एनसेल शेयर खरिद–बिक्री कानुन र प्रक्रियाअनुसार भए नभएको निर्क्योल गर्न प्रधानमन्त्रीको निर्देशन

  • Technology Khabar | १८ मंसिर २०८०, सोमबार
एनसेल शेयर खरिद–बिक्री कानुन र प्रक्रियाअनुसार भए नभएको निर्क्योल गर्न प्रधानमन्त्रीको निर्देशन
फाइल तस्विर

काठमाडौं ।

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर स्वामित्व खरिद–बिक्री नेपालको विद्यमान कानुन र प्रक्रियाअनुसार भए–नभएकोबारे अध्ययन गरी निर्क्योल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

एनसेलको शेयर खरिद–बिक्री हुँदा प्रचलित कानुनी प्रावधान तथा विधि र प्रक्रिया पालना भए–नभएकोबारे बुझ्न निर्देशन दिइएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।

शर्माकाअनुसार यो व्यावसायिक सम्झौताबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा सरकारको राजस्वलगायत विषयमा पर्ने प्रभावका बारेमा शीघ्र अध्ययन गर्न पनि प्रधानमन्त्री दाहालले निर्देशन दिएका छन्।

मलेसियन कम्पनी ‘आजियटा ग्रुप बर्हाड’ले गत शुक्रबार एनसेलको ८० प्रतिशत शेयर स्वामित्व अर्को कम्पनी ‘स्पेक्ट्रलाइट युके लिमिटेड’लाई बेच्ने निर्णय गरेको थियो।

नियामक निकायलाई समेत जानकारी नहुने गरी मुलुकबाहिरबाट शेयर खरिद–बिक्री भएको भन्दै यो व्यावसायिक कारोबारको कानुनी प्रक्रियाको वैधता र आर्थिक पादर्शितामाथि प्रश्न उठिरहेका छन् ।

एनसेलको स्वामित्व खरिद–बिक्रीका विषयमा सङ्घीय संसद्अन्तर्गतको सार्वजनिक लेखा समितिले पनि अध्ययन थालेको छ।

समितिले आन्तरिक राजस्व विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाउँदै यस विषयमा जानकारी मागेको हो । रासस

प्रकाशित: १८ मंसिर २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार