Technology Khabar २ पुष २०८०, सोमबार
काठमाडौं ।
पाकिस्तानमा आइतबार इन्टरनेट सेवा ठप्प गरिएको छ। पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीको भर्चुअल र्यालीका कारण यस्तो भएको बताइएको छ।
पाकिस्तानी अखबार डनकाअनुसार इन्टरनेट निगरानी एजेन्सी नेटब्लक्सले यो घटना पीटीआईको भर्चुअल र्याली अघि भएको बताएको छ। त्यसकारण, पाकिस्तानका मानिसहरूले इन्टरनेट र सामाजिक सञ्जालहरू जस्तै फेसबुक, ट्विटर र अन्य अनलाइन प्लेटफर्महरू प्रयोग गर्न कठिनाइको सामना गरिरहेका थिए।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) को भर्चुअल र्याली हिजो भएको थियो। यो स्थानीय समयअनुसार राति ९ बजे सुरु हुने थियो । तर यसअघि नै पाकिस्तानमा सोसल मिडिया प्लेटफर्म डाउन भएको थियो। जसका कारण सर्वसाधारणलाई अनलाइन प्लेटफर्म प्रयोग गर्न समस्या भएको थियो।
इन्टरनेट निगरानी एजेन्सी नेटब्लक्सले एक विज्ञप्तिमा भनेको छ कि पाकिस्तानमा एक्स, फेसबुक, इन्स्टाग्राम, यूट्यूब लगायतका सोशल मिडिया प्लेटफर्महरू डाउन भएको छ। एजेन्सीका अनुसार यो भर्चुअल र्यालीभन्दा ठीक अघि भएको थियो। लाहोर, कराँची, इस्लामावादमा स्थानिय समयअनुसार साँझ ८ बजेपछि सामाजिक सञ्जाल प्रयोग गर्न प्रयोगकर्ताले समस्या भोग्न थालेका थिए। साथै डनका अनुसार प्रयोगकर्ताले इन्टरनेट सुस्त भएको गुनासो पनि गरेका छन्।
पीटीआईले पार्टीको डर र बढ्दो लोकप्रियताका कारण यो घटना भएको भन्दै आलोचना गरेको छ। उही समयमा, पाकिस्तान दूरसंचार प्राधिकरण (पीटीए) ले यस घटना बारे कुनै प्रतिक्रिया जारी गरेको छैन।
इमरान खानलाई मे ९ मा गिरफ्तार गरेपछि पाकिस्तानमा विरोध प्रदर्शन सुरु भएको थियो। जसका कारण पीटीएले देशमा इन्टरनेट सेवा बन्द गरेको थियो ।
यसअघि जुलाईमा पाकिस्तान विश्वमा सबैभन्दा बढी इन्टरनेट प्रतिबन्ध भएका देशहरूको सूचीमा तेस्रो स्थानमा थियो।
प्रकाशित: २ पुष २०८०, सोमबार