युरोपमा गुगलको अर्को विशाल साइबर सुरक्षा केन्द्र स्थापना

Technology Khabar १४ मंसिर २०८०, बिहीबार

काठमाडौं ।

साइबर आक्रमणहरूमा वृद्धि हुँदै गएको र यसले राजनीतिक प्रणालीमा खलल पुर्याउने खतरा रहेको चेतावनी दिँदै गुगलले बुधबार युरोपमा आफ्नो सबैभन्दा ठूलो साइबर सुरक्षा केन्द्र खोलेको छ।

सिलिकन भ्याली फर्मले नीति निर्माताहरूसँग एक वर्षको कुराकानीपछि दक्षिणी स्पेनी शहर मालागामा नयाँ केन्द्र खोलेको बताएको छ। युरोपेली सङ्घ र गुगल दुवैले युक्रेनको युद्धले लोकतन्त्रलाई अस्थिर पार्न साइबर उपकरणहरू कसरी प्रयोग गर्न सकिन्छ भन्ने देखाएको चेतावनी दिएका छन्।

गुगलका अन्तर्राष्ट्रिय मामिला प्रमुख केन्ट वाकरले गत वर्ष साइबर आक्रमण ३८ प्रतिशतले बढेको र ‘आक्रामक बन्दै गएको’ बताएका छन्। उनले भने, “हामीले अन्तर्राष्ट्रिय स्तरमा मिलेर काम गर्न आवश्यक छ।”

युरोपेली संसदकी उपाध्यक्ष दिता चरन्जोभाले एक भिडियो सम्बोधनमा हरेक दिन अनुमानित दुई लाख ३० हजार ओटा दुर्भावनापूर्णरूपमा स्थापित सफ्टवेयर डाउनलोड भइरहेको बताईन। “हामीलाई कुनै शङ्का छैन कि युरोपेली चुनाव गलत सूचना र साइबर हस्तक्षेपको निशाना बन्नेछ,” उनले भनिन्।

म्युनिख र डबलिनमा साइबर सुरक्षा केन्द्र रहेको गुगलले आफ्नो मालागा साइटमा साइबर खतरासँग जुध्नका लागि उपकरण निर्माण गर्ने विज्ञहरू राख्ने बताएको छ। यसले सरकारी अधिकारी, कम्पनी र गैरसरकारी संस्थालाई तालिम दिन पनि मद्दत गर्नेछ।

फर्मले आफ्नो साइबर सुरक्षा शस्त्रागार निर्माण गर्न वर्षौं बिताएको छ। यसले एक दशक अघि मलागामा आधारित ‘स्टार्टअप भाइरस टोटल’लाई अधिग्रहण गरेको थियो र फर्मले अहिले विश्वको सबैभन्दा ठूलो मालवेयर डाटाबेस मध्ये एक भएको दावी गर्ने गरेको छ।

गत वर्ष उसले अमेरिकी साइबर सुरक्षा फर्म ‘म्यान्डियन्ट’लाई पाँच अर्ब डलरभन्दा बढीमा किनेको थियो। रासस/एएफपी

प्रकाशित: १४ मंसिर २०८०, बिहीबार

तपाइको प्रतिक्रिया