
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले समृद्धिका लागि नेपाल र भारतबीच ‘डिजिटल’ सहकार्य अभिवृद्धिमा जोड दिएकी छन्।
यहाँस्थित भारतीय दूतावास, नेपाल राष्ट्र बैंक, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम र एकीकृत विकास अध्ययन संस्थाद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री शर्माले प्रविधिका क्षेत्रमा सहकार्यका लागि दुवै मुलुकका अधिकारीलाई आग्रह गरिन्।
“प्रविधिको विकास र प्रयोगमा सहकार्य गरौँ, यसको प्रयोगबाट समुन्नत राष्ट्र बनाऔँ”, सरकारका प्रवक्ताको समेत जिम्मेवारी सम्हालेकी मन्त्री शर्माले भनिन्। सूचना प्रविधिको उच्चतम प्रयोगमा भारतको महत्वपूर्ण सहयोग रहेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि भारतीय सहयोगले निरन्तरता पाउने अपेक्षा गरिन्।
मुलुकको समग्र विकासका लागि सरकारले सूचना प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिएको बताउँदै मन्त्री शर्माले सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग बढाइएको जानकारी दिईन्।
नेपाल डिजिटल रुपान्तरणमा तीव्ररुपमा अघि बढिरहेको जानकारी दिँदै उनले छिमेकी भारतले प्रविधिका क्षेत्रमा गरेको विकास र प्रयोग नेपालका लागि पनि महत्वपूर्ण भएको बताईन्।
सूचना प्रविधिलाई सरकारले महत्वपूर्ण साधनका रुपमा लिएको उल्लेख गर्दै उनले प्रत्येक सार्वजनिक निकायले प्रविधिका माध्यमबाट सेवा प्रवाह गर्न सुरु गरिसकेको जानकारी दिईन्।
“त्यसको परिणामस्वरुप सार्वजनिक सेवामा विद्युतीय प्रणालीको प्रयोगमा बढोत्तरी भएको छ, विद्युतीय माध्यमबाट पनि सेवा प्रवाह भइरहेको छ”, उनले भनिन्।
फ्रिक्वेन्सी नीति २०८० मार्फत नयाँ प्रविधि भित्र्याउन सजिलो हुने गरी फोरजीको सीमा बढाइएको र फाइभजी फ्रिक्वेन्सी खुला गरिएको, सबै ठाउँमा ताररसहित इन्टरनेट सेवा पुर्याउन फिक्स्ड वायरलेस एक्सेस फ्रिक्वेन्सी पनि खुला गरिएको जानकारी दिंदै उनले फाइभजी र एअर फाइवरका क्षेत्रमा भारतले गरिरहेको प्रयोगबाट अनुभव लिन र अनुशरण गर्न चाहेको खुलाईन्।
नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले विकासोन्मुख मुलुकमा प्रविधिको प्रयोग महत्वपूर्ण हुने उल्लेख गर्दै प्रविधिको प्रयोगका सम्बन्धमा नेपालसँग सहकार्य गर्न भारत तयार रहेको बताए।
भारत र नेपालबीच सदियौँदेखि घनिष्ठ एवं मित्रवत् सम्बन्ध रहेको चर्चा गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा भएका द्विपक्षीय सम्झौता कार्यान्वयनको चरणमा रहेका बताए।
भारतको डिजिटल सार्वजनिक पूर्वाधार केन्द्रका सहअध्यक्ष प्रमोद बर्माले डिजिटल सार्वजनिक पूर्वाधारको विकास र प्रयोगमा भारत निकै अगाडि रहेको जानकारी दिँदै प्रविधिको सदुपयोगबाट समृद्धि हासिल गर्न सकिने बताए।
प्रतिनिधिसभा सदस्य स्वर्णीम वाग्लेले नेपालबाट विश्वबजारमा सूचना प्रविधिको बिक्री हुन थाल्नु उत्साहप्रद रहेको भन्दै युवा पुस्ता विदेशिने क्रम जारी रहेको अवस्थामा सूचना प्रविधिको क्षेत्रले स्वदेशमा नै रोजगारीका अवसर उपलब्ध गराउने सम्भावना बढाएको बताए।
उद्घाटन कार्यक्रममा सेन्टर फर डिजिटल पब्लिक इन्फ्रास्ट्रचर भारतका सहअध्यक्ष प्रमोद वर्मा, यूएनडिपी डिजिटल प्रमुख बेञ्जामिन बर्तेल्सन लगायतले बोलेका थिए।
प्रकाशित: २६ मंसिर २०८०, मंगलवार