मलेसियन स्टक एक्सचेञ्जमा बुझाएको फाइलिङअनुसार यस्तो छ आजियाटाले एनसेलको शेयर बेच्ने कारण

  • Technology Khabar | २४ मंसिर २०८०, आईतवार
मलेसियन स्टक एक्सचेञ्जमा बुझाएको फाइलिङअनुसार यस्तो छ आजियाटाले एनसेलको शेयर बेच्ने कारण
Ncell corporate office in Lainchour, Kathmandu

काठमाडौं ।

निजी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडको प्रमुख वैदेशिक लगानीकर्ता आजियाटा ग्रुप बर्हादले आफ्नो सम्पूर्ण शेयर बिक्री गरेर बाहिरिने निर्णयमा सार्वजनिक वृत्तदेखि आमजनताले चासो व्यक्त छन्।

सन् २०१६ मा आजियाटाले स्वीडेनको कम्पनी टेलिया सोनेराको ८० प्रतिशत शेयर १.३६५ अर्ब अमेरिकी डलरमा किनेर एनसेलमार्फत नेपाली दूरसञ्चार बजारमा भित्रिएको थियो।

अहिले उक्त सेयर ५ करोड अमेरिकी डलरमा स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गर्दै एनसेलबाट आजियाटा बाहिरिएको छ। अघिल्लो खरिद मूल्यबाट ९६.३४ प्रतिशत घट्दै एनसेल आजियाटाले आफ्नो शेयर स्पेक्ट्रलाइटलाई बिक्री गरेको देखिन्छ।

सस्तो मूल्यमा शेयर बेचेर एनसेलबाट आजियाटा बाहिरिएसँगै आमसर्वसाधरण, सासंद, प्रधानमन्त्र लगायत सम्पूर्ण नेपालीले यस खरिद बिक्री प्रक्रियालाई शंकाको नजरले हेरेका छन्।

आजियाटाको बोर्डले असोज १२ मा एनसेलबाट बाहिरिने निर्णय गरेको थियो। यो निर्णय ग्रुपको २०२३ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक हुँदा मात्र सार्वजनिक रुपमा बाहिर आएको थियो।

नेपालको एनसेलको प्रमुख लगानीकर्ता आजियाटा ग्रुप बर्हाद मलेसियन स्टक एक्सचेञ्ज बर्सामा सूचीकृत छ। आजियाटाले एनसेलबाट बाहिरिनुको विवरण गत १ डिसेम्बरमा बर्सा स्टक एक्सचेञ्जलाई जानकारी गराएको छ।

२०२९ पछि एनसेल आजियाटाको स्वामित्व के हुन्छ भन्ने डर

सन् २०२९ पछि एनसेल आजियाटाको मोबाइल लाइसेन्सको म्याद सकिँदैछ। साथै २०२५ मा थप ५ वर्षका लागि मोबाइल लाइसेन्स नवीकरण गर्नका लागि २० अर्ब रुपैयाँ शुल्क बुझाउनुपर्ने हुन्छ। २० अर्ब रुपैयाँ शुल्क बुझाएपछि पनि २०२९ पनि लाइसेन्स के हुन्छ भन्नेमा एनसेल आजियाटा सशंकित देखिएको छ।

दूरसञ्चार ऐन, २०५३ को दफा ३३ उफदफा १ काअनुसार जम्मा पूँजी लगानीको पचास प्रतिशतभन्दा बढी विदेशी व्यक्ति वा संगठित संस्थाको लगानी भएको दूरसञ्चार सेवासँग सम्बन्धित जग्गा, भवन, यन्त्र, उपकरण तथा संरचना अनुमतिपको अवधि समाप्त भएपछि नेपाल सरकारको स्वामित्व हुनेछ।

एनसेल आजियाटामा आजियाटा ग्रुपको ८० प्रतिशत शेयर स्वामित्व छ। दूरसञ्चार ऐनअनुसार नै ५० प्रतिशतभन्दा बढी विदेशी सेयर स्वामित्व भएको दूरसञ्चार कम्पनी सरकारको स्वामित्वमा आउने प्रावधान छ। यसबाट जोगिन पनि एनसेल आजियाटाले सस्तो मूल्यमा शेयर बिक्री गरेर बाहिरिएको आकलन लगाउन सकिन्छ।

५७ अर्ब ९० करोड पुँजीगत लाभकर विवाद

एनसेल आजियाटाको अर्को प्रमुख टाउको दुखाईको रुपमा ठूला करदाता कार्यालयले आजियाटाले रेनोल्ड होल्डिङ्स खरिद गर्दाको कारोबारमा पुँजीगत लाभकर दाबी गरेकोलाई मानिएको छ।

२०१६ मा आजियाटाले एनसेल खरिद गर्दाको लाभकरको विषयमा ठूला करदाता कार्यालयले २०२१ जनवरीमा ५७.९ अर्ब दाबी माग गरेको छ। यदि यो मुद्दा आजियाटाले हारेमा उक्त रकममा ब्याज र जरिवाना पनि जोडिने हुन्छ। यस विषयको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। जनवरी २०२१ मा हालिएको यस मुद्दा एनसेलले हारेमा ब्याज र जरिवानासहित यो रकम अझै बढ्ने निश्चित छ। यस्तो भएको खण्डमा एनसेल आजियाटाको नेपालको दूरसञ्चार क्षेत्रमा गरिएको लगानी अझै बढ्नेछ।

