प्रयासरत रहेको बताए।
कम्पनीले सोह्रौ साधारण सभाले पारित गरेबमोजिमको लाभांश रकम आजदेखि नै एनएमबी बैंकमार्फत सर्वसाधारण शेयरधनीहरुलाई वितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ।
प्रकाशित: २९ पुष २०८०, आईतवार