
काठमाडौं ।
सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आफूले तयार पारेको दूरसञ्चार पूर्वाधार अन्य कम्पनीहरुसँग पनि सहप्रयोग गर्ने भएको छ।
नेपाल दूरसञ्चार कम्पनीले कोशी प्रदेशमा तयार भएका दूरसञ्चार पूर्वाधार अन्य कम्पनीहरुसँग पनि सहप्रयोग गर्ने स्पष्ट पारेको हो।
नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकम बीच सम्झौता अन्तर्गत ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ-RTDF) मार्फत कोशी प्रदेशमा तयार भएका विभिन्न रुटहरूमा अप्टिकल फाइबर लिजमा लिन इच्छुक दूरसञ्चार सेवा सञ्चालनका लागि अनुमतिपत्र प्राप्त व्यक्तिलाई निवेदनका लागि आव्हान गरेको छ।
टेलिकमले कोशी प्रदेशका १० रुटहरूका अप्टिकल फाइबर सहप्रयोगका लागि उपलब्ध भएको जानकारी दिएको हो।
टेलिकमको सूचनाअनुसार बिर्तामोड-इटहरी, इटहरी-धरान, धरान-हिले, हिले-बसन्तपुर, सङ्क्रान्ति बजार-म्याङ्लुग, फिदिम-सङ्क्रान्ति बजार, चन्द्रगढी- चारआली-इलाम, बिर्तामोड-चारआली, घुर्मी-दिक्तेल, घुर्मी- ओखलढुङ्गा-सल्लेरी रुटमा अप्टिकल फाइबर सहप्रयोगका लागि उपलब्ध भएको हो।
दूरसञ्चार प्राधिकरणले यसअघि नै कानून बनाएर दूरसञ्चार पूर्वाधार सहप्रयोगका लागि सेवा प्रदायकहरुलाई उत्प्रेरित गर्दै आएको छ भने त्यसको लागि निश्चित न्यूनतम शुल्क समेत तोकिएको छ।
प्रकाशित: २९ मंसिर २०८०, शुक्रबार