नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भने- ‘एनसेल प्रकरणमा सामूहिक रूपमा प्रतिवाद गरौं’

Technology Khabar २१ मंसिर २०८०, बिहीबार

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भने- ‘एनसेल प्रकरणमा सामूहिक रूपमा प्रतिवाद गरौं’
फाइल तस्विर

काठमाडौं ।

एनसेल आजियाटा लिमिटेडको हालै भएको शेयर खरिद बिक्री प्रकरणमा समिति बन्दैमा सबै ठिक नहुने नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले बताएका छन्।

उनले सामाजिक संजाल एक्समा हालै एक पोस्ट गरेर एनसेल प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्व मध्ये कसैको साथ र आश्वासन नपाईकन यत्रो अनियमितताको हिम्मत नआउने भन्दै सबैलाई आ-आफ्नो स्थानबाट प्रतिरोध गर्न आव्हान गरेका छन्।

थापाले अहिले हुने छानबिन प्रभावित गराउन लाग्नसक्ने आशंका गर्दै सबै तिरबाट अझै सङ्गठित र सामूहिक रूपमा प्रतिवाद गर्न भनेका छन्।

यस्तो छ उनको भनाई- 

एनसेल प्रकरण: समिति बन्यो ठिक हुन्छ भन्ने अवस्था छैन,सशक्त खबरदारी आवश्यक छ

एनसेलको खरिदबिक्रीसँग जोडिएर सार्वजनिक भएका विषय हेर्दा प्रथम दृष्टिमा नै यो प्रकरणमा ठुलो अनियमितता भएको सहजै अनुमान लगाउन सकिन्छ।

तत्कालै यो प्रकरणमा विभिन्न तहबाट प्रश्न उठेकै छन्। संसदीय समितिमा, गठबन्धन दलका बैठकमा, पार्टी भित्र बाहिर सबैतिर। सरकारले समिति बनाएको छ भने सार्वजनिक लेखा समितिले “समग्र प्रक्रियामा अनुसन्धान गर्नुपर्ने देखिएकाले त्यो पूरा नहुन्जेल शेयर बिक्रीको प्रक्रियालाई रोक्न निर्देशन” दिएको छ।

तर, समिति बन्यो सबै ठिक हुन्छ भन्ने अवस्था छैन । कानुनको छिद्र दुरुपयोग गरेर यस्तो गरेको प्रस्ट देखिन्छ।यसमा बदनियत छ, किनकि पहिला पनि पटक पटक यस्तो गरेका दृष्टान्त छन्। राजनीतिक र प्रशासनिक नेतृत्व मध्ये कसैको साथ र आश्वासन नपाईकन यत्रो अनियमितताको हिम्मत आउँदैन। जसको आडमा यो भएको छ र जो प्रत्यक्ष परोक्ष संलग्न छन् अहिले हुने छानबिन प्रभावित गर्न उनीहरू लाग्ने नै छन्।

अतः उनीहरूलाई असफल बनाउने भनेको यो प्रकरणमा जो जहाँ बसेर प्रतिरोध गरिरहेका छौ, हाम्रो प्रयासलाई एकीकृत बनाउने हो, जसरी विगतमा प्रतिरोध गरेका थियौँ, कोहीले सरकार भित्रैबाट कोहीले संसदमा, कोहीले सडकबाट।

१) समिति औपचारिकतामा मात्र सीमित नहोस्।छानबिन समिति बनाउने र सामसुम पार्न नदिन हर क्षण सचेत र चनाखो हुनु जरुरी छ। हरेक पटक अनेकन भ्रष्टाचार र आर्थिक अनियमितताका काण्ड सार्वजनिक हुन्छन्, दबाब हुन्छ, छानबिनको प्रयास हुन्छ अनि विभिन्न दृश्य अदृश्य साँठगाँठमा प्रकरणलाई सामसुम पार्ने प्रयास हुन्छ। यस्तो हुन नदिन निरन्तर खबरदारी गरौँ।

२) यो प्रकरणमा जोसुकै, जुनसुकै तह, ओहदा, र पार्टीको जस्तोसुकै प्रभावशाली व्यक्ति संलग्न भएको भए पनि छानबिन गरेर कारबाहीको दायरामा ल्याउनुपर्छ। नेता-नाता, सरकारी-गैरसरकारी कसैले छुट पाउनु हुँदैन । साथै यो सँगै कुनै व्यक्ति,संस्था वा समूहको स्वार्थ अनुकूल नीतिगत भ्रष्टाचारका लागि कहीँ कतैबाट ठाउँ बनाउन खोजिएको छ भने त्यसलाई रोक्नुपर्छ। अझै सशक्त ढङ्गबाट प्रतिवाद जरुरी छ, नागरिक स्तरबाट, सञ्चार माध्यमबाट, दलहरूभित्रबाट, सरकार भित्रैबाट र सांसदबाट। अतः सबै तिरबाट अझै सङ्गठित र सामूहिक रूपमा प्रतिवाद गरौँ।

३) यो प्रकरणसँग जोडिएर जसरी नेपालमा हुने प्रत्यक्ष वैदेशिक लगानी तथा अन्य लगानीको वातावरणलाई प्रभावित पार्ने र आरोप लगाउने विषय उठेका छन्। ती विषय गम्भीर छन्। यस सन्दर्भमा नेपाल सरकारले प्रस्ट गर्नुपर्छ, गराउनुपर्छ।

पुनः आग्रह छ-समिति मात्र बनाएर प्रकरण फासफुस पार्ने र मिलेमतोमा टुङ्गाउने प्रयास कहीँ कतैबाट नहोस्।सुन काण्डदेखि भुटानी शरणार्थी काण्डसम्म पर्दाभित्र दलका  शीर्षहरूबिच जे जस्ता मिलेमतोका प्रयास भए यो प्रकरणमा त्यस्तो हुन नदिन सरकारभित्र, दलहरूभित्र र बाहिर अझै सशक्त ढङ्गले खबरदारी गरौँ।

प्रकाशित: २१ मंसिर २०८०, बिहीबार

तपाइको प्रतिक्रिया