क्यान महासंघको पोखरा अधिवेशनमा भएको भाँडभैलो मिलाउला त वार्षिक साधारणसभाले

Technology Khabar १३ पुष २०८०, शुक्रबार

क्यान महासंघको पोखरा अधिवेशनमा भएको भाँडभैलो मिलाउला त वार्षिक साधारणसभाले
क्यान महासंघको मुख्य कार्यालय। फाइल तस्विर।

काठमाडौं ।

कप्युटर एसोशिएसन नेपाल महासंघ क्यान महासंघले भोली शनिवार पुस १४ गते ३० औं केन्द्रिय वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ।

क्यान महासंघले यसअघि ३० औं केन्द्रिय साधारणसभा २०८० साल पुस १ गते शनिबार साइमन पार्टि प्यालेस, सृजना चोक पोखरामा राखेको थियो। तर उक्त साधारणसभामा भाँडभैलो भएसँगै साधारणसभानै स्थगित हुन पुगेको थियो। जसमा विधानअनुसार आवश्यक गण पुरक संख्याका कारण हुन नसकेको क्यान महासंघले समेत स्वीकार गरेको छ।

अहिले फेरी सोही ३० औं केन्द्रिय साधारणसभा काठमाडौंमा राखिएको हो।

“मिति २०८० साल पौष ३ गते मंगलबार बसेको केन्द्रिय कार्यसमिति बैठकको निर्णय एवं क्यान महासंघको विधान २०७० (संसोधन समेत) को परिच्छेद ४, दफा १४ को उपदफा (ग) मा भएको ब्यबस्था बमोजिम ३० औं केन्द्रीय वार्षिक साधारणसभा निम्न मिति, समय र स्थानमा हुने गरि दोस्रो पटक यो सूचना प्रकाशित गरिएको छ,” क्यानको सूचनामा भनिएको छ।

आयोजना हुन लागेको केन्द्रीय साधारणसभा नियमित सभा भएको बताईएको छ। उक्त सभामा सहभागी हुनका लागि केन्द्रीय कार्यसमिति अन्तर्गत रहेका व्यक्तिगत, व्यक्तिगत आजिवन, संस्थागत, संस्थागत आजिवन, तथा विषयगत सदस्यहरुले “सदस्यता प्राप्ति, नविकरण तथा ब्यबस्थापन सम्बन्धि निर्देशिका २०७७” बमोजिम आफ्नो सदस्यता नविकरण हुनुपर्नेछ एवं जिल्ला शाखा सदस्यहरुको हकमा केन्द्रीय सचिवालयमा शाखा नविकरण गरेका जिल्ला शाखाहरुको प्रतिनिधि एवं पर्यवेक्षेक हुनुपर्ने व्यवस्था रहेको छ।

यसअघि पोखरामा भएको केन्द्रीय साधारणसभामा भाँडभैलो मच्चिएपछि उक्त साधारण सभानै स्थगित हुन पुगेको थियो।

क्यान महासंघको पोखरामा आयोजित साधारण सभालाई विधान महाधिवेशनको रुपमा शुरुवातमा तोकिएको थियो। तर उक्त सभामा हात हालाहाल हुने अवस्था सिर्जना भएसँगै सभानै खारेज भएको थियो।

उक्त विधान महाधिवेशन सभामा सहभागी भएका क्यान महासंघका एक सदस्यकाअनुसार पोखरा बैठकमा संस्थापन र पूर्व अध्यक्षहरु एक तर्फ तथा अन्य सहभागीहरु विपक्षीको रुपमा उपस्थित भएका थिए।

“संस्थापनले पेलेर जान खोजेको र आफ्नो निर्णय जबर्दस्ती लाद्न खोजेपछि विवाद शुरु भएको थियो,” क्यान महासंघका ती सहभागीले भने, “प्रस्तुत गरिएका प्रस्तावहरुको विपक्षमा नजान महासचिवले मन्चबाटै उर्दी दिएका थिए।”

सहभागी अर्का एक सदस्यकाअनुसार उक्त सभामा हचुवाको भरमा विधान संसोधन गर्न खोजिएको भन्दै आपत्ति व्यक्त गरिएको थियो। जसमा केन्द्रिय सदस्यहरु हेमपाल श्रेष्ठ, निरन्जन पटेलसहितका अन्य जिल्ला सदस्यहरु तथा सहभागीहरुले चर्को विरोध गरेका थिए।

विशेषगरी उनीहरुले निर्वाचनमा हुने मतभारको विषयमा आपत्ति जनाएका थिए। उक्त विधान महाधिवेशनले जिल्ला शाखाको मतभार ४५ प्रतिशत, संस्थागत सदस्य समूहको मतभारलाई २५ प्रतिशत, व्यक्तिगत सदस्य समूहलाई २५ प्रतिशत र वस्तुगत सदस्य समूहलाई ५ प्रतिशत बनाउने प्रस्ताव गरिएको थियो।

हाल जिल्ला शाखाको मतभार ३० प्रतिशत, संस्थागत सदस्य समूहको मतभारलाई ३० प्रतिशत, व्यक्तिगत सदस्य समूहलाई ३० प्रतिशत र वस्तुगत सदस्य समूहलाई १० प्रतिशत मतभारको व्यवस्था रहेको छ।

यसमध्येमा पनि सहभागीहरुले सेक्टोरल मतभारलाई ५ प्रतिशतमा झार्ने प्रस्तावमा कडा विरोध गरेका थिए।

सोही विरोध र नाराबाजीका कारण उक्त विधान अधिवेशन तथा साधारण सभानै बिचैमा रोकिएर असफल भएको थियो।

निर्णयको दुईओटा कागजात

विधान महाअधिवेशन गर्नका लागि पारित गरिएको निर्णयको माइन्यूटनै दुई ओटा भएको भेटिएको छ। टेक्नोलोजीखबरले पाएको दुबै कागजातहरुमा एउटै प्रकृतिका निर्णयहरु भएपनि हस्ताक्षरहरु फरक फरक गरिएको छ।

एउटामा सबै कार्यसमितिका सदस्यहरु र विद्यान महाधिवेशन समितिका सदस्यहरुको हस्ताक्षर गरिएको छ भने अर्को निर्णयमा तीनजना कार्यसमितिका पदाधिकारीहरुको मात्र हस्ताक्षर गरिएको देखिन्छ।

सबैको हस्ताक्षर भएको कागजातलाई पोखरामा जानुअघि तयार पारिएको बताईएको छ भने चर्को विवाद आएसँगै पछिल्लो तीन पदाधिकारीको हस्ताक्षर भएको काजगात बनाईएको स्रोतले दाबी गरेको छ। एउटा निर्णय महाधिवेशनको समय अघि नै गरिएको र अर्को महाधिवेशन हुने समयमा पुरानो मितिमा गरिएको स्रोतको दाबी छ।

अझ रोचक विषय भनेको, उक्त निर्णय कागजातमा भएका सबै निर्णय बुँदाहरु सर्वसम्मतरुपमा गरिएको र उक्त निर्णयको विरुद्धमा गएमा जस्तोसुकै कारबाहिको भागिदार हुने सहमति समेत बैठकको माइन्यूटमानै गरिएको देखिन्छ।

“अन्त्यमा, यस सर्वसम्मत निर्णयलाई पूर्णरुपमा कार्यान्वयन गर्न सबै जना प्रतिबद्धता जाहेर गर्दै निर्णयको विरुद्धमा गएमा जस्तो सुकै कारबाहीको भागिदार हुने सहमति सहित बैठक समापन भयो,” निर्णय कागजातमा लेखिएको छ।

सोही बैठकको निर्णयको आधारमा पोखरा विधान महाधिवेशनमा संस्थापन र पदाधिकारीहरुले दम्भ देखाएको एक केन्द्रिय सदस्यले आरोप लगाए।

“सभामा केन्द्रिय सदस्यलाई बोल्न नै नदिने नियम महासचिवले घोषणा गरे र हामीलाई पेलेर जान खोजियो,” ती सदस्यले भने,”अन्य साथीहरुले विधान आफैं लेख्छौं भनेपछि थप तनाब भयो।”

यसका साथै उक्त विधान संसोधनलाई हचुवाको भरमा पारित गर्न खोजेपछि उपस्थित जिल्ला सदस्यहरुले उपस्थिति गणनाको माग गरेका थिए। जसमा गणपुरक संख्या नपुगेपछि बैठकको गतिबिधि रोकिएको थियो।

हेर्नुस् निर्णय कागजातहरु-

सोही प्रकृतिको निर्णय गरिएको अर्को कागजात समेत रहेको छ। जसमा तीन पदाधिकारीहरुले मात्र हस्ताक्षर गरेका छन्।

प्रकाशित: १३ पुष २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया