
काठमाडौं ।
कोका–कोला बेभरेजेज नेपालले आफ्नो वितरणलाई अझै प्रभावकारी बनाउने र नेपालभर आफ्नो उपस्थितिलाई सुदृढ गर्ने उद्देश्यका साथ “कोक बडी” एप लन्च गरेको छ।
रिटेलरहरूले कुनै पनि समयमा कुनै पनि स्थानबाट डिस्ट्रिब्युटरहरूमार्फत कोका–कोलाका पेय पदार्थहरू चाँडो भन्दा चाँडो र सहज रुपमा अर्डर गर्न सकुन् भन्ने उद्धेश्यले यो एप लन्च गरिएको हो।
नेपालभरका २५६ वितरकहरू र १५६,००० आउटलेटहरूलाई जोड्दै यो नयाँ मोबाइल एप्लिकेसनले कोका–कोलाका उत्पादनहरू वितरण गरिने शैलीलाई डिजिटल रूपमा रूपान्तरण गर्ने कम्पनीले विश्वास लिएको छ।
कोका–कोला बेभरेजेज नेपाल र यसको विशाल वितरण सञ्जाल भित्रको सन्चार र लजिस्टिकलाई सुव्यवस्थित गर्न कोक बडी एपको डिजाइन गरिएको हो, जसले वितरक र आउटलेटहरू बीच रियल–टाईम कनेक्टिभिटिलाई कायम राख्दछ।
यो एपले सप्लाई चेन म्यानेजमेन्टलाई अप्टिमाईज गर्ने, इन्भेन्टरि भिजिबिलिटि सुधार गर्ने र अन्ततः डिस्ट्रिब्युटर र रिटेलरहरु दुवैका लागि सहज अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।
बोटलर्स नेपाल लिमिटेडका म्यानेजिङ्ग डिरेक्टर दीपक नाथ सेन्थिलले भने, “अझै पनि परम्परागत रुपमै बिक्री गर्ने, कुराकानी गर्ने र अर्डर गर्ने शैलीमा निर्भर यस उद्योगको लागि वर्षको ३६५ दिन नै चौबिसै घण्टा चाँडो भन्दा चाँडो अर्डरहरू लिन र दिन मिल्ने क्षमता भएको यो एप एउटा ठुलो परिवर्तन हो । यस एपको सुरुवातले हाम्रो भ्यालु चेनमा रहेका हरेक डिस्ट्रिब्युटर र रिटेलरहरूले आफ्ना ग्राहकहरूलाई अझ राम्रो सेवा दिँदै आफ्नो उद्यमलाई अझ अगाडि बढाउन सक्षम हुनेछन् भन्ने हामीले आशा लिएका छौँ।”
अब कुनै आउटलेटले कोका–कोलाको कुनै पनि पेय पदार्थहरु अर्डर गर्नको लागि केवल प्ले–स्टोर वा एप–स्टोरमा गएर कोक बडी एप डाउनलोड गरेर त्यसमा कोक आउटलेटको रूपमा दर्ता गर्दा प्रदान गरेको आफ्नो फोन नम्बर प्रयोग गरेर लग–इन गर्न सक्छन्। त्यसपछि उनीहरूले अफुले अर्डर गर्न चाहेको उत्पादन छनोट गर्नासाथ डिस्ट्रिब्युटरको सिस्टममा आउँछ र उनीहरुको अर्डर तुरुन्तै प्रोसेस हुन्छ।
त्यस्तै कोका–कोला बेभरेजेज नेपालका कमर्सियल डिरेक्टर युनुस रियादीले भने, “सुविधाजनक रुपमा अर्डर गर्ने एप – कोक बडी विशेष रूपमा हाम्रा रिटेलरहरूका लागि तयार पार्दा हामी धेरै उत्साहित छौँ । यस एप मार्फत अब तपाईंहरुले कोका–कोलाको कुनै पनि पेय पदार्थहरू जुनसुकै समयमा र जहाँ पनि चौबिसै घन्टा अर्डर गर्न सक्नुहुनेछ।”
कम्पनीकाअनुसार यस कोक बडी एपको मुख्य विशेषताहरु भनेको यसमार्फत जहाँबाट पनि जुन सुकै समयमा पनि मात्र एक मिनेटमा अर्डर गर्न सकिन्छ। त्यस्तै यस एपमा रियल–टाईम अर्डर म्यानेजमेन्ट, इन्भेन्टरी ट्रयाकिङ गर्नुको साथै प्रमोशन र मार्केटिङको लागि पनि सपोर्ट उपलब्ध हुन्छ।
प्रकाशित: २० मंसिर २०८०, बुधबार