
काठमाडौं ।
नेपाली टेलिकम अपरेटर एनसेल आजिायाटा लिमिटेडमा लगानी गरेको मलेशियन टेलिकम ग्रुप आजियाटाले निक रिजाल कामिललाई ग्रुप सीएफओमा नियुक्त गरेको छ।
आजियाटा ग्रुप बर्हादले १ जनवरी २०२४ देखि लागू हुने गरी निक रिजाल कामिललाई प्रमुख वित्तीय अधिकृत नियुक्त गरेको हो।
उनले समूह प्रमुख कर्पोरेटको भूमिकाको अतिरिक्त २४ मार्च २०२३ देखि कार्यवाहक समूह सीएफओको रूपमा पद सम्हालेकी लीला आजमिन अब्दुल्लाहबाट पदभार ग्रहण गर्नेछन्।
यसका साथै लीला आजमिन अब आजियाटामा प्रमुख कर्पोरेट विकास अधिकारीको रुपमा कार्य गर्नेछिन्।
कम्पनीले दिगो लाभांश कम्पनी बन्ने समूहको आकांक्षालाई अघि बढाउन निक रिजालको नियुक्ति महत्वपूर्ण रहेको बताएको छ।
निक रिजालले व्यवसायिक वित्त, लगानी र लेखासम्बन्धी धेरै अनुभव र ज्ञानका साथ आजियाटासँग जोडिएको कम्पनीले जनाएको छ।
स्मरणरहोस् नेपालको निजी दूरसञ्चार कम्पनी एनसेलमा आजियाटाको ८० प्रतिशत लगानी रहेको छ। उक्त लगानी हालै आजियाटाले नेपाली मुलका व्यवसायी तथा शेयरधनी सतिश लाल आचार्यको बेलायती कम्पनी स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बेचेको घोषणा गरेको छ। सो खरिदबिक्री प्रकृया कानुनीरुपमा पुरा भईसकेको छैन्।
एनसेलको उक्त शेयर खरिदबिक्रीले हाल विवाद सिर्जना गरेको छ। जसको बारेमा सरकारले छानबिन तथा अनुसन्धान शुरु गरेको छ।
प्रकाशित: २१ मंसिर २०८०, बिहीबार