काठमाडौं ।
शाओमीले सन् २०२४ को पहिलो भागमा आफ्नो पहिलो इलेक्ट्रिक कार लन्च गर्ने योजनाको साथ अटोमोटिभ उद्योगमा आफ्नो कदम चाल्ने तयारीमा छ।यसैबीच कम्पनीका संस्थापक लेई जुनले हालै चाईनिज स्टेट ब्रोडकास्टर (चिनियाँ राज्य प्रसारक) सीसीटिभीसँगको अन्तर्वार्तामा यस उद्यमको लागि आफ्नो महत्वाकांक्षी लक्ष्यहरू व्यक्त गरेका छन्।
“म जित्ने लक्ष्य लिएर कार बिल्डिङमा आएको हुँ” लेईले भनेका छन्। स्थापित कार निर्माताहरूबाट प्रमाणित टेक्नोलोजीहरूको लाभ उठाउने र अनुसन्धान र विकासमा ठूलो लगानी गर्ने भन्दै उनले शाओमीको अटोमोटिभ महत्वाकांक्षालाई मार्गदर्शन गर्ने दुई मुख्य सिद्धान्तहरू रहेको बताए।
शाओमीले कार निर्माणका लागि परम्परागत शैली नअपनाएको उल्लेख गरिएको छ। कन्भेन्सनल अटोमेकरको पहिलो कार मोडलका लागि भनेर कम्पनीले १० गुणा बढी स्रोतहरू समर्पित गर्दै लगानी गरेको लेईले खुलासा गरेका छन्। यसको आधारमा हेर्दा ३,४०० इन्जिनियरहरूको टोली र १० बिलियन युआन (लगभग १.४ बिलियन अमेरिकी डलर) भन्दा बढीको अनुसन्धान तथा विकास बजेट हुने उल्लेख गरिएको छ।
“हामीले पहिलो मोडलमा ३,४०० इन्जिनियरहरू लगानी गर्यौं, र सम्पूर्ण आरएन्डडी लगानी १० बिलियन युआन भन्दा बढी थियो। त्यसैले हामीले उद्योगको दश गुणाभन्दा बढी लगानी प्रयोग गरिरहेका छौं,’ लेई जुनले बताएको उल्लेख छ।
गिज्मोचाइनाको रिपोर्टअनुसार आफ्नो आत्मविश्वासको बावजुद लेईले अगाडिका चुनौतीहरूलाई पनि स्वीकार गरेका छन्। उनले सम्भावित उत्पादन बाधा र लामो पर्खाइको समयको बारेमा चिन्ता व्यक्त गरेको र जसलाई प्रभावकारी ढंगले व्यवस्थापन गर्न नसके शाओमीको प्रतिष्ठालाई हानि पुर्याउन सक्ने बताए।
“यदि सबैले यसलाई खरिद गरेको खण्डमा भने परिणामस्वरूप, एक वा दुई वर्षको लामो पर्खाइको समयको सिर्जना गर्ने र जसले गर्दा हामीले नराम्रो र्याप पाउनेछौं भनेर म धेरै चिन्तित छु,” लेईले भने।
कारको आधिकारिक अनावरण आउन बाँकी भए तापनि केही विवरणहरूको बारेमा भने पहिले नै खुलासा भइसकेका छन्।
‘एसयू७’ नामक गरिएको मोडल स्पोर्टी देखिने फोर–डोर (चार–ढोका) सेडान भएको र यसले टेस्लाको मोडल ३ र निओको ईटी५ गरी दुवैको आकारलाई उछिनेको उल्लेख छ। साथै यो दुई ओटा ब्याट्री विकल्पहरूसँग उपलब्ध हुने र एक पटकको सिङ्गल चार्जमा ८०० किलोमिटरसम्मको दायरा प्रदान गर्ने उल्लेख छ।
प्रकाशित: ३ पुष २०८०, मंगलवार