
काठमाडौं ।
आईफोन १४ जस्तै डिजाइन हुने एप्पलको बजेट आईफोन एसई ४ सन् २०२४ मा लन्च हुने चर्चामा छ। अब नयाँ लीक जानकारीअनुसार आईफोन एसई ४ ले आईफोन १४ को ब्याट्री पनि प्रयोग गर्नेछ।
म्याकरुमर्सको रिपोर्टमा आएको यो जानकारीले दाबी गरेअनुसार डिभाइस आईडेन्टिफायर डी५९ भएको आईफोन एसई ४ को प्रोटोटाइप्समा ‘ए२८६३’ मोडल कोड भएको लि–आयन ब्याट्रीहरूसहित देखिएको छ। साथै आईफोन १४ मा प्रयोग गरिएको ब्याट्री पनि यही नै भएको र यस ब्याट्रीको क्षमता ३,२७९ एमएच रहेको उल्लेख छ।
त्यसैगरी आईफोन एसई ४ को इन्टर्नल डिजाइन डकुमेन्टेसन (आन्तरिक डिजाइन कागजात)ले पनि यो पुष्टि गर्ने स्रोतको दाबी रहेको रिपोर्टमा भनिएको छ।
एप्पलले आईफोन एसई ४ मा यो ब्याट्री समावेश गरेको खण्डमा यो आईफोन एसई ३ को ब्याट्री सेलको भन्दा १,२६१ एमएचले वृद्धि हुनेछ।
यद्यपि, यो जानकारी प्रि–प्रोडक्सन युनिट (पूर्व–उत्पादन एकाइहरू) का लागि भएको र योजनाहरू परिवर्तन पनि हुनसक्ने संभावना रहन्छ।
अघिल्ला लीक सूचनाहरूले दावी गरेअनुसार आईफोन एसई ४ मा बीओईले उपलब्ध गराएको ओएलईडी डिस्प्ले रहने छ। साथै आईफोन एसई ४ ओएलईडी डिस्प्ले समावेश गर्ने पहिलो एसई मोडल हुनेछ।
त्यसैगरी आईफोन एसई ४ मा एक्सन बटन र यूएसबी–सी पोर्ट पनि रहने जीएसएमएरिनामा उल्लेख गरिएको छ।
प्रकाशित: २४ मंसिर २०८०, आईतवार