काठमाडौं ।
यस वर्षको तेस्रो त्रैमासिक (जुलाईदेखि सेप्टेम्बर) मा फोल्डेबल स्मार्टफोनहरूको बिक्रीको हिसाबमा रेकर्ड ब्रेकिङ त्रैमासिक भएको डीएससीसीले जनाएको छ। उक्त रेकर्ड ब्रेकिङ त्रैमासिकको लागि सामसङको ग्यालेक्सी जेड फोल्ड ५ र जेड फ्लिप ५ को लन्चले उल्लेखनिय योगदान पुर्याएको छ।
साथै चीनबाट बढेको प्रतिस्पर्धाले पनि महत्त्वपूर्ण भूमिका खेलेको छ।
रिपोर्टकाअनुसार फोल्डेबल फोनको बिक्री सन् २०२३ को दोस्रो त्रैमासिकको तुलनामा २१५ प्रतिशत र सन् २०२२ को तेस्रो त्रैमासिकको तुलनामा १६ प्रतिशत बढेर ७ मिलियन एकाइमा पुगेको छ भने अघिल्लो वर्षको त्रैमासिकमा पुगेको ६.१ मिलियनको उच्च संख्यालाई पछाडि पारेको छ।
सामसङको बजार हिस्सा ७२ प्रतिशतका साथ हावी भएतापनि गत वर्षको ८६ प्रतिशतबाट भने घटेको उल्लेख छ। त्यसैगरी ह्वावे र अनरको बजार हिस्सा क्रमशः ९ प्रतिशत र ८ प्रतिशत रहेको जनाइएको छ। सामसङको जेड फ्लिप ५ र फोल्ड ५ सबैभन्दा बढी बिक्रि हुने दुई ओटा मोडलहरू भएको उल्लेख छ।
जेड फ्लिप ५ ले बजारको ४५ प्रतिशत ओगटेको थियो भने फोल्ड ५ ले २४ प्रतिशत सेयर कब्जा गरेको छ। यस्तै ह्वावेको मेट एक्स३ र अनरको म्याजिक भी २ को हिस्सा ६ प्रतिशत रहेको छ।
चौथो त्रैमासिक (अक्टोबर देखि डिसेम्बर) मा, डीएससीसीले फोल्डेबल स्मार्टफोनको बिक्री तेस्रो त्रैमासिकको तुलनामा ३५ प्रतिशत घट्ने अपेक्षा गरेतापनि सन् २०२२ को चौथो त्रैमासिकको तुलनामा भने ४७ प्रतिशत बढ्ने छ। यस त्रैमासिकमा सामसङको अपेक्षित ढुवानी कम हुनुका साथै नयाँ उत्पादनका लन्चहरुमा भएको केही ढिलाइका कारणले गर्दा यो परिणाम निम्त्याउने बताईएको छ।
त्यसैगरी सामसङको ब्रान्ड सेयर ४२ प्रतिशतमा झर्ने अनुमान गरिएको छ, जुन गत वर्षको ८३ प्रतिशतभन्दा धेरै कम हो।
अर्कोतर्फ, ह्वावेको बजार २१ प्रतिशतले उकालो लाग्ने देखिएको छ। साथै त्यसलाई अनरले १९ प्रतिशतले पछ्याउने जनाइएको छ। साथै मेट एक्स ५ १५ प्रतिशत बजार सेयरको साथ जेड फ्लिप ५ (२२ प्रतिशत) लाई पछ्याउँदै र फोल्ड ५ लाई उछिन्दै दोस्रो नम्बरको मोडलको रुपमा र्याङ्किङमा उक्लिने अनुमान छ। त्यसैगरी अनर म्याजिक भी २ तेस्रो स्थानमा उक्लनेछ भने यसले पनि फोल्ड ५ लाई उछिन्नेछ, जसले १२ प्रतिशत सेयर मात्र व्यवस्थापन गर्नेछ।
सन् २०२३ को सबै फोल्डेबल सेल्स (बिक्री) सन् २०२२ को तुलनामा २३ प्रतिशत बढेर १५.८ मिलियन एकाइ हुने अपेक्षा गरिएको छ। साथै ग्यालेक्सी जेड फ्लिप ५, जेड फोल्ड ५, जेड फ्लिप ४, अनर म्याजिक भी २ र ह्वावे मेट एक्स ५ पूरै वर्षका लागि उत्कृष्ट पाँच मोडलहरू रहने उल्लेख गरिएको छ।
प्रकाशित: २२ मंसिर २०८०, शुक्रबार