
काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकटकलाई नियमन गर्न सकिने बताएका छन्।
प्रधानमन्त्री दाहालले आज केहि मिडियाका सम्पादकहरुसँगको भेटघाटमा टिकटक बन्द गरिएका विषयमा सम्पादकहरुले सोधेको प्रश्नमा उनले नियमन गर्न सकिने बताएका हुन्।
प्रधानमन्त्री दाहालले भने, “यो बन्द गर्नुपर्यो आवाज नै धेरैतिरबाट आएको हो । कांग्रेस सभापति, एमाले अध्यक्षले पनि पटकपटक भन्नुभएको हो । बरु मैले त विवाद हुन्छ कि भनेर दुई/तीन महिना नै पर सारेको हो तर हाललाई बन्द गरौँ भन्ने भएर गरिएको हो। तर यो सधैँलाई बन्द नै गर्ने नियत सरकारको होइन बरु सामाजिक सञ्जालसम्बन्धी विधेयक आउँदैछ, त्यसमा नियमन गर्ने प्रावधान राख्न सकिन्छ।”
नियमन नै नहुने भन्ने कुनै पनि विषय नहुने भएकाले नियमन गर्न सकिने भन्दै प्रधानमन्त्रीले यसका लागि बरु के कस्ता नियमनकारी प्रावधान राख्न सकिन्छ भनेर सुझाव दिन सबैलाई आह्वान गरिएको बताए।
टिकटकका विषयमा आफूले प्रदेश प्रदेशमा गएर नागरिकका आवाज पनि सुनेको र जनताले नै सरकारले यसलाई बन्द गरिदेओस् भन्ने गरेका प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यसबाट बहुसङ्ख्यक नागरिक टिकटक बन्द भएकामा नै खुसी रहेका बताए।
उनले भने, “कतै कतै सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रताको विपक्षमा उभियो भन्ने आवाज पनि मैले सुन्ने गरेको छु । त्यो बिल्कुल गलत हो, हामी नागरिकका सबै प्रकारका अधिकार रक्षाको पक्षमा छौँ ।” रासस
प्रकाशित: १८ मंसिर २०८०, सोमबार