एनसेलको शेयर किनबेच अध्ययन तथा छानबिन समितिको अवधि माघ १५ गतेसम्म थपियो

  • Technology Khabar | २५ पुष २०८०, बुधबार
एनसेलको शेयर किनबेच अध्ययन तथा छानबिन समितिको अवधि माघ १५ गतेसम्म थपियो
पुल्चोकमा रहेको हिमालयन जाभाको कफी कपमा रहेको एनसेलको लोगो । फाइल तस्बिर

काठमाडौं ।

सरकारले एनसेलको शेयर खरिद विक्री भएको भनिएको सम्बन्धमा अध्ययन तथा छानविन गर्न गठित समितिको काम गर्ने समय थप गरेको छ।

मन्त्रिपरिषदको यहि पुस २४ गते बसेको बैठकले उक्त समितिको कार्यावधि २०८० साल माघ १५ गतेसम्म थप गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रि रेखा शर्माले आज मन्त्रिपरिषदको निर्णयको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईन्।

मन्त्रिपरिषद्ले २०८० मंसिर २१ गते एनसेलको शेयर खरिद विक्री भएको भनिएको सम्बन्धमा अध्ययन तथा छानविन गर्न समिति गठन गर्ने निर्णय गरेको थियो।

यसअघिनै उक्त समितिले माग गरेका कागजातहरु उपलब्ध नभएको भन्दै समय थप हुने बताईएको थियो।

मन्त्रिपरिषद् बैठकले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानविन गरी प्रतिवेदन पेश गर्न पूर्व महालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानविन समिति गठन गर्ने निर्णय गरेको थियो।

उक्त समितिमा सचिव फणिन्द्र गौतम, अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र आईक्यानका अध्यक्ष सुजनकुमार काफ्लेलाई सदस्य तोकिएको छ।

उक्त समितिले एक महिनाभित्र प्रतिवेदन पेश गर्नुपर्ने समयावधि तोकिएको थियो। अब समितिले माघ १५ गतेसम्म सरकारलाई बुझाउनुपर्नेछ।

प्रकाशित: २५ पुष २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार