वर्डक्याम्प नेपालको छैठौँ संस्करण पोखरामा हुने

  • Technology Khabar | १० पुष २०८०, मंगलवार
वर्डक्याम्प नेपालको छैठौँ संस्करण पोखरामा हुने

काठमाडौं ।

“वर्डक्याम्प नेपाल”को छैठौँ संस्करण आधिकारिक रूपमा जनवरी १२ र १३, २०२४ मा पोखराको बिरौटा स्थित होटल पोखरा ग्रान्डमा आयोजना हुने भएको छ।

वर्डप्रेस नेपालले सन् २०१२ देखि नेपालमा वर्डक्याम्प आयोजना गर्दै आइरहेको छ। पछिल्लो पटक सन् २०२२मा भरतपुरमा सफलतापूर्ण सम्पन्न भएको थियो।

वर्डप्रेस सम्बद्ध समुदायको सूचना प्रविधिको क्षेत्रमा नेपालमा आयोजित सम्मेलनहरु मध्ये सबैभन्दा ठुलो सम्मेलन भएको आयोजकले जनाएको छ।

वर्डक्याम्पहरू अनौपचारिक तथा स्थानीय रूपमा संगठित सम्मेलनहरू हुन् जसले वर्डप्रेस सफ्टवेयरसँग सम्बन्धित विभिन्न विषयहरुका बारेमा जानकारी दिने, प्रशिक्षण गराउने साथै आपसी सहयोग तथा सहकार्यलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने गर्छन्। वर्डप्रेस एक निःशुल्क तथा खुला स्रोतको व्यक्तिगत प्रकाशन सफ्टवेयर हो जसको प्रयोगले आज विश्वभर झन्डै ४०% वेबसाइटको उत्पादन र सञ्चालनमा प्रत्यक्ष सहयोग पुगेको छ।

नेपालमा हालसम्म काठमाडौं, पोखरा, भरतपुर, विराटनगर र बुटवल जस्ता सहरमा १५ वटा सहर आधारित तथा देशव्यापी वर्डक्याम्पहरु सफलतापूर्वक सम्पन्न भैसकेका छन्।

आयोजककाअनुसार आगामी सेप्टेम्बर ८ र ९ तारिखमा वर्डक्याम्प काठमाडौँ आयोजना हुनेछ र जनवरीमा हुने वर्डक्याम्प नेपाल २०२४, नेपालका लागी एक महत्वपूर्ण कोसेढुङ्गा सावित हुनेछ किनभने यो वर्डप्रेस उत्साहीहरू बीच ज्ञान आदानप्रदान र सहकार्यलाई बढावा दिने परम्परालाई निरन्तरता दिँदै देशमा आयोजित १७औं वर्डक्याम्प हुनेछ।

कार्यक्रममा नेपाल, भारत, अमेरिका, युरोपियन मुलुकहरु, बंगलादेश जस्ता विभिन्न राष्ट्रहरु बाट झन्डै १००० जना भन्दा बढी स्वदेशी तथा विदेशी सहभागीहरुको उपस्थिति रहने बताईएको छ।

दुई दिनसम्म चल्ने उक्त सम्मेलनको पहिलो दिन (१२ जनवरी)मा वर्डप्रेस सफ्टवेयरलाई अझ सुरक्षित, उत्कृष्ट तथा सबल बनाउन कसरी योगदान गर्न सकिन्छ भन्ने बारे जानकारी तथा विशेष योगदान गर्ने दिन रहेको छ भने दोस्रो दिन (१३ जनवरी)मा मुख्य सम्मेलन सम्पन्न हुनेछ। जसमा बिहान देखि बेलुका सम्म राष्ट्रिय तथा अन्तराष्ट्रिय वक्ताहरुले वर्डप्रेस साथै सूचना प्रविधि सम्बन्धी विभिन्न विषयहरुमा रहेर जानकारी तथा प्रशिक्षण दिनेछन्।

कार्यक्रममा वर्डप्रेस र सूचना प्रविधी क्षेत्रका राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातिप्राप्त विज्ञहरूले वेभ डिजाइन, युजर इन्टरफेस डिजाइन, डिजिटल मार्केटिङ्ग, डिजिटल सामग्री निर्माण, सर्च इन्जिन अप्टिमाइजेसन (क्भ्इ), मेसिन लर्निङ, आर्टिफिशियल इन्टेलिजेन्स, वोर्डप्रेस समुदायको विकास लगायतका अन्य थुप्रै विषयहरु मा अनुभव र ज्ञान आदानप्रदान गर्नुका साथै सूचना तथा प्रविधीका नविन आयामहरु बारे जानकारी प्रदान गर्नेछन्।

यसमा सहभागीहरूले आफ्नो विशेषज्ञता अनुसार योगदान गर्न सक्छन् र वर्डप्रेस इकोसिस्टममा सकारात्मक प्रभाव पार्न सक्छन् भने बजारमा उपलब्ध नवीनतम उपकरण र डिजिटल सोलुसनहरूको जानकारीसमेत दिईने आयोजकले जनाएको छ।

वर्डक्याम्प नेपाल २०२४काअनुसार सहभागिताका लागि दर्ता प्रकृया चाँडै खुल्ला गरिनेछ।

प्रकाशित: १० पुष २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार