माघ २ गतेदेखि राष्ट्रियसभा सदस्य निर्वाचनको आचारसंहिता लाग्ने, सामाजिक सञ्‍जालमा यी काम गर्न नहुने

  • Technology Khabar | २९ पुष २०८०, आईतवार
माघ २ गतेदेखि राष्ट्रियसभा सदस्य निर्वाचनको आचारसंहिता लाग्ने, सामाजिक सञ्‍जालमा यी काम गर्न नहुने

काठमाडौं ।

राष्ट्रियसभा सदस्य निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आयोगले माघ २ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने जनाएको छ।

आयोगको आजको बैठकको निर्णय बमोजिम निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) अनुसार माघ २ गतेदेखि माघ १२ गते निर्वाचन सम्पन्न नभएसम्म आचार संहिताको दफा १ मा उल्लिखित सबै व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेगरी आचार संहिता जारी गरेको हो।

आयोगको निर्णय अनुसार निर्वाचन आचार संहिताको दफा ४, दफा ५ को खण्ड (क) , खण्ड (क१) र खण्ड (छ) दफा ९, दफा १४, दफा १६, दफा १७, दफा १८, दफा २१ र दफा २२ को व्यवस्था लागू गरिएको छ।

उक्त आचार संहिताअनुसार सामाजिक सञ्‍जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन, निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण (हेट स्पिच) गर्ने जस्ता भ्रामक टिका टिप्पणी गर्न वा गराउन नहुने व्यवस्था छ।

यसका साथै निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्‍न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्‍जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री शेयर गर्न नहुने, कुनै पनि किसिमबाट मतदाताको गोप्यता भङ्ग गर्ने कार्य गर्न नहुने लगायतका विषय छन्।

यसका साथै मतदान हुने दिनको अघिल्लो अठचालिस घण्टामा , सामाजिक सञ्‍जाल, अनलाईनलगायतका माध्यमबाट प्रचारप्रसारमा रोक लगाईएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले उल्लेख गरेका छन्।

“निर्वाचन आचारसंहिताले मतदान हुने दिनको अघिल्लो अठचालिस घण्टा अर्थात २०८० माघ ८ गते रातको १२ बजेदेखि निर्वाचन प्रचारप्रसार लगायत …कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्‍जाल, अनलाईन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन हुँदैन,” प्रेस विज्ञप्तीमा भनिएको छ।

प्रकाशित: २९ पुष २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...