Technology Khabar २७ मंसिर २०८०, बुधबार
काठमाडौं ।
नेपाली युवा एप डेभलपर कर्णबहादुर बुढा क्षेत्रीले बनाएको मोबाइल एप ‘पिकअप लाइन्स’ ५३ हजार अमेरिकी डलर अर्थात करिब ७० लाख रुपैयाँमा बिक्री भएको छ।
यूनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेजमा कम्प्युटर इन्जिनियरिङ पाँचौ सेमेस्टरमा अध्ययनरत बर्दिया जिल्लास्थित बाँसगढीका २२ वर्षिय क्षेत्रीले तयार गरेको एप इजरायली कम्पनी राउण्ड्स एआई लिमिटेडले ५३ हजार अमेरिकी डलरमा किनेको हो।
क्षेत्रीले करिब एक वर्ष अघि (२०२२ नोभेम्बर १५) मा पिकअप लाइन्स एप विकास गरेर प्ले स्टोरमा अपलोड गरेका थिए। एक वर्षको अवधिमा पाँच लाखभन्दा बढी पटक डाउनलोड भइसकेको एपलाई उनले ५३ हजार अमेरिकी डलरमा बेचेका हुन्।
क्षेत्रीको ‘काकी डेभलपर्स’को नाममा प्ले स्टोरमा एक दर्जनभन्दा बढी एप उपलब्ध छन्। ती मध्ये केही एप एक लाख भन्दा बढी पटक डाउनलोड भइसकेका छन्। उनले बनाएका केही चर्चित एपहरुमा क्लास ९ नेपाली गाईड बुक, क्लास ८ नेपाली गाईड बुक, नेपाली व्याकरण, नेपाली सामान्य ज्ञान अफलाइन लगायत छन्।
यसरी शुरु भयो एप बनाउने यात्रा
उनको एप बनाउने यात्रा नेपालगन्ज टेक्निकल कलेजबाट सुरु भएको थियो। सानै उमेरदेखि कम्प्युटर र प्रविधिमा रुचि रहेका उनी एसईई पछि परिवारसँगको सल्लाह र रुचिको आधारमा कम्युटर साइन्स पढ्न नेपालगन्ज टेक्निकल कलेजमा भर्ना भएका थिए। कलेजमै एप्स र वेबसाइट बनाउन आवश्यक पर्ने सैद्धान्तिक ज्ञान लिए भने थप आधारभूत जानकारी यूट्यूबबाट सिकेको उनी बताउँछन्।
काकी डेभलपर्सको नाम भने उनले आफ्नो र साथी किरणको अगाडिको अक्षर मिलाएर जुराएका हुन्। काकी डेभलपर्सको नामबाट उनले पहिलो एप ड्राइभिङ लाइसेन्स सम्बन्धी बनाएका थिए।
“यूट्यूबबाट धेर-थोर एप बनाउने जानकारी हासिल गरेको थिए। यसलाई प्रयोगमा ल्याउनु पर्छ भनेर पहिलो पटक ड्राइभिङ लाइसेन्स सम्बन्धी एप बनाएँ। सुरुवाती समयमा एपका सम्बन्ध धेरै जानकारी दिएन,” उनले भने, ‘जति जानेको थिएँ त्यसको आधारमा बनाए।”
उक्त ड्राइभिङ लाइसेन्स एप ठिकठाकै डाउनलोड भएको उनी बताउँछन्। तर यस वर्गमा धेरै एप रहेकाले प्रतिस्पर्धा अधिक थियो। त्यसैले आशा अनुसार राम्रो हुन नसकेकाले हाल उक्त एप अनपब्लिस्ट छ।सहपाठीको कार्य व्यस्थता र कोभिड-१९ को महामारी पछि भने उनले एक्लै एप बनाउन सुरु गरेको बताउँछन्।
कोभिड–१९ महामारीका कारण सरकारले जारी राखेको लकडाउन तथा डिप्लोमा सकिएकाले उनीसँग भरपूर खाली समय थियो। उक्त खाली समयमा उनले आफ्नो सिप र ज्ञानलाई एप बनाउन प्रयोग गरे।
उक्त समय नेपालको शिक्षा क्षेत्रमा पर्याप्त मात्रामा मोबाइल एप उपलब्ध नभएको महशुस गरेर केही एप बनाएका थिए। ती एप्स पनि उल्लेखनीयरुपमा डाउनलोड भएको छ। उनले बनाएको एप मध्ये क्लास ९ नेपाली गाईड बुक प्ले स्टोरबाट एक लाख भन्दा पटक डाउनलोड भएको छ।
आफूले बनाएको एप प्रयोगकर्ताले मन पराएसँगै उनमा उत्साह थपिएको थियो। तर नेपाली प्रयोगकर्ता लक्षित एपहरु उल्लेखनीय रुपमा डाउनलोड हुँदा पनि प्रयाप्त राजश्व भने उत्पन्न हुन सकेको थिएन। ती एपबाट हुने कमाईले पढाई खर्च पुर्याउन मुस्किल हुने अवस्था थियो।
तत्काल आम्दानी नभएपनि राम्रो एप बनाउन सकिए कमाई गर्न सकिन्छ भन्ने उनमा आत्मविश्वास पैदा भइसकेको थियो। यस्तोमा नेपाली प्रयोगकर्तालाई मात्र ध्यान राखेर एप बनाउँदा धेरै आम्दानी गर्न नसकिने विगतमा तयार गरेको एपबाट उनले बुझिसकेका थिए।
त्यसैले अन्तर्राष्ट्रिय प्रयोगकर्ताहरुले उपयोग गर्न सक्ने एपको आवश्यकता महशुस गरे।
यसरी बन्यो हालै बेचेको एप
यससँगै,विश्वका प्रयोगकर्ताहरुले कस्ता किसिमका एपमा रुचि राख्छन् भनेर अध्ययन तथा अनुसन्धान गरे। त्यस क्रममा उनले मानिसहरुले अरुलाई कसरी आकर्षित गर्न सकिन्छ भन्ने विषयमा रुचि राख्ने गरेको पाए।
त्यसका लागि उनले पिकअप लाइन्स (पहिलो पटक भेटिएको व्यक्तिसँग बोल्न प्रयोग गरिने शब्द) नामको एप बनाए।
एक हप्ताको प्रयासमा एपका लागि आवश्यक सम्पूर्ण डिजाइन, लेआउट, ग्राफिक, कन्टेन्टहरु तयार गरेर एप स्टोरमा अपलोड गरेको उनी स्मरण गर्छन। यस प्रकारको कन्टेन्टमा युवा प्रयोगकर्ताहरुको चासो हुन सक्छ भनेर बनाएको उनी सुनाउँछन्।
“एप तयार गरेर प्ले स्टोरमा अपलोड गरे। सुरुवाती ५/६ महिनासम्म एपमा प्रयोगकर्ताले खासै चासो देखाएका थिएन्। मैले पनि त्यति वास्ता गरेको थिईँन। तर ६ महिनापछि दिनमै हजार/१५ सय डाउनलोड आउन थाल्यो,” उनले भने, “पछि प्लेस्टोरले पनि एप सजेस्ट गर्न थाल्यो। सुरुवाती समयमा एपको नाम सर्च गर्दा पनि प्ले स्टोरमा देखिँदैन थियो।”
प्लेस्टोरको सपोर्ट र प्रयोगकर्ताको रुचिका कारण एक दिनमै ५/६ हजार डाउनलोड हुन थालेको उनको अनुभव छ। एप लोकप्रिय बनेसँगै एपमार्फत हुने कमाई पनि क्रमिकरुपमा बढ्न थालेको उनी बताउँछन्।
