
काठमाडौं ।
चितवनको खैरहनी नगरपालिकाले क्युआर स्क्यान गरी कर तिर्न सकिने व्यवस्था लागू गरेको छ।
खैरहनी नगरवासीले नगरपालिकालाई बुझाउनु पर्ने कुनै पनि प्रकारको कर, दस्तुर वा जरिवाना तत्काल क्युआर कोड मार्फत तिर्न सकिने व्यवस्था गरेको पालिका प्रमुख शशी खनियाँले जानकारी दिए।
डाई नामिक क्युआरको व्यवस्था लागू भएसँगै नगरपालिकामा राजस्व तिर्ने सेवाग्राहीलाई सजिलो भएको छ। डिजिटल वालेट वा मोबाइल बैंकिङ एप्लिकेसन मार्फत मनिटरको स्क्रिनमा देखिएको क्युआर कोड स्क्यान गरी भुक्तानी गरेर तुरुन्तै कर तिरेको रसिद प्राप्त गर्न सक्ने व्यवस्था गरिएको खैरहनी नगरपालिकाका प्रमुख खनियाले बताए।
सेवाग्राहीको सहजताको लागि कर तिर्न विद्युतीय भुक्तानी सेवाको विस्तार गर्ने चालु आर्थिक वर्षको नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको थियो।
सुरुमा ई सेवा बाट सुरुवात गरिएको भुक्तानी प्रणालीलाई निरन्तर सुधार गरी हाल ई सेवा सँगै खल्ती, कनेक्ट आइपिएस र डायनामिक क्युआर मार्फत भुक्तानीको व्यवस्था गरिएको नगर प्रमुख खनियाले जानकारी दिए।
नगर उपप्रमुख कविता उप्रेतीले नगरपालिकाको सेवालाई विद्युतीय शासन मैत्री बनाउँदै नागरिकहरुले नगरपालिकाको सेवा घर घरबाटै प्राप्त गर्न सक्ने गरी सूचना प्रविधिको उपयोग गरेको बताईन्।
नगरपालिकाले यस अघि नै राजस्व रकम अनलाइन मार्फत भुक्तानी गर्न सक्ने प्रणाली लागू गरेको थियो। सोही प्रणालीलाई थप समयानुकुल र प्रभावकारी बनाउन परिष्कृत गरी क्युआर स्क्यान सुविधा ल्याएको जनाइएको छ।
नगरपालिकाले प्रणाली सञ्चालन गर्न कर्मचारीको क्षमता विकासका लागि तालिमको सञ्चालन गरेको छ भने स्थानीय कलेजहरूसँगको सहकार्यमा नगर बासीलाई विद्युतीय भुक्तानी प्रणालीको बारेमा अभ्यस्त गराउने कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ। गोरखापत्रबाट
प्रकाशित: ६ पुष २०८०, शुक्रबार