
काठमाडौं ।
– निर्दोष घोरसाईने
निजी दूरसञ्चार सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडमा सात नेपालीको शेयर रहेको देखिएको छ।
प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा कम्पनी रजिष्ट्रारको कार्यालयले उपलब्ध गराएको कागपत्रमा एनसेल आजियाटामा सात नेपालीको शेयर रहेको देखिएको हो।
एनसेल आजियाटाको सबैभन्दा ठूलो शेयरधनीमा वेस्ट इन्डिजको चाल्सटाउन, नेभिजनमा दर्ता रहेको रेनोल्ड् होल्डिङ्स लिमिटेड रहेको छ। कम्पनी रजिष्ट्रारको कार्यालयको विवरणअनुसार एनसेल आजियाटामा रेनोल्ड् होल्डिङ्स लिमिटेडको आठ लाख कित्ता शेयर अर्थात ८० प्रतिशत स्वामित्व छ।
यसैगरी काठमाडौं महानगरपालिका वडा नम्बर १३ मा रहेको सुनिभेरा क्यापिटल भेन्चर प्रालिसँग दुई लाख कित्ता अर्थात २० प्रतिशत शेयर स्वामित्व छ।
यस बाहेक अन्य सात नेपाली नागरिकहरुको शेयर समेत एनसेलमा रहेको सरकारी तथ्यांकले देखाएको छ। यस्तो शेयर सार्वजनिक कम्पनीको रुपमा रुपान्तरण हुँदा स्वामित्व हस्तान्तरण गरिएको देखिन्छ।
प्राइभेट लिमिटेड कम्पनी पब्लिक लिमिटेडमा परिणत हुन कम्तिमा सात जना शेयरधनी आवश्यक पर्ने कानूनी प्रावधान छ। सोही व्यवस्था पूर्ति गर्न एनसेल आजियाटाले ११ कित्ता शेयर थप गरी सात नेपाली नागरिकहरुलाई सो शेयर बिक्री गरेर २०७७ साउन १९ गते मा प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेडमा परिणत भएको कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ।
जसअनुसार, काठमाडौं महानरपालिका वडा नम्बर २७ बस्ने लेना केशरी कंसाकारको नाममा दुई कित्ता, ललितपुर महानरपालिका वडा नम्बर १ का कविन मूलको नाममा एक कित्ता, काठमाडौं महानरपालिका वडा नम्बर २९ का समिर राज गौतमको नाममा एक कित्ता, ललितपुर महानरपालिका वडा नम्बर २ का कन्चन सिंह कार्कीको नाममा दुई कित्ता, काठमाडौं महानरपालिका वडा नम्बर १० का सम्पन्न राज भट्टको नाममा एक कित्ता, काठमाडौं महानरपालिका वडा नम्बर ९ का ज्योति दाहालको नाममा दुई कित्ता र ललितपुर महानरपालिका वडा नंम्बर ७ का उमा महर्जनको नाममा २ कित्ता एनसेल आजियाटाको सेयर रहेको छ।
यी सबै शेयरधनीहरुले २०७५ चैत १ गते एकै पटक न्यूनतम प्रतिकित्ता शेयर १०० रुपैयाँमा खरिद गरेको कम्पनी रजिष्ट्रारको कार्यालयको तथ्यांकमा उल्लेख छ। यी शेयरधनीहरु समावेश गरि एनसेल पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो।
कम्पनी रजिष्ट्रारको कार्यालयकाअनुसार सुनिभेराको २० प्रतिशत शेयर हिस्सा ३ अर्ब ३३ करोड २४ लाख १५ हजार रुपैयाँ मूल्यको रहेको छ र यो रकममा शेयरधनीले तिरेको लाभकरसमेत समावेश रहेको छ।
प्रकाशित: २० मंसिर २०८०, बुधबार