Technology Khabar ६ पुष २०८०, शुक्रबार
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को अवधारणा पत्र ल्याउने भएको छ।
मन्त्रालयका प्रवक्ता एवं सहसचिव नेत्रप्रसाद सुवेदीले काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्रालयले एआईको अवधारणा तयार गरिरहेको जानकारी दिए।
‘एआईको सम्बन्धमा मन्त्रालयले अवधारणाको खाँचो महशुस गरेको छ,’ सुवेदीले भने ‘गत हप्तादेखि मन्त्रालयले एआई अवधारणा पत्रमा काम गरिरहेको छ।’
२०२२ मा नोभेम्बर ३० मा ओपनएआईले च्याटजीपी आमउपभोक्तालाई खुल्ला गरेसँगै एआईको प्रयोगमा व्यापकता आएको छ। योसँगै धेरै अन्य कम्पनीहरुले पनि आफ्नो काम कारबाहीमा एआईको प्रयोगलाई बढाउँदै आइरहेका छन्। एआईको बढ्दो विकास र प्रयोगसँगै यसले मानवतामा असर पार्न सक्ने भन्दै नियमनको माग पनि उठ्दै आएको छ।
अमेरिकी राष्ट्रपति कार्यालयले एआईको नियमनका लागि परामर्श पत्र जारी गरेको छ भने युरोपेली संघमा एआई कानुन निर्माणका लागि सहमति जुटेको छ।
नेपालमा पनि पछिल्लो समय एआईका सम्बन्धमा बहस सुरु भएको छ। तर यससम्बन्धी सरकारले हालसम्म कुनै ठोस नीति, नियम ल्याइसकेको छैन।
प्रकाशित: ६ पुष २०८०, शुक्रबार