कोटेश्वर-तिनकुने खण्डमा आर्टिफिसियल इन्टेलिजेन्स ट्राफिक सिस्टम क्यामरा जडान, सवारीको गतिविधि ट्रयाक गरिने

  • Technology Khabar | २० पुष २०८०, शुक्रबार
कोटेश्वर-तिनकुने खण्डमा आर्टिफिसियल इन्टेलिजेन्स ट्राफिक सिस्टम क्यामरा जडान, सवारीको गतिविधि ट्रयाक गरिने

काठमाडौं ।

काठमाडौंको कोटेश्वर-तिनकुने खण्डमा आर्टिफिसियल इन्टेलिजेन्स ट्राफिक सिस्टम (एआईटीएस) क्यामरा जडान गरिएको छ। काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका प्रहरी कार्यालयबीचको सहकार्यमा कोटेश्वर-तिनकुने खण्डमा एआईटीएस क्यामरा जडान गरिएको हो।

कोटेश्वर-तिनकुने खण्ड भएर गुड्ने सवारी साधनको गतिविधिको निगरानी गर्न एनपीआरएस (नम्बर प्लेट रिकोनाइजेसन सिस्टम) टेक्नोलोजी जडान गरिएको ई३ सेल्स एण्ड सर्भिसका प्रोजक्ट सुपरभाइजर रञ्जित सिंहले जानकारी दिए।

यस क्षेत्रमा जडान गरिएको क्यामरा मार्फत दुबै तर्फको गाडीको नम्बर प्लेट र गाडीहरु आफ्नो लेनमा गुडेको छ कि छैन भन्ने रेकर्ड राखिन्छ। साथै यस सडक खण्डमा कस्ता प्रकारका गाडीहरु गुड्छन् भनेर वर्गिकरण पनि गरिनेछ।

एनपीआरएस प्रविधि दुबै तर्फको ३/३ लेनगरी ६ लेनको गतिविधि निरीक्षण गर्ने गरी डिजाइन गरिएको छ। यहाँ चार क्यामरा, लाइट, फ्ल्यास लाइट जडान गरिएको छ। फ्ल्यास लाइटले अघिल्लो सिटमा बस्ने चालक र सहचालकको गतिविधि विश्लेषण गर्छ। यस प्रविधिको मुख्य उद्देश्य भनेको सार्वजनिक यातायातमा हुने गतिविधिको निगरानी गर्नु रहेको छ।

एनपीआरएस प्रविधि जडान गरिएको क्षेत्रदेखि २५ मिटर क्षेत्र भित्र हुने गतिविधि रेकर्ड तथा क्यापचर गर्छ। यसको सम्पूर्ण डाटा, सर्भर, कन्ट्रोल लगायत उपत्यका प्रहरी कार्यालय रानी पोखरीमा रहेको छ।

काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ महानगरका मुख्य सडक, चोक एवं गल्लीमा सर्भिलेन्स क्यामरा जडान गर्नका लागि २० करोड रुपैयाँ विनियोजन गरेको छ। सोही बजेट अन्तर्गत महानगरले काठमाडौं उपत्यका प्रहरी कार्यालयसँगको सहकार्यमा सीसी क्यामरा जडान गरिरहेको छ।

यसका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई महानगरले करिब ६ करोड रुपैयाँ बजेट उपलब्ध गराएको छ। यस बजेटबाट उपत्यका प्रहरी कार्यालयले कोटेश्वर–तिकुने खण्ड सहित, महाराजगञ्ज, गोगंबुमा आर्टिफिसियल इन्टेलिजेन्स ट्राफिक सिस्टम क्यामरा जडान गर्नेछ। भने, न्यूरोड, ठमेल क्षेत्रमा करिब २०० ओटा क्यामरा जडान भइसकेको छ।

प्रकाशित: २० पुष २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार