विद्यालयको कम्प्युटर चोरी

  • Technology Khabar | २५ पुष २०८०, बुधबार
विद्यालयको कम्प्युटर चोरी
सांकेतिक तस्विर

काठमाडौं ।

ताप्लेजुङको मैवाखोला गाउँपालिकाको एक विद्यालयका कम्प्युटर चोरी भएको छ। मैवाखोला गाउँपालिका–५, फाकुम्बास्थित पाटीडाँडा माध्यमिक विद्यालयमा रहेका कम्प्युटर चोरी भएकिो हो।

विद्यालयकी शिक्षक शान्ता आङ्बुहाङकाअनुसार सूचना प्रविधि कक्षमा रहेका १२ थान ल्यापटप र चार थान डेस्कटप कम्प्युटर सोमबार चोरी भएको छ। कम्प्युटरका चार्जर र मल्टिप्लगलगायतका विद्युतीय सामग्रीसमेत चोरी भएको विद्यालयले जानकारी दिएको छ।

विद्यालयमा चोरी भएको खबरपछि इलाका प्रहरी कार्यालय दोभानबाट गएको प्रहरी टोलीले चोरी घटनाको विवरण सङ्कलन गरेको बताइएको छ।

विद्यालय स्रोतका अनुसार करिब साढे ११ लाख रुपियाँ बराबरको कम्प्युटरलगायतका सामग्री चोरी भएको छ। सो विद्यालयमा विगतमा पनि सामान्य चोरीका घटना हुने गरेको शिक्षक आङ्बुहाङले जानकारी दिईन्।

विद्यालयमा ह्युमन प्राक्टिस फाउन्डेसन (एचपिएफ) को सहयोगमा सूचना प्रविधि कक्ष सञ्चालनमा ल्याइएको थियो। प्रविधि कक्षमा भएको सबै कम्प्युटरसहित विद्युतीय उपकरण चोरी भएको प्रहरीले जनाएको छ।

चोरीमा संलग्न हालसम्म अज्ञात रहेको र अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। गोरखापत्रबाट

प्रकाशित: २५ पुष २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार