काठमाडौंमा एआर, भीआर र क्युआरमा आधारित स्मार्ट पर्यटन

  • Technology Khabar | २५ मंसिर २०८०, सोमबार
काठमाडौंमा एआर, भीआर र क्युआरमा आधारित स्मार्ट पर्यटन

काठमाडौं ।

स्मार्ट पर्यटन सम्भव हुने ‘प्रयोगकर्ता (पर्यटक) को आवश्यकता पहिचान र बजार सर्वेक्षण प्रारम्भिक प्रतिवेदन’ले औल्याएको छ। महानगरपालिकाको स्वर्णिम योजना ‘पर्यटकीय सहर’ अन्तर्गत भएको मार्केट रिसर्च फर एआर (अग्मेन्टेड रियालिटी), भीआर (भर्चुअल रियालिटी), क्युआर (क्वीक रेस्पोन्स) फर टुरिज्म एप्लिकेसनको प्रारम्भिक प्रतिवेदनमा यस्तो औल्याइएको हो।

ठमेल, बसन्तपुर, पशुपतिनाथ, बौद्ध र स्वयम्भुमा भेटिएका १२५ जना पर्यटकले सर्वेक्षणमा भाग लिएका थिए। उनीहरु २९ वटा देशबाट आएका हुन्। यसमा संयुक्त राज्य अमेरिका, अष्टे«लिया, बेल्जियम, इटाली, स्पेन, युक्रेन, रसिया, पोर्चुगल, अष्ट्रिया, बेल्जियम, आयरल्याण्ड लगायत देशका पर्यटक थिए।

उनीहरुमध्ये ६१.८ प्रतिशत पहिलो पटक आएका थिए। २०.३ प्रतिशत दोस्रो पटक र १७.०९ प्रतिशत पर्यटक २ पटकभन्दा धेरै आएका थिए। नेपाल आउने प्रयोजनमा सबैभन्दा धेरै ८१ जना (६४.०८%) टे«किङ्गका लागि, ५२ जना (४१.०६%) सहासी खेलका लागि, हिमाल आरोहण गर्न ४५ जना (३६%), सांस्कृतिक प्रयोजनका लागि ४१ जना (३२.८%), विदा मनाउन ३५ जना (२८%), साथी र परिवारका लागि १९ जना (१५.०२%) आएका थिए। सर्वेक्षणमा अध्ययन, मनोरञ्जन, स्वयमसेवा, पर्यटन, लेखन र धार्मिक क्रियाकलाप र विवाहका लागि आएका १÷१ जना सहभागी थिए। यस्तै कामका लागि आएका ३ जना, व्यापारका लागि आएका ३ जना समेटिएका छन्।

यसरी आउनेमध्ये सबैभन्दा धेरै ८६ जना (६९.४%) जनाले वेभसाइटबाट पहिलो सूचना पाएको बताए। ५९ जना (४७.०६%) ले साथी र परिवारबाट, ५८ जना (४६.८%) ले सामाजिक सञ्जालबाट ४० जना (३२.०३%) ले पुस्तकबाट जानकारी पाएको बताएका छन्। यसरी सूचना प्राप्त गर्ने स्रोतहरुमा पुस्तक, पत्रिका, हवइ सेवा, होटल, साथीभाइ, गुगल, पहिलो भ्रमण, ट्राभल भ्लग, ट्राभल गाइड, टेलिभिजनलगायत भएको उल्लेख गरेका छन्। यसरी प्राप्त गरेको सूचनालाई ९५.७% ले विश्वाश योग्य, ९९.१% ले सहयोगी, ८१.१% ले पूर्ण सूचना दिएको र ९३.८% ले सूचनाबाट आफू सन्तुष्ट बताए। १८.९% आफूलाई सूचना दिने स्रोतमा पूर्ण विवरण नभएको उल्लेख गरेका छन्। यो अवस्थालाई पर्यटन सम्बन्धी सूचना विवरणमा काम गर्नेहरुले मनन गर्नु पर्ने देखिन्छ।

सर्वेक्षणमा सहभागीमध्ये ९७.६% ले स्मार्ट फोन बोकेको उल्लेख गरेका थिए। केहीले भने स्मार्ट फोनको प्रयोगबाट टाढा रहनका लागि आएको पनि बताए। अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै मौलिक नेपालका परामर्शदाता शुशान्त तुलाधरले भने, ५४.१% ले आइओएस, ३९.३% ले एन्ड्रोइड फोन बोकेका थिए। केहीले दुई ओटा फोन बोकेका थिए भने कसैले स्मार्ट फोनका कुनै सुविधा नभएका पुराना मोडलका फोन पनि बोकेका थिए।

घुम्न आउने प्रक्रिया गर्दा ११२ जना (९१.८%) स्मार्ट फोनबाट काम गरेका थिए। ४५ जना (३६.९%) ले ल्यापटपबाट, ४ जना (३.३%) ले डेक्सटप कम्प्युटरबाट र १३ जना (१०.७%) ले ट््याब्लेट प्रयोग गरेको बताए।
मोबाइल एप्लिकेसनको प्रयोग गरेर सूचना लिने, होटल र एअरलाइन्स बुकिङ् गर्ने, भुक्तानी गर्ने, टुर प्याकेज खरिद गर्ने, यातायातमा तिर्ने, रेन्टुरेन्टको बिल तिर्ने, नक्सा हेर्ने, किनमेल गर्ने, भाषा अनुवाद गर्ने, भौगोलिक अवस्थाका बारेमा जानकारी लिने गरेको बताएका छन्।

यसरी प्राप्त भएको विवरण हेर्दा स्मार्ट टुरिजमका लागि काम गर्दा हुने देखिएको छ। यसको बजार अझै अध्ययन गर्नुपर्छ। कार्यक्रमबा बारेमा सम्पदा विभागका प्रमुख अर्चना श्रेष्ठ शाक्यले भनिन्, ‘पर्यटन व्यवस्थापनसँग सम्बन्धित पक्षबाट आएको पृष्ठपोषण र बजारबाट थप सूचना लिएर काम अगाडि बढाइनेछ।’

अग्मेन्टेड रियालिटी (एआर) मा अक्षर, ग्राफिक्स सूचना हुन्छन्। सम्बर्धन गरिएको वास्तविकता देखाउन मोवाइल एप्लिकेसनको प्रयोग हुन्छ। मोवाइलमा भएको क्यामराबाट कुनै बस्तु खिच्दा त्यसमा खिचिएको बस्तुसँग सम्बन्धित जानकारी देखाउँछ। नेपालमा यसको प्रयोग भइसकेको देखिँदैन ।

भर्चुअल रियालिटी र क्युआरका क्षेत्रमा भने धेरै प्रयोग भइसकेका छन्। यस्ता प्रयोगबाट काठमाडौँ महानगरपालिका पर्यटन व्यवस्थापनमा आयाम थप्न चाहन्छ। कार्यक्रमकी सम्पर्क व्यक्ति एवं पर्यटन महाशाखा प्रमुख श्रृजु प्रधानको भनाइ छ।

आइतबार नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा सरोकारवाला अधिकारी बिच प्रारम्भिक प्रतिवेदनमाथि भएको छलफल भएको छ। यस क्रममा पर्वतारोहण संघ, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाटा), होटल एशोसिएसन अफ नेपालसहित संघसंस्थाका अधिकारी तथा प्रतिनिधिहरुको सहभागिता थियो।

प्रकाशित: २५ मंसिर २०८०, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार