
काठमाडौं ।
दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले आफ्नो पदबाट राजीनामा दिएका छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा समक्ष उनले आज राजीनामा दिएको बताईएको छ।
सोमबार बेलुका बोलाएर सञ्चारमन्त्री रेखा शर्मा समक्ष उनलाई राजीनामा दिन भनिएको भएपनि उनले राजीनामा दिएका थिएनन्।
तर आज बिहान मन्त्रालयमा पुगेर बुधवारदेखि लागु हुने गरी पदबाट राजीनामा दिएको बताइएको छ।
पछिल्लो समय उनी विभिन्न परियोजना र कार्यहरुमा उनी बिबादित रहेका थिए।
उनको कार्यकालमा टेरामोस, एमडीएमएस, ग्रामीण दूरसञ्चार विकास कोषलगायतका विषयहरु छानबिनको घेरामा छन्।
उनले आज बिहानै प्राधिकरणको कार्यालय पुगेका उनले केही कर्मचारीहरूलाई आफूले राजीनामा दिने जानकारी गराएर मन्त्रालय पुगेको बताईएको छ।
उता मन्त्रालय स्रोतले भने भर्खर पत्र बुझाउन अध्यक्ष खनाल आएको जानकारी दिए।
“भर्खर पाँच मिनेट अगाडी आएर राजीनामा पत्र दिएर जानुभयो,” मन्त्रालय स्रोतले भन्यो।
यसैबीच, अध्यक्ष खनालले आफूले राजीखुशीले राजीनामा दिएको बताए।
टेक्नोलोजीखबरसँगको कुराकानीमा उनले बुधबारबाट लागू हुनेगरी राजीनामा दिएको र कर्मचारीहरुलाई समेत जानकारी दिएको बताए।
“मैले बुधबारबाट लागू हुनेगरी राजीनामा दिएको छु। राजीखुशीले दिएको हुँ,” खनालले टेक्नोलोजीखबरसँग भने।
प्रकाशित: २४ पुष २०८०, मंगलवार