
काठमाडौं ।
एनसेल आजियाटा लिमिटेडमा कार्यरत कर्मचारीहरुको संगठनले नेपालको व्यवसायिक वातावरणलाईनै हतोत्साही गर्ने कुन्ठित मनसायले कम्पनीका विरुद्ध प्रचारवाजी भएकोमा गंभिर ध्यानाकर्षण भएको जनाएको छ। यसका साथै कम्पनीलाई कहिल्यै कर नतिर्ने जस्तो भाष्य सिर्जना हुनेगरि बदनाम गर्न खोजिनु खेदपूर्ण भएको बताएको छ।
एनसेल कर्मचारी ट्रेड युनियन(एनईटीयू)ले आज विज्ञप्ती जारी गर्दै एनसेल आजियाटा लिमिटेडमा करिब ८० प्रतिशत स्वामित्व रहेको रेनोल्ड्स होल्डिङ्ग्सको शेयर खरिद बिक्रि प्रक्रिया सम्बन्धी विषयमा केहि सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा भएका अनर्गल प्रचारबाजी प्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेको छ।
युनियनले कुनै पनि कम्पनीको शेयर खरिद बिक्रि हुनु भनेको एक सामान्य प्रक्रिया भएको भन्दै भनेको छ, “एनसेल एक बहुराष्ट्रिय कम्पनी भएको हुँदा राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यास बमोजिम कारोबार हुनु स्वाभाविक नै हो। नेपाल विश्व व्यापार संगठनको सदस्य राष्ट्र समेत भएको हुँदा नेपालमा स्थापित बहुराष्ट्रिय कम्पनीका हकमा पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय विधि विधान आकर्षित हुन्छन् र सो को पूर्ण रूपमा परिपालना हुनुपर्छ भन्नेमा यो ट्रेड युनियन स्पष्ट छ।”
यस्तै एनसेल नेपाली पब्लिक लिमिटेड कम्पनीका रूपमा यथावत रहेको र शेयर खरिद बिक्रि प्रक्रियाले कम्पनीको दैनिक कार्यसम्पादन तथा सेवा संचालनमा कुनै फरक नपारेको उल्लेख गरेको छ।
यसका साथै कर्तव्यनिष्ठ कर्मचारीका नाताले ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रवाह गरिरहन प्रतिबद्ध रहेको समेत बताएको छ।
विज्ञप्तीमा भनिएको छ, “कम्पनीमा स्पेक्ट्रलाइट यूके लिमिटेडमार्फत नेपाली मुलका लगानीकर्ता भित्रिएसँगै हामी नयाँ जोश र जागरका साथ अगाडि बढ्ने छौं र नयाँ लगानीकर्ता स्पेक्ट्रलाइट यूकेलाई स्वागत गर्न चाहन्छौं। कम्पनीको शेयर होल्डिङ् परिर्वतनलाई अब एनसेल कम्पनीनै नेपालमा छैन जत्तिकै गरि कम्पनीकै व्यवसायिक छविमाथि आँच आउने गरि भएका र गरिएका प्रचारबाजी प्रति सजग रहन एनसेलका सम्पूर्ण ग्राहकहरु, व्यवसायिक साझेदारहरु तथा आम नेपाली जनताहरुलाई आर्दिक अपिल गर्दछौं।”
यसैगरी विगतमा पनि यस कम्पनीको शेयर स्वामित्व परिवर्तन भएको र नेपालको कानून बमोजिम तिर्नु बुझाउनु पर्ने कर तथा विभिन्न समयमा सम्मानित अदालतले तोके बमोजिमका कर भुक्तानी गरेको जानकारी दिँदै एनसेलले स्थापना पश्चात् हालसम्म नेपाल सरकारलाई २ खर्ब ८३ अर्ब भन्दा बढि कर तथा शुल्कहरु भुक्तानी गरि सकेको स्पष्ट पारेको छ।
त्यसैगरी संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै कानुन बमोजिम निर्धारित क्षेत्रहरु जस्तै शिक्षा, स्वास्थ्य, वातावरण, प्राकृतिक विपदलगायतका क्षेत्रमा उल्लेखनिय योगदान गरेको र देशका दूर–दराजसम्म नेटवर्क विस्तार गरि एक करोड साठी लाख भन्दा धेरै जनतालाई दूरसञ्चार सेवा दिएको तथा प्रत्यक्ष अप्रत्यक्ष गरि २५,००० भन्दा बढी रोजगार सिर्जना गरेको दाबी युनियनको छ।
तर सम्बन्धित निकायमा गएर नबुझी, सस्तो लोकप्रियताको लागि विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत कम्पनीको छवि नै धुमिल्याउने गरि उछितो काड्नु निन्दनीय छ।
हालै भएको शेयर खरिद बिक्रिका सम्बन्धमा सरकारले छानबिन समिति गठन गरि सत्यतथ्य छानबिन प्रक्रिया अगाडी बढाई सकेको अवस्थामा पनि सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा अनर्गल प्रचारबाजी हुनु छानबिन प्रतिवेदनलाईनै प्रभावित पार्ने दुराशयबाट प्रेरित भएको देखिने युनियनले ठहर गरेको छ।
“आगामी वैशाखमा नेपाल सरकारले आयोजना गर्ने भनिएको लगानी सम्मेलनलाई नै असफल बनाउने उदेश्य राखी वैदेशिक लगानीलाई निरुत्साहित गर्ने प्रपञ्च प्रति सचेत हुँदै यसखालका तथ्यहीन भ्रम फैलाउने जो कोहीलाई कारबाहीको कठघरामा उभ्याउन यो ट्रेड युनियन नेपाल सरकारसँग जोडदार माग गर्दछ,” विज्ञप्तीमा भनिएको छ।
Press Release - NETUप्रकाशित: २२ मंसिर २०८०, शुक्रबार