एनसेलले भन्यो- ‘शेयर कारोबारको मूल्य र संरचना इच्छुक क्रेता र विक्रेतामार्फत निर्धारण गरिएको हो’

Technology Khabar २१ मंसिर २०८०, बिहीबार

एनसेलले भन्यो- ‘शेयर कारोबारको मूल्य र संरचना इच्छुक क्रेता र विक्रेतामार्फत निर्धारण गरिएको हो’
एनसेल आजियाटा लिमिटेडको लैनचौरमा रहेको मुख्य कार्यालय । फाइल तस्बिर

काठमाडौं ।

एनसेलको ८० प्रतिशत स्वामित्व नेपाली मुलका लगानीकर्ताले लिने सम्झौता भएसँगै अब एनसेल नेपाली उपभोक्तालाई आधुनिक र उच्च गुणस्तरको सेवा प्रदान गर्दै नेपाल सरकारले अंगिकार गरेको डिजिटल नेपाल भिजनका लक्ष्यहरु हासिल गर्न सरकारलाई योगदान पुर्याउन प्रतिबद्ध रहेको जनाएको छ।

यसका साथै कम्पनीले शेयरहोल्डिङ र त्यसका लगानीकर्ताको बारेमा थप प्रकाश पारेको छ। जसअनुसार शेयर किन्ने कम्पनी स्पेक्ट्रलाइट थुप्रै प्रतिस्पिर्धीहरु मध्येबाट पहिलो भई छानिएको उल्लेख छ।

शेयर खरिदबिक्री बारेमा स्पेक्ट्रलाइट यूके लिमिटेडका नेपाली मुलका शेयरधनी सतिश लाल आचार्यले भने, “आजियाटाले रेनोल्ड्स होल्डिङ्स (सेन्ट किट्समा रहको कम्पनी) मा रहेको आफ्नो शेयर बिक्रीको लागि प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको थियो र स्पेक्ट्रलाइट थुप्रै प्रतिस्पिर्धीहरु मध्येबाट पहिलो भई छानिएको हो । शेयर कारोबारको मूल्य र संरचना इच्छुक क्रेता र विक्रेता मार्फत निर्धारण गरिएको हो। सहमति भएको सम्झौता ढाँचा अनुसार, आजियाटाले बेस पेमेन्ट बाहेक पाँच वर्ष अर्थात सन् २०२९ सम्म थप लाभहरु नाफा बाँडफाँडको रूपमा प्राप्त गर्नेछ। यस शेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको छ, जुन कम्पनीको कार्यसम्पादनको आधारमा विक्रेता कम्पनीले निश्चित समयावधिभित्र प्राप्त गर्नेछ। यस बाहेक, यो परिवर्तनकारी सम्झौताले एनसेललाई नेपाली मूलको बृहत्तर स्वामित्वसहित कम्पनी र व्यवस्थापनतर्फ एनसेलको विकासलाई डोर्याउने छ।”

आजियाटाले पारदर्शिता सुनिश्चित गर्दै आफ्नो प्रेस विज्ञप्तिहरुमा कारोबारको विस्तृत विवरण प्रदान गरेको छ।

एनसेलले आजको दिन सम्मको सबै कर दायित्वहरु सम्पुर्ण रुपमा पालना गरेको छ र यसको प्रमाणिकरण कर कार्यालयबाट भएको र यो कारोबारलाई लिएर कुनै कर तिर्नुपर्ने भएमा नेपालको कानुनअनुसार यसको पालना गरिने उल्लेख गरेको छ।

“यस प्रक्रियामा एनसेल कर कानुनको पालना गर्न प्रतिबद्घ रहेको छ र आफ्ना सम्पुर्ण सरोकारवालाहरुलाई एनसेल एक जिम्मेवार वित्तिय अभ्यास पालना गर्ने कम्पनी भएको सुनिश्चित गराउन चाहन्छौं। हामी आवश्यक सहमतिहरुका लागि नेपाल दूरसञ्चार प्राधिकरणसँग छलफल गरिरहेका छौं,” कम्पनीले विज्ञप्तिमा भनेको छ।

यसका साथै एनसेलमा केही परिवर्तनहरु भईरहेको बेला हाम्रा ग्राहकलाई प्रदान गरिने सेवाको गुणस्तरमा कुनै किसिमको बाधा अवरोध नपर्ने सुनिश्चित गराउने बताउँदै जिम्मेवार कम्पनीको रुपमा आफ्ना सबै ग्राहकलाई उच्च गुणस्तरको सेवा प्रदान गर्न प्रतिबद्घ रहेको बताएको छ।

“लाखौं नेपालीहरुको जीवनलाई समृद्घ बनाउने उद्देश्य अनुरुप परिस्कृत डिजिटल सेवाहरुमार्फत दृढ इच्छा र क्षमताका साथ अझ सशक्त रुपमा अघि बढ्न एनसेल तयार छ । मोवाइल कनेक्टिभीटी सेवामा मात्र सिमित नभई विभिन्न सेवाहरु प्रदान गर्न हामी हाम्रो नेटवर्कको पुर्वाधार विकासलाई निरन्तरता दिने छौं र यससँगै देशमा प्रविधिले ल्याउने महत्वपूर्ण अवसरहरुको पनि सिर्जना हुनेछ । एनसेलको यस नयाँ यात्राको सुरुवात एक परिवर्तन मात्र नभई यसले डिजिटल नेपाल निर्माणको अवधारणालाई सक्रिय रुपमा योगदान पुर्याउनेछ,” विज्ञप्तीमाभनिएको छ।

प्रकाशित: २१ मंसिर २०८०, बिहीबार

तपाइको प्रतिक्रिया