
काठमाडौं ।
सरकार र नियमनकारी निकायको हठका कारण नेपालको इन्टरनेट सेवा नै बन्द हुने अवस्था आएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यसअघि भए गरेका निर्णय र संसदको सार्वजनिक लेखा समितिका निर्णयहरुलाई पालना गर्न नचाहनु र नेपाल दूरसञ्चार प्राधिकरणको गैर जिम्मेवारीपनका कारण इन्टरनेट सेवा आईतवार मध्यरातीदेखि बन्द हुने अवस्था आएको देखिन्छ।
यसअघिनै इन्टरनेट सेवा प्रदायकहरुले लिने गरेको मर्मत तथा संभार अर्थात सपोर्ट एण्ड मेन्टेनेन्सको बेरुजुको बारेमा पटक पटक छलफल र बहस भएपनि मन्त्रालयको हठका कारण सो समाधान हुन सकेको छैन्।
हेर्नुस् समाचार-
दूरसञ्चार प्राधिकरण र सञ्चार मन्त्रालयको कोपभाजनमा इन्टरनेट सेवा प्रदायक, एक-आपसमा दोष देखाउँदै
यहि कारणले गर्दा डिसेम्बर ३१ तारिख आईतबार(आज) मध्यरातदेखि इन्टरनेट सेवा बन्द हुने अवस्थामा पुगेको छ।
तर सो अवस्था आउन नदिन सेवा प्रदायकहरुले भने आफ्नै प्रयासमा ब्याण्डविथ नेपालमा पठाउने कम्पनीहरुसँग निरन्तर अनुरोध गरिरहेका छन्।
नेपालमा व्याण्डविथ भित्र्याउने प्रमुख नेटवर्क सेवा प्रदायकहरुले भारतीय अपस्ट्रिम प्रदायकहरु टाटा, एयरलटेल, जियो, सिफ्फीसँग छलफल गरिहरेका छन्। प्राधिकरणका अनुसार नेपालमा २३ कम्पनीहरुसँग नेटवर्क सेवा प्रदायकको अनुमति पत्र छ जसले विदेशबाट ब्याण्डविथ भित्र्याउँदै आएका छन्।
यसअघि भारतीय कम्पनीहरुले ब्याण्डविथको रकम भुक्तानी नभए जनवरी ३१ तारिखदेखि सेवा बन्द गरिने चेतवानीयुक्त पत्र पठाईसकेका थिए। सोही आधारमा इन्टरनेट सेवा प्रदायकहरुले नियामक निकाय प्राधिकरण र सरोकारबाला निकाय मन्त्रालयलाई विदेशी मुद्रा सिफारिसको लागि अनुरोध गर्दै आएका छन्।
तर मन्त्रालयले भने सार्वजनिक लेखा समितिको निर्देशन र आफ्नै निर्णय विपरित सपोर्ट एण्ड मेन्टेनेन्सको बेरुजु रहेको भन्दै विदेशी मुद्रा सिफारिस बन्द गरिदिएको छ।
यस्तै मन्त्रालयले यसअघि सर्वोच्च अदालतले दिएको आदेश विपरितसमेत सपोर्ट एण्ड मेन्टेनेन्सको बेरुजु तिर्न भन्दै आएको छ।
जसले गर्दा आज रातीदेखि इन्टरनेट सेवा बन्द हुनसक्ने भएको हो।
हालै प्राधिकरणले इन्टरनेट सेवा बन्द हुने बताउँदै आएका इन्टरनेट सेवा प्रदायकहरुलाई कारबाही गर्ने पत्र पठाएको छ। उनीहरुलाई शुक्रबार बेलुका पत्र पठाउँदै अनुमतिपत्रको शर्त बमोजिम चौविसै घण्टा गुणस्तरिय इन्टरनेट सेवा उपलब्ध गराउन चेतावनी दिएको छ।
सम्बन्धित समाचार-
इन्टरनेट बन्द भए सेवा प्रदायकहरुलाई कारबाही गर्ने दूरसञ्चार प्राधिकरणको चेतावनी पत्र
अर्कोतर्फ तत्काल समस्या समाधान हुने नदेखिएसँगै सेवा प्रदायकहरुले समेत व्यक्तिगतरुपमा केहि समयका लागि ब्याण्डविथ बन्द नगरिदिन भारतीय कम्पनीहरुलाई अनुरोध गरेका छन्। उनीहरुले सरकारी हठका कारण विदेशी मुद्रामा भुक्तानी गर्न नसकिएको भन्दै केहि दिन हेरिदिन भनेका हुन्।
ब्याण्डविथ भित्र्याउँदै आएका एक नेटवर्क सेवा प्रदायकले केहि दिनअघिदेखि नै आफूलाई इन्टरनेट दिने कम्पनीहरुलाई अनुरोध गर्दै आएको टेक्नोलोजीखबरलाई गत साता बताए। यस्तो अनुरोध सबै नेटवर्क सेवा प्रदायकले गरिरहेको जानकारी दिए।
“उनीहरुले दैनिक फोन गरेर भुक्तानी के भयो भनेर सोधिरहेका छन्। मैले केहि दिन थप समय देउ भनेर भन्दै आएको छु,” उनले भने, “केहि दिन वा साता थप गरिदिएपनि उनीहरुलाई भुक्तानी नदिँदासम्म यो समस्या अझ बल्झिने देखिन्छ।”
उनले सरकारले नै यसको निकास निकाल्नुपर्ने र बेरुजुको समस्या मिलाउनुपर्ने बताए।
यसैबीच सेवा प्रदायकहरुको संस्था आइस्पानले समेत पत्र पठाएर केहि थप समय दिन भारतीय अपस्ट्रिम प्रदायकहरु टाटा, एयरलटेल, जियो, सिफ्फीलाई अनुरोध गरेको स्रोतले जानकारी दियो।
उनीहरुले सो पत्र पाईसकेको तर त्यसको जवाफ नदिएको बताईएको छ।
“आइस्पानले पत्र पठाईसकेको छ तर उनीहरुले त्यसको बारेमा केहि भनेका छैनन्,” स्रोतले भन्यो, “सायद भारतमा पनि भोली विदा छ। केहि दिन थप समय दिन्छन भन्ने अपेक्षा हो।”
स्रोतकाअनुसार सबै सेवा प्रदायकहरुले व्यक्तिगतरुपमा अनुरोध गरेको र आइस्पानले समेत अनुरोध गरेको हुँदा केहि सहुलियत हुनसक्दछ तर सुनिश्चित हुन सकिएको छैन्।
“अब उनीहरुले के गर्दछन् भनेर हेर्ने हो। ब्याण्डविथ रोक्ने वा नरोक्ने उनीहरुकै हातमा छ,” स्रोतले भन्यो, “संभवत केहि दिन थप हुनसक्ने हामीले अपेक्षा गरेका छौं।”
यसको अर्थ नेपालमा आउने ब्याण्डविथ बन्द गर्ने वा नगर्ने विषय भारतीय अपस्ट्रिम प्रदायक कम्पनीहरुको निर्णयमा निर्भर हुने स्रोतको भनाई छ।
प्रकाशित: १५ पुष २०८०, आईतवार