
काठमाडौं ।
बनेपा-सिन्धुली-बर्दिबास बिपी राजमार्गमा विद्युतीय रिचार्ज स्टेसन बढ्दै गएको छ। पूर्वी नेपालको तराईका जिल्लालाई छोटो दुरीमा राजधानी काठमाडौंसँग जोड्ने बिपी राजमार्गमा पछिल्लो समय बाताबरण मैत्री विद्युतीय सवारीसाधनको सङ्ख्या बढेसँगै रिचार्ज स्टेसन बढ्दै गएको हो।
१६० किलोमिटर लम्बाइको उक्त राजमार्गमा विद्युतीय सवारीसाधन रिचार्ज गर्ने स्टेसन तीन वर्षअघिसम्म तीन ठाउँमा मात्रै थियो। अहिले झन्डै डेढ दर्जन स्थानमा रिचार्ज स्टेसन स्थापना गरिएको छ। सो राजमार्गमा रिचार्ज स्टेसन बढेसँगै सवारीसाधन रिचार्ज गर्न सुविधा पुगेको व्यबसायी बताउँछन्।
व्यवसायीका अनुसार बिपी राजमार्ग अन्तर्गत गौरीडाँडा, सिन्धुली बसपार्क, पानीट्याङ्की, मल्लागाउँ, चियाबारी, खनियाखर्क, लुट मूलकोट, रामटार, आँपघारी, देबीस्थान, मङ्गलटारसहित डेढ दर्जन स्थानमा रिन्चार्ज स्टेसन स्थापना गरिएका छन्। रिब्बार्ज स्टेसन स्थापना गर्न बिद्युत् प्राधिकरणले प्राथमिकतासाथ सहयोग गर्दै आएको छ।
बिद्युत् प्राधिकरण सिन्धुली शाखा वितरण केन्द्रका प्रमुख शिशिर लम्सालका अनुसार नेपालमा सबैभन्दा बढी बिद्युतीय सवारीसाधन चार्ज गर्ने रुट बिपी राजमार्ग भएको छ। प्रक्रिया र मापदण्ड पूरा गरी रिचार्ज स्टेसन स्थापना गर्न आएका ग्राहकलाई प्राथमिकता दिएर प्राधिकरणले सहयोग गर्ने गरेको छ।
उनका अनुसार बिपी राजमार्ग अन्तर्गत सिन्धुली बसपार्कमा एउटा र खुर्कोटमा दुई वटा विद्युत् प्राधिकरणले नै रिचार्ज स्टेसन स्थापना गरेको छ। प्राधिकरणको रिचार्ज स्टेसन आफैँले स्थापना गर्नेभन्दा निजी क्षेत्रबाट सख्या बढाउने नीति रहेको छ। प्रक्रिया र मापदण्ड पूरा गरेर आएका ग्राहकको फाइल रोकिएको छैन।
रिचार्ज स्टेसन राख्ने ठाउँसम्म विद्युत् लाइन विस्तार र दुई सय केभीसम्मको ट्रान्समिटर जडान प्राधिकरणले निःशुल्क गर्दै आएको छ। गोलन्जोर गाउँपालिका-५. हिर्दिङका नेत्रकुमार थापाले भिपो राजमार्ग अन्तर्गत खनियाखर्कमा हालै रिचार्ज स्टेसन सञ्चालनमा ल्याएका छन।
उनका अनुसार सबै खर्च जोड्दा २० लाख रुपियाँ जति लगानीमा रिचार्ज स्टेसन सञ्चालनमा ल्याइएको हो । होटल व्यवसायमा सहयोग पुग्ने लक्ष्यसाथ होटलकै अगाडि रिचार्ज स्टेसन सञ्चालन गरिएको थापाले बताए।
रिचार्ज स्टेसनमा ४० किलोबाट क्षमताको चार्जर जडान गरी तीन वटा नोजल जहान गरिएको छ। एक पटकमा तीन वटासम्म सवारीसाधन रिचार्ज गर्न सकिने व्यवसायी थापाले जानकारी दिए। दैनिक १५ वटासम्म गाडी रिचार्ज गरिँदै आएको थापाको भनाइ छ।
सुनकोशी गाउँपालिका-५. रामटारमा रामहरि पौडेलले तीन वर्षदेखि विद्युतीय सवारीसाधनका लागि रिचार्ज स्टेसन सञ्चालन गर्दै आएका छन्। व्यवसायी पौडेलले भिपी राजमार्गमा दैनिक बिहान गएको र बेलुका फर्किएका गरी ४१ / ४२ वटा सवारीसाधनमा रिचार्ज गर्दै आएको जानकारी दिए।
दिगो कम्पनीको ५० प्रतिशत अनुदानमा १७ लाख रुपियाँ आफूले लगानी गरी उक्त चार्जर जडान गरेको ब्यबसायी पौडेलले बताए। कमलामाई नगरपालिका-६ का यातायात व्यवसायी टक कार्कीले दुई वर्षदेखि दुई वटा विद्युतीय सवारीसाधन सञ्चालन गर्दै आएको बताए। पछिल्लो समयमा राजमार्गका विभिन्न ठाउँमा रिचार्ज स्टेसन खुलेसँगै सवारीसाधन रिचार्ज गर्न सुविधा पुगेको उनको भनाइ छ ।
यातायात व्यवसायी कार्कीले भने, “पहिले सीमित ठाउँमा रिचार्ज स्टेसन हुँदा बाटोमा नै चार्ज सकिएर अलपत्र परिने हो कि भन्ने त्रास हुन्थ्यो। अहिले कुनै भिन्ता छैन। ढुक्कले हिँड्न पाइएको छ।”
उनले डिजेल र पेट्रोलबाट सञ्चालन हुने सवारीसाधनभन्दा विद्युतीय सवारीसाधन वातावरणमैत्री र सञ्चालन खर्च सस्तो रहेको बताए। गोरखापत्रबाट
प्रकाशित: १५ पुष २०८०, आईतवार