
काठमाडौं ।
इलेक्ट्रिक दुई पांग्रे स्टार्टअप स्विच मोटोकर्पले आफ्नो सीएसआर ७६२ इलेक्ट्रिक बाइक भारतमा लन्च गरेको छ। अहमदाबादको ईभी स्टार्टअपले लन्चको घोषणा गरेको ९० दिनभन्दा कम समयमा आफ्नो पहिलो इलेक्ट्रिक बाइक सीएसआर ७६२ पेस गरेको ड्राइभस्पार्कले उल्लेख गरेको छ।
कम्पनीले स्विच सीएसआर ७२६ ईबाइक १ लाख ९० हजार भारु (एक्स शोरुम) मूल्यमा सार्वजनिक गरेको हो। रिपोर्टका अनुसार कम्पनीले यस इलेक्ट्रिक दुई पांग्रेका लागि आफ्नो स्टार्टअपमा एक अर्ब भारु भन्दा बढी लगानी गरेको छ।
यस इलेक्ट्रिक बाइक पूर्ण रुपमा मेड इन इन्डिया भएको कम्पनीको दाबी छ। यस बाइकको डमी फ्यूल ट्यांक भित्र हेलमेट राख्ने स्थान भएको कम्पनीले बताएको छ। सीएसआर ७६२ जोकी स्कार्लेट रेड, ब्ल्याक डायमन्ड र मोल्टेन मर्करी कलर विकल्पमा उपलब्ध छ।
स्विच सीएसआर ७६२ मा ३.६ किलोवाट आवरको लिथियम आयन स्वापएबल ब्याट्री र ३ किलोवाटको मोटर दिइएको छ। ईबाइक १३.४ बीएचपी पावर र १६५ एनएम टर्क उत्पादन गर्न सक्षम छ।
ईबाइकको अधिकतम गति १२० किलोमिटर प्रति घण्टा छ। सिंगल चार्जमा बाइकले १४० किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ। यसमा इन्डस्ट्री स्ट्यान्डर्ड सीसीएस (कम्बाइन्ड चार्जिङ सिस्टम) ब्याट्री चारको प्रयोग गरिएको छ।
बाइकमा फ्यूल ट्यांकको स्थानमा ४० लिटरको बूट स्टोरेज दिइएको छ। जसमा स्कुटरको जस्तै हेलमेट लगायत अन्य वस्तु राख्न सकिन्छ। ६ राइडिङ मोडमा उपलब्ध बाइको ह्वीलबे १४३० एमएम र तौल १५५ किलोग्राम छ।
यसको फ्रन्टमा टेलिस्कापिक फोर्क्स र रियरमा मोनो शक यूनिट दिइएको छ। ब्रेकिङका लागि ३०० एमएम फ्रन्ट र २८० एमएम रियर डिस्कका साथ कम्बी ब्रेकिङ सेटअप छ।
स्विच सीएसआर ७६२ मा अल एलईडी लाइटिङ, ५ इन्चको टीएफटी इन्ट्रुमेन्ट कन्सोल, दुई यूएसबी चार्जिङ पोर्ट र एक मोबाइल होल्डरको सुविधा छ। यसको डिजाइन शक्तिशाली स्पोर्ट्स बाइकको जस्तो छ।
प्रकाशित: २८ पुष २०८०, शनिबार