काठमाडौं ।
नेपालगन्ज उपमहानगरपालिकाले नियन्त्रणमा लिएका ई–रिक्सा छोड्न माग गर्दै चालकहरू आन्दोलनमा उत्रिएका छन् । उनीहरूले मङ्गलबार उप–महानगरपालिकाको मूल प्रवेशद्वार घेराउ गरी नाराबाजी गरेका छन्।
नेपालगन्ज–१५ जयसपुरका रिक्सा चालक सलमान खानले उपमहानगरपालिकाले रिक्सा नियन्त्रणमा लिएपछि आफूहरूको दैनिकीमा समस्या पर्न थालेको बताए। खानले भने, ‘‘रिक्सा मालिकले कर नतिरेको दोष हामी चालकलाई दिन भएन।’’
नेपालगन्जका गुड्ने ई–रिक्सामध्ये भाडामा चलाउने पनि अधिक छन्। यहाँ १० हजार बढी ई–रिक्सा भएको अनुमान छ। उपमहानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका ई–रिक्सा अनिवार्य दर्ता प्रक्रियामा ल्याउनुपर्ने निर्णय गरेको छ।
जस अनुसार दर्ताका लागि कुनैपनि कागजात नभएका ई–रिक्सा नियन्त्रणमा लिइएको छ। यसरी नियन्त्रणमा लिइएका ई–रिक्सा सञ्चालक र चालकहरूले विनासर्त ई–रिक्सा छोड्नुपर्ने माग गरेका हुन्।
उनीहरूले अबदेखि उपमहानगरपालिकामा दर्ता भई कर तिर्ने प्रतिबद्धता जनाएका छन्। उपमहानगरपालिकाले रातो नम्बर प्लेटका ई–रिक्सालाई समेत यात्रु बोक्न प्रतिबन्ध लगाएको छ।
नगरभित्र चलिरहेका रातो नम्बर प्लेटका रिक्सा लिने गरिएको छ। नगर प्रहरी सहायक निरीक्षक पवन कनौजियाका अनुसार यात्रुवाहक सवारी साधनमा प्रयोग गरिएका रातो नम्बर प्लेटका रिक्सा, चेसिस र ब्लुबुक नमिलेका, कागजात नभएका रिक्साहरू ३९७ ई–रिक्सा नियन्त्रणमा लिइएको छ। गोरखापत्रबाट
प्रकाशित: २८ मंसिर २०८०, बिहीबार