
काठमाडौं ।
नेपाल उद्योग परिसंघ अन्तरगतको नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आगामी पुष ७ गते स्टार्टअप फेस्ट सीएनआईवाईइएफ स्टार्टअप फेष्ट २०२३ आयोजना गर्ने भएको छ।
नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्रालय र राष्ट्रिय योजना आयोगसँगको सहकार्यमा नबिल बैंक प्रिजेन्ट्स सीएनआईवाईइएफ स्टार्टअप फेष्ट २०२३ आयोजना गर्न लागिएको हो।
नेपालमा स्टार्टअपलाई अभियानका रुपमा अघि बढाउने, नविन सोच भएका स्टार्टअपहरुलाई लगानी जुटाउन सहयोग गर्ने, मेक इन नेपाल स्वदेशी अभियानको प्रवर्द्धन एवं नीतिगत बहस गर्ने उद्देश्यले नेपाल स्टार्टअप फेष्ट आयोजना गर्न लागिएको हो।
स्टार्टअपहरुलाई सबैभन्दा ठूलो चुनौती लगानीको रहँदै आएको छ। नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्वपूर्ण अंगको रुपमा स्थापित गराउन उनीहरुलाई लगानी जुटाएर प्रोत्साहन गरिनेछ। साथै नीतिगत सुधार एवं नीति निर्माणका लागि सरोकारवालाहरुबीच गहन छलफल गरिने बताईएको छ।
आयोजककाअनुसार स्टार्टअप प्रबर्द्धनमा विदेशमा भईरहेका सफल अभ्यास तथा उपलब्धिहरुका विषयमा पनि विभिन्न सत्रमा छलफल हुनेछन्।
सीएनआईवाईइएफ स्टार्टअप फेष्ट २०२३ मा दुई सय ५० भन्दा बढी स्टार्टअप्सले लगानीका लागि परियोजनासहित प्रस्ताव पेस गरेका छन्। त्यस मध्ये नेपाल उद्योग परिसंघ, युवा उद्यमी मञ्च, लगानीकर्ताको टिमबाट छानिएका १० देखि १२ वटा उत्कृष्ट स्टार्टअप्सलाई फेष्टमा प्रस्तुतीकरणको अवसर प्रदान गरिनेछ । सो प्रस्तुतीकरणको आधारमा लगानीकर्ता कम्पनीहरुले लगानीको प्रतिबद्धता जनाइ आसयपत्रमा हस्ताक्षर गर्नेछन्।
पुँजी लगानीका लागि टेलि भेन्चर, एनआइएमबी एस क्यापिटल, रिलायबल भेन्चर, लोटस होल्डिङ, अल्फा प्लस भेन्चर, हिमालयन क्यापिटल, टिम भेन्चर, ग्लोबल इक्वीटी फण्ड, अध्यान्ता फण्ड म्यानेजमेन्ट, नियोटेरिक नेपालले प्रतिबद्धता समेत जनाइसकेको जानकारी दिईयो।
स्वदेशी एवं विदेशी विज्ञहरुबाट स्टार्टअपको विषयमा प्रस्तुती हुने फेष्टमा विभिन्न विषयमा प्यानल डिस्कसन हुनेछ। स्टार्टअपहरुले लाइभ पिचिङ्ग गर्नुका साथै रोबोटिक फुटबल, रोबोवार हुने उल्लेख छ।
यसैगरी मेक इन नेपाल स्वदेशी अभियानमा आवद्ध स्वदेशी कम्पनीहरुको प्रदर्शनी एवं स्टार्टअप्सले आफ्ना बस्तु तथा सेवाको प्रदर्शनी पनि गर्नेछन्।
सीएनआईवाईइएफ स्टार्टअप फेष्टको पहिलो संस्करण सन् २०२२ मा आयोजना गरिएको थियो । सो फेष्टमा २४ करोड ५० लाख रुपैयाँ बराबरको लगानी जुटाउन पनि सफल भएको आयोजकले जनाएको छ।
प्रकाशित: २२ मंसिर २०८०, शुक्रबार