उनको एपको प्रयोगकर्ताहरु मध्ये अधिकतम नाइजेरिया, अमेरिका, दक्षिण अफ्रिका लगायत देशका थिए। राजश्व पनि बढी रहेको थियो। पछिल्लो समय दैनिक १० देखि १२ हजार रुपैयाँसम्म राजश्व उत्पन्न भइरहेको थियो।
एपको लोकप्रियतासँगै इजरायली कम्पनी राउण्ड एआईले यसमा रुचि देखाउँदै इमेल पठाएको उनी बताउँछन्। गत दशैं अघि राउण्डले एपको प्रशंसा गर्दै मेल पठाएको उनी स्मरण गर्छन्। उनको र राउण्ड कम्पनीबीच नियमितरुपमा एपका सम्बन्धमा कुराकानी हुन थाल्यो। साथै अर्को तर्फ एपले पनि राम्रो वृद्धि गर्दै थियो।
एक मेलमा भने राउण्डले एप किन्ननै प्रस्ताव राखेको उनी बताउँछन्।
“यस अघि कसैले पनि यस्तो प्रस्ताव गरेको थिएन। यो कुनै स्क्याम हो कि भन्ने आशंका पनि पैदा भयो। तर सबै कुरा बुझ्दा कम्पनी जेन्यून नै लाग्यो।” उनले भने।
परिवार र साथी भाईसँग सरसल्लाह गर्दा पछि पनि अर्को एप बनाउन सकिने र राम्रो प्रस्ताव आएको खण्डमा बिक्री गर्दा उपयुक्त हुने सुझाव क्षेत्रीले पाए। उनी पनि एप बिक्री गर्ने मनस्थितिमा पुगे।
कम्पनीले पहिलो पटक भने एकदमै कम मूल्यमा प्रस्ताव गरेको उनी बताउँछन्। यस अघि किनबेच नगरेकाले उनलाई एपको सही मूल्यांकनको बारेमा जानकारी थिएन। तर आईटी र एपका क्षेत्रमा काम गरेका आफन्त तथा साथीहरुलाई उनले एपको मूल्यांकन कसरी हुन्छ भनेर जिज्ञासा राखेर सहयोग मागे। उनीहरुले ५/६ वर्षको अनुमानित राजश्व बराबरको मूल्य दिएको खण्डमा बेच्न सकिने सुझाव दिए। त्यसैको आधारमा कम्तिमा पनि ५० हजार अमेरिकी डलर पाए एप बेच्ने मनस्थितिमा उनी पुगे।
‘५५ हजार डलर दिए एप बेच्ने बताए। तर कम्पनीले पहिलको प्रस्तावमा केही रकम मात्र थप गर्न सकिने रिप्लाई दियो। त्यति थोरै रकममा नबेच्ने भनेपछि कम्पनी ५० हजार अमेरिकी डलर तिर्न तयार भयो,’ उनी बताउँछन्।
खरिदकर्ता र बिक्रीकर्ता तयार भएपछि कम्पनीको कोर टिमले भिडियो कल मार्फत एपको रिभ्यू गर्यो। कम्पनीको कोर टिमले एप किन्नका लागि स्वीकृती प्रदान गरेपछि अन्तर्राष्ट्रिय एप मध्यस्तकर्तामार्फत खरिद बिक्रीको काम सम्पन्न गरिएको उनी बताउँछन्।
तर डिजिटल प्रविधि किनबेच मार्फत हुने आम्दानीको स्रोतमा ५ प्रतिशत अग्रिम कर अर्थात टीडीएस लाग्ने कानूनी व्यवस्था छ। त्यसैले कर बापत तिर्नुपर्ने रकम थप गर्न कम्पनीसँग अनुरोध गरे। कम्पनीले पनि सहजरुपमा उनको प्रस्ताव स्वीकार गरेर ५३ हजार अमेरिकी डलरमा फाइनल डिल सम्पन्न भएको उनी बताउँछन्।
प्रकाशित: २७ मंसिर २०८०, बुधबार