काठमाडौं ।
तीब्र गतिमा सबारीसाधन चलाउँदा दुर्घटनाको जोखिम बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले ‘राडार गनमार्फत सवारीसाधनको गति मापन र कारबाही सुरु गरेको छ।
ट्राफिक प्रहरीले जिल्लाका विभिन्न ठाउँमा ‘राडार गन मार्फत जाँच सुरु गरिएको र तीव्र गतिमा सवारी चलाउनेलाई ठाउँका ठाउँ कारबाही गरिने जनाएको छ। जिल्लामा बिगतमा ‘राडार गन’ मार्फत बेकजाँन सुरु गरिएको थियो। बिचमा करिब एक वर्ष रोकिएको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख ट्राफिक प्रहरी निरीक्षक बजिरसिंह बिष्टले अहिले पुनः जाँच सुरु गरिएको जानकारी दिए। उनका अनुसार आइतबार पहिलो दिन तीव्र गतिमा सबारी चलाउने कार र मोटरसाइकल गरी ३२ र सोमबार ३५ ओटा सवारी कारबाहीमा परेका
छन्।
“जाडोयाम सुरु भइसक्यो, साँझबिहान हुस्सुले सबारीलाई गति तय गर्न कठिन हुन्छ। यस्तो बेला तीव्र गतिमा सवारी चलाउँदा दुर्घटनाको जोखिम अत्यधिक हुन्छ,” उनले भने, “तीव्र गति नियन्त्रण र दुर्घटना न्यूनीकरण गर्न लागि परेका छौं।”
उनका अनुसार सवारी कति स्पिडमा छ भन्ने राडार गनले जानकारी दिन्छ। तोकिएभन्दा बढी गतिमा चलाएको पाइएका तुरुन्तै कारबाही गरिन्छ। तीव्र गतिका कारण धेरै सवारी दुर्घटना हुने गरेकाले सुरक्षाको उपाय अपनाइएको हो।
रुपन्देही ट्राफिकले ट्राफिक चिह्न तथा लेनलाई विशेष ध्यान दिएर सवारी चलाउन, दायाँ- मायाँको लुकिङ ग्लासमा राम्रो ध्यान दिएर अघि बढ्न र स्पिड कन्ट्रोल गर्न सवारी प्रयोगकर्तालाई अनुरोध गरेको छ।
जाडोयाममा हुस्सुले दुर्घटनाको जोखिम निम्त्याउने भएकाले सवारी चलाउँदा र पैदलयात्रा गर्दा समेत हुन ट्राफिकले अनुरोध गरेको हो। गोरखापत्रबाट
प्रकाशित: २८ मंसिर २०८०, बिहीबार