एनसेलले जनवरी २०२१ को मूल्यांकको वैधतालाई नेपाली र अन्तर्राष्ट्रिय कानून बमोजिम सर्वोच्च अदालतमा चुनौती दिएको छ। अन्तर्राष्ट्रिय मध्यस्थतामा मुद्दा हारेको छ भने नेपालमा सो मुद्दा अझै चलिरहेको छ। यसले एनसेलको व्यवसायको भविष्यको सम्भावनामाथि थप अनिश्चितता सिर्जना गरेको छ।

बिक्री रकम ५ करोड अमेरिकी डलर हैन्, २०२९ सम्मको नाफामा नजर

आजियाटाले एनेसल आजियाटा स्पेक्ट्रलाइट यूके लिमिटेडलाई ५० मिलियन अर्थात ५ करोड अमेरिकी डलरमा बिक्री गरेको छ।

जसमा ५ मिलियन अमेरिकी डलर ६ महिना भित्रमा स्पेक्ट्रलाइट यूके लिमिटेडले आजियाटालाई भुक्तानी गर्नु पर्छ भने बाँकी ४५ मिलियन ४ वर्ष भित्रमा भुक्तानी गर्नुपर्छ।

आजियाटाले कुल ५० मिलियनमा आफ्नो सेयर बिक्री गरे पछि खरिद गर्ने कम्पनीले आगामी ६ वर्षको नाफाको केही प्रतिशत हिस्सा आजियाटासँग साझेदार गर्नु पर्नेछ।

२०२२ को लाभांश आजियाटाले लगिसकेको छैन। र, सो वर्षको सम्पूर्ण लाभांश आजियाटाले नै लग्नेगरी खरिद बिक्री सम्झौता भएको छ।

२०२३ मा एनसेलको नाफाको ८० प्रतिशत, २०२४ र २०२५ को नाफाको ४० प्रतिशत, २०२६ र २०२७ को ३० प्रतिशत तथा २०२८ र २०२९ को नाफाको २० प्रतिशत स्पेक्ट्रलाइट यूके लिमिटेडले आजियाटालाई बुझाउनुपर्छ।

साथै, २०२९ डिसेम्बर ३१ सम्म कम्पनीले हाल खरिद गरेको मूल्य भन्दा बढीमा सेयर बिक्री गर्न चाहेमा पहिलो प्राथमिकतमा आजिायाटालाई राख्नु बर्सा स्टक एक्सचेञ्जमा आजियाटाले पेश गरेको विवरणमा उल्लेख छ।

राजश्व घट्दो

पछिल्लो समय दूरसञ्चार सेवा प्रदायकहरुको राजश्व घट्दो क्रममा छ। यसबाट एनसेल आजियाटा पनि अछुतो रहेको छैन। आजियाटाले एनसेल खरिद गरेको आर्थिक वर्ष २०७१/७२ देखि गत आर्थिक वर्ष २०७९/८० मा राजश्व ३३.८ प्रतिशतले घटेको जनाएको छ।

२०१५ को तुलनामा २०२३ मा एनसेल आजियाटाको ईबीआईटीडीए ४२.१ प्रतिशतले घटेको छ भने खुद नाफा पनि ७४.४ प्रतिशतले घटेको छ।

सोही अवधिमा एनसेलले आफ्नो कभरेज र सेवाको गुणस्तर सुधार गर्न र पूर्वाधार कायम गर्न ६२ अर्ब ७ करोड रुपैयाँको संचयी पुँजीगत खर्च गरेको जनाएको छ। यसबाट एनसेलको लिज दायित्व सहितको ऋण शून्यबाट बढेर ३.५ अर्ब रुपैयाँ पुगेको फाइलिङमा उल्लेख छ।

आजियाटाले २०१६ मा एनसेल खरिद गरेपछि २०२१ सम्म २.२ अर्ब मेलिसियन रिगिट लाभांश लगेको जनाएको छ।

खदिकर्ता

आजियाटाले बेचेको एनसेलको शेयर खरिद गर्ने स्पेक्ट्रलाइट यूके लिमिटेड बेलायतको लगानी होल्डिङ कम्पनीको रुपमा स्थापित छ। स्पेक्ट्रलाईटको जारी चुक्त पूँजी १ लाख अमेरिकी डलर र कम्पनीसँग प्रति सेयर मूल्य १ अमेरिकी डलर बराबरको एक लाख कित्ता सेयर छ। स्पेक्ट्रलाइट युके लिमिटेड सतिश लाल आचार्यको पूर्ण स्वामित्वमा छ।

सतिशलाल आचार्य नेपाली मूलका सिंगापुरका नागरिक हुन्। उनी दुई दशकभन्दा बढी समयदेखि नेपाल र अन्य मुलुकमा दूरसञ्चार क्षेत्रमा लगानीमा संलग्न रहेको फाइलिङमा उल्लेख छ।

प्रकाशित: २४ मंसिर २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...