
काठमाडौं ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयका विद्यार्थीहरू बिच स्टीम मटेलियल्स (STEAM Materials) निर्माण प्रतिस्पर्धा गराउने भएको छ।
मन्त्रालयको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम अनुसार विश्वविद्यालयका विद्यार्थीहरू बीच प्रतिस्पर्धा गराउन लागिएको हो।
यस वर्षको प्रतिष्पर्धाको विषय “माध्यमिक विद्यालयहरू (कक्षा ५-१०) मा प्रयोग हुने विज्ञान, प्रविधि, इन्जिनियरिंग, कला र गणित (STEAM) सिकाई सामग्री निर्माण” रहेको छ।
मन्त्रालयकाअनुसार यस कार्यक्रम अन्तर्गत पहिलो चरणमा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी समूहबाट निवेदन माग गरिने, प्राप्त निवेदनहरूबाट दोस्रो चरणका लागि समूह छनौट गरिने छ र विद्यार्थी समूहलाई आफ्नो सोच अनुसारको वस्तु निर्माण गर्न ४ महिनाको समय दिइने छ।
दोस्रो चरणमा छनोट भएका समूहलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ्ग, कला, गणित (STEAM) विषयमा विश्वविद्यालयस्तरीय प्रतियोगितात्मक कार्यक्रम संचालन सम्बन्धी कार्यविधी, २०८०” बमोजिम सहयोग रकम प्रदान गरिने बताईएको छ।
प्रतिष्पर्धामा सहभागि हुन चाहने विश्वविद्यालयका विद्यार्थीहरूले यो सूचना प्रकाशित भएको मितिले तीस (३०) दिनभित्र कार्यालय समयभित्र आई पुग्ने गरी सोही कार्यविधिको अनुसूची- २ बमोजिमको ढाँचामा यस मन्त्रालयमा आइपुग्ने गरी वा सबै आवश्यक कागजात प्रमाणित गरेर स्क्यान गरी [email protected] मा ईमेल गरेर निवेदन दिनुपर्नेछ।
मन्त्रालयकाअनुसार म्याद नाघी दर्ता हुन आएका वा रीत नपुगेका निवेदनहरु छनोटका लागि समावेश हुने छैनन्। उल्लेखित कार्यविधि एवं यस वर्षको विषयसँग सम्बन्धित टि.ओ. आर. मन्त्रालयको वेभसाइट www.moest.gov.np बाट हेर्न/डाउनलोड गर्न सकिने जनाएको छ।
प्रकाशित: १९ मंसिर २०८०, मंगलवार