
काठमाडौं ।
भारतले ग्राहकलाई भ्रमित गर्ने ई–कमर्स कम्पनीमाथि कडाइ गरेको छ। भ्रामक विज्ञापनहरूमार्फत मानिसहरूलाई किन्न बाध्य पार्ने डार्क प्याटर्नहरुलाई हालै प्रतिबन्धित गरिएको छ। अब कुनै पनि ईकमर्स प्लेटफर्मले यस्तो कुनै पनि डार्क प्याटर्न प्रयोग गर्न सक्षम हुनेछैन।
यस्तो कुनै पनि ट्रिक अनलाइन वा अफलाइन प्रयोग गर्दा पनि १० लाख भारतीय रुपैयाँ जरिवाना हुनेछ। यसले भारतमा भएका लगभग हरेक ई-कमर्स कम्पनीको व्यापारलाई असर गर्नेछ। तर, ग्राहकको हितलाई संरक्षण गरिने मिडिया रिपोर्टमा उल्लेख छ।
डार्क प्याटर्न्स के हो
रिपोर्टकाअनुसार भारतीय ईकमर्स कम्पनीहरूले लामो समयदेखि आफ्नो सामान बेच्न यो गलत विधि प्रयोग गर्न थालेका थिए। भ्रामक सन्देश र विज्ञापनहरू ग्राहकहरूलाई देखाइने गरेको थियो। यो उत्पादन समाप्त हुन लागेको छ वा सिमित सिट द्रुत गतिमा सकिँदै भन्ने जस्ता विषय यसमा लेखिएको हुन्छ। यी दावीहरूले मानिसहरूलाई भ्रमित गरिरहेका हुन्छन्। जसका कारण मानिसहरु हतारमा किन्ने गर्थे।
वस्तु तथा सेवा क्षेत्रमा यस्ता डार्क प्याटर्न्सको बढ्दो गलत अभ्यासलाई देखेर भारतको केन्द्रीय उपभोक्ता संरक्षण प्राधिकरण (सीसीपीए) ले सूचना जारी गरी प्रतिबन्ध लगाएको हो।
डार्क प्याटर्न्समार्फत, कम्पनीहरूले ग्राहकहरूलाई भ्रामक विज्ञापनहरू देखाउँछन्। साथै, उत्पादनहरूको मूल्य विज्ञापनहरूमा देखाइएको भन्दा खरिद गर्ने बेलामा परिवर्तन हुन्छ। यी नक्कली विज्ञापनबाट कम्पनी लाभान्वित हुन्छन्। तर, यसबाट ग्राहकको अधिकार हनन भएको रिपोर्टमा उल्लेख छ। अब यस्तो गर्ने कम्पनीलाई जरिवाना लाग्नेछ। अफलाइन बिक्रीमा पनि डार्क प्याटर्न प्रयोग हुन थालेको भन्दै त्यसमा पनि रोक लगाईएको छ।
डार्क प्याटर्न्समा नदेखिने र लुकाईएका सर्तहरूसँग सम्झौता गर्नुपर्ने हुन्छ। धेरै पटक, ग्राहकहरूलाई आकर्षित गर्न, ई-कमर्स कम्पनीहरूले कुनै उत्पादन तथा सेवाहरुमा भारी छुट सिमित अवधिको लागि भनेर मात्र देखाउने गर्दछन र यस्ता डार्क प्याटर्न सम्झौताहरुमा अन्य शर्तहरु नदेखिने हुन्छन्। जसले गर्दा सबैले यसको फाइदा लिन सक्दैनन्।
नयाँ नियममा छोटो समयको डिलको नाममा ग्राहकलाई धोका दिन नपाइने स्पष्ट उल्लेख छ। न त सदस्यताका लागि कुनै दबाब दिन सकिन्छ र छुट पनि लुकाउन सकिँदैन।
प्रकाशित: १८ मंसिर २०८०, सोमबार