Technology Khabar ७ पुष २०८०, शनिबार
काठमाडौं ।
रिब्दिकोट गाउँपालिकाले गाउँ कार्यपालिकाको कार्यालय र सबै वडा कार्यालयबाट हुने राजस्व भुक्तानीलाई नगदरहित बनाउने उद्देश्यसाथ क्यूआर कोड सुरु गरेको छ।
पालिका भित्रका आमजनताको सेवा सहज बनाउँदै समयको बचत पनि हुने भएकाले यो सेवा सुरु गरेको गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले बताए। यो सेवा जिल्लामै पहिलो पटक रिब्दीकोट गाउँपालिकाले थालनी गरेको र रिब्दीकोट गाउँपालिकालाई प्रविधिमय बनाउन निरन्तर प्रयासरत रहेको अध्यक्ष कार्कीले बताए।
एनआइसी एसिया बैंक लिमिटेडको फोन पे वा क्यू आरमार्फत सेवाग्राहीले राजस्व सहजै भुक्तानी गर्न सक्ने सूचना प्रविधि अधिकृत सुदिप पौडेलले बताए।
यस सेवा पालिकाको ८ ओटै वडा र गाउँ कार्यपालिकाको कार्यालयमा थालनी गरिएको छ। आगामी दिनमा सेवाग्राहीले डिजिटल सेवामार्फत घरमा बसी विभिन्न सेवा लिन सक्ने सिस्टम निर्माण गरिने पौडेलले बताए।
प्रकाशित: ७ पुष २०८०, शनिबार