राष्ट्रिय परिचयपत्रका लागि बायोमेट्रिक दिनेको भिड

  • Technology Khabar | २५ पुष २०८०, बुधबार
राष्ट्रिय परिचयपत्रका लागि बायोमेट्रिक दिनेको भिड

काठमाडौं ।

महोत्तरीका स्थानीय तहमा राष्ट्रिय परिचयपत्रका लागि बायोमेट्रिक गर्न आउनेको भिड बढेको छ। सेवाग्राहीको भिडलाई व्यवस्थापन गर्न स्थानीय तहलाई निकै सकस भइरहेको छ। कतै लामो समयसम्म प्रतीक्षा गर्दा पनि विवरण भर्न नपाई फर्कनु परेको सेवाग्राहीको गुनासो छ भने कतै बायोमेट्रिकका लागि आलोपालो प्रणाली लागु गरिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेकाअनुसार अहिले महोत्तरीका १५ ओटै पालिका, तीन वटा इलाका प्रशासन तथा जिल्ला प्रशासन कार्यालय महोत्तरीको दुई गरी २० ठाउँबाट राष्ट्रिय परिपत्रका लागि विवरण लिने काम भइरहेको छ। स्थानीय तहमा बढिजसो वृद्धवृद्धा तथा जिल्ला र इलाका प्रशासन कार्यालयमा विवरण दिनेमा धेरैजसो युवाको भिड देखिएको छ।

महोत्तरीका १५ ओटै स्थानीय तहमा दैनिक एक हजार जनाभन्दा बढीको विवरण सङ्कलन हुने गरेको जनाइएको छ। यता इलाका प्रशासन बर्दीबास र गौशाला तथा जिल्ला प्रशासन महोत्तरीमा बायोमेट्रिक दिनका लागि दैनिक तीन सय जनासम्म आउने गरेको ती कार्यालयले जनाएका छन्।

विवरण भर्न आउनेको सङ्ख्या बढ्दै गएपछि सीमित साधन र जनशक्ति अभावका कारण कार्यालयलाई व्यवस्थापनमा सकस परेको छ। बायोमेट्रिक भर्न आउनेको सङ्ख्या थेगिनसक्नुभएपछि सीमावर्ती समसी गाँउपालिकाले प्रत्येक वडाका लागि छुट्टाछुट्टै दिनको पालो तोकेको छ ।

प्रमुख प्रशासकीय अधिकृत गणेशचन्द्र मिश्रका अनुसार समसीका छ वडालाई आइतबारदेखि शुक्रबारसम्म पालो लगाएपछि वडावासीले सात दिनपछि पालो पाए पनि कर्मचारीलाई विवरण भर्न केही सहज भएको छ। बायोमेट्रिकका लागि दिनको एक सय जनासम्म आउन थालेपछि भिड व्यवस्थापन गर्न इलाका प्रशासन बर्दीबासले टोकन प्रणाली लागु गरेको त्यहाँका प्रमुख सुनील शर्माले बताए। उनका अनुसार अहिले पनि भिड थेगिनसक्नु छ । जसका कारण माघ ९ गतेसम्मका लागि टोकन वितरण भइसकेको छ ।

यता इलाका प्रशासन कार्यालय गौशालामा पनि उत्तिकै भिड देखिएको छ । प्रमुख हेमबहादुर कार्कीका अनुसार २०८० मङ्सिर मसान्तसम्म इलाका प्रशासन कार्यालय गौशालाबाट बायोमेट्रिक भर्नेको सङ्ख्या १९ हजार ८४५ जना पुगिसकेको छ।

स्थानीय तहमध्ये बर्दीबास नगरपालिकामा समेत राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्न आउनेको भिड उत्तिकै देखिएको छ ।

नगरपालिकाको राष्ट्रिय परिचयपत्र कक्षमा बायोमेट्रिकको पालो पर्खिइरहेका भिडमा बर्दीबास–३, गौरीडाँडाकी ७० वर्षीय विमला ढुङ्गाना र सोही ठाउँकी २७ वर्षीय सङ्गीता खड्का पनि थिईन्। पालो पर्खंदा पट्यार लागे पनि एक्लो कर्मचारीको व्यस्तता देखेर गुनासो गर्न नसकिएको उनीहरूले बताए।

बर्दीबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारीले आर्थिक वर्ष ०८१/८२ देखि सामाजिक सुरक्षा भत्ताको विवरण अद्यावधिक गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएकाले बायोमेट्रिक भर्न आउनेको सङ्ख्या ह्वात्तै बढेको बताए।

राष्ट्रिय परिचयपत्र कक्षका अपरेटर अमृत लुङ्गेलीका अनुसार बर्दीबास नगरपालिकामा अहिलेसम्म चार हजार पाँच सयभन्दा बढीको विवरण सङ्कलन भइसकेको छ ।

फेरि पनि परिचयपत्र कक्षमा सेवाग्राहीको लाम उस्तै देखिन्छ । सरकारले राष्ट्रिय परिपत्र अनिवार्य गरे पनि त्यस अनुरूपको व्यवस्थापन र बन्दोबस्ती मिलाउन नसक्दा समस्या देखिएको हो । प्रशासन कार्यालय र स्थानीय तहमा बायोमेट्रिक दिनेको चाप बढ्दै गए पनि यी सेवाग्राहीका हातमा राष्ट्रिय परिचयपत्र कहिले आइपुग्ने हो, अनिश्चित छ ।

सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बायोमेट्रिक दिएकामध्ये २०७७ मङ्सिर २० गतेसम्मको परिचयपत्र भर्खर प्राप्त भई वितरण भइरहेको छ । त्यसयताको कहिले आउने हो अनिश्चित छ। गोरखापत्रबाट

प्रकाशित: २५ पुष २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार