‘श्रम संसार’ एप सञ्चालन

Technology Khabar १२ पुष २०८०, बिहीबार

काठमाडौं ।

कोशी प्रदेश सरकारले रोजगारीको खोजी गरिरहेका युवा र रोजगारदातालाई एकै ठाउँमा जोड्ने गरी तयार पारेको श्रम बजार सूचना प्रणाली सञ्चालनमा ल्याएको छ।

मोबाइल एपसमेत विकास गरिएको सूचना प्रणालीमा रोजगारीको खोजीमा रहेकाहरूले आफ्नो दक्षतासहितको विवरण उपलब्ध गराउने र रोजगारदाताले आवश्यकता अनुरूप श्रमिकहरू छान्न सक्ने गरी तयार पारिएको श्रम बजार सूचना प्रणाली श्रम संसार सञ्चालनमा ल्याएको हो।

सामाजिक विकास मन्त्रालयको श्रम सूचना केन्द्र मातहतमा रहने गरी सञ्चालनमा ल्याएको एपको बुधबार एक कार्यक्रमकाभिन्न कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शुभारम्भ गरे। कार्यक्रममा मुख्यमन्त्री कार्कीले श्रमको सम्मान गर्न सके मात्र देशको विकास हुने बताए।

उनले भने, “हाकिमदेखि स्विपरसम्म सबैले आफ्नो काम गरिरहेको अबस्था छ सबै आफ्नो ठाउँमा दक्ष हुन्छन्। अममा ठुलो सानो भन्ने हुँदैन, त्यस कारण श्रमको सम्मान गर्न जरुरी छ।”

मुख्यमन्त्री कार्कीले दक्ष जनशक्ति रोज्नका लागि श्रम संसार फलदायी हुने बताए। उनले यसबाट रोजगारदाताले काम गर्ने मान्छे रोजेर पाउने छन् भने युवालाई आफूले चाहेको काम पाउन सहज हुने धारणा व्यक्त गरे। उनले भने, “यस्ता प्रविधिको प्रयोगले श्रम बजारलाई समेत व्यवस्थित गर्न मद्दत पुग्ने छ।”

श्रम संसार वेब पोर्टलमा सिप विकासका क्रियाशील विभिन्न लक्ष्य संस्थाहरू रोजगारदाता संस्थाहरू, रोजगारको खोजी गर्ने व्यक्तिहरू सबै दर्ता हुने व्यवस्था गरिएको छ।

पहिलो चरणमा बिराटनगर महानगरपालिका, सुनसरीको दुहबी नगरपालिका र इटहरी नगरपालिका यस सूचना प्रणालीमा आबद्ध भएका छन्। यसलाई थप पालिकाहरू आबद्ध गराउँदै बृहत पहुँचमा लगिने सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले स्विस कन्ट्याकका साथै आस्मान नेपालसँगको सहकार्यमा सम्बालित स्टेप अप परियोजना अन्तर्गत यो प्रणाली सञ्चालनमा ल्याएको हो। यसअधि तीन स्थानीय तहविन समझदारी बनाएर साझेदारीमा अगाडि बडेको यो प्रणाली अब प्रदेश मातहतमा आएको सामाजिक विकास मन्त्रालय श्रम तथा रोजगार शाखाका अधिकृत रिता खतिवडाले जानकारी दिए।

स्विस कन्ट्याक्टका प्रोजेक्ट अफिसर सागर चापागाईले काम खोज्न र रोज्नका लागि निःशुल्क माध्यमका रूपमा यसलाई विकास गरिएको र यसका डाटाहरू सुरक्षित रहेको जानकारी दिए।

एपबाट बेरोजगार युबालाई रोजगारीमा समेट्नुका साथै स्थानीयस्तरमा हुने तालिमका बारेमा पनि जानकारी प्राप्त गर्न सकिने छ।

अहिलेसम्म यो प्रणालीमा तीन हजार भार सय बढी संस्था तथा व्यक्ति दर्ता भइसकेका छन्। त्यस्तै तीन सय बढीले रोजगारीका लागि आबेदन दिएकोमा ३१ जनाले रोजगारी प्राप्त गरिसकेको मन्त्रालयले जनाएको छ।

कार्यक्रममा कार्यगत एकता तथा सहकार्यका लागि कोशी प्रदेश सरकार स्विस कन्ट्याक्ट र आस्मान नेपाल बिच त्रिपक्षीय हस्ताक्षरसमेत भएको छ। गोरखापत्रबाट

प्रकाशित: १२ पुष २०८०, बिहीबार

तपाइको प्रतिक्रिया