गुगलले निष्क्रिय जिमेल खाता डिसेम्बरदेखि ‘डिलिट’ गर्ने, यसरी बचाउनुस् आफ्नो पुरानो अकाउन्ट

Technology Khabar १३ मंसिर २०८०, बुधबार

काठमाडौं ।

गुगलले निष्क्रिय जिमेल खाताहरू यहि डिसेम्बर १ तारिखदेखि मेटाउने तयारी गर्दैछ। यो निर्णयले विगत दुई वर्षमा प्रयोग नगरिएका खाताहरूलाई लक्षित गर्दछ भने यसमा इमेल, ड्राइभ फाइल्स, फोटोहरू र कन्ट्याक्टस (सम्पर्कहरू) लगायत सबै सम्बन्धित डाटा समावेश गरिने उल्लेख छ।

पुरानो खाताहरू साइबर आक्रमणको बढ्दो जोखिममा हुने भएकाले निष्क्रिय खाताहरू मेटाउने निर्णय गरिएको जनाइएको छ।

गुगलको आन्तरिक डाटाका अनुसार, सक्रिय खाताहरूको तुलनामा निष्क्रिय खाताहरूमा टु–फ्याक्टर अथेन्टिकेसन इनेबल्ड (दुई–कारक प्रमाणीकरण सक्षम) हुने सम्भावना दस गुणा कम हुन्छ। सुरक्षा उपायहरूको अभावले पुराना खाताहरूलाई ह्याक गर्ने प्रयासहरूको लागि बढी संवेदनशील बनाउने उल्लेख गरिएको छ।

यसबाहेक, निष्क्रिय जिमेल खातामा लिङ्क गरिएका कुनै पनि एक्सटर्नल सर्भिसेस (बाह्य सेवाहरू) पनि जोखिममा हुने जनाइएको छ। यी चिन्ताहरूलाई सम्बोधन गर्न र प्रयोगकर्ता डाटाको सुरक्षा गर्नका लागि गुगलले दुई वर्षदेखि निष्क्रिय रहेका खाताहरू हटाउने निर्णय गरेको हो।

यद्यपि, सबै निष्क्रिय खाताहरूलाई तुरुन्तै नमेटाइने उल्लेख गरिएको छ। गुगलले सन् २०२३ को डिसेम्बरदेखि साना ब्याचहरूमा बिस्तारै खाताहरू हटाउन सुरु गर्नेछ। साथै यो चरणबद्ध प्रक्रियाले आफ्ना खाताहरूलाई प्रयोग गर्न चाहने प्रयोगकर्ताहरूलाई उनीहरूको अकाउन्ट पुनः सक्रिय गर्न समय दिनेछ।

एक पटक खाता मेटिए वा डिलिट भएपश्चात इमेल, ड्राइभ फाइलहरू, डकुमेन्टस (कागजातहरू), मिटिङ्गस र अन्य कुनै फाइलहरूसहित सबै सम्बन्धित डाटा स्थायीरूपमा हटाइने जनाइएको छ। साथै यो प्रक्रिया परिवर्तन गर्न नमिल्ने र प्रयोगकर्ताहरूले आफ्नो डाटा पुनः प्राप्त गर्न सक्षम पनि नहुने उल्लेख गरिएको छ।

खाता मेटिनबाट बचाउनका लागि अकाउन्ट खाता सक्रिय राख्नुहोस् 

आफ्नो खाताहरू डिलिट हुनबाट रोक्नको लागि, प्रयोगकर्ताहरूले कम्तिमा दुई वर्षमा एक पटक आफ्नो जिमेल खाताहरूमा साइन इन गर्न पर्ने हुन्छ। यो न्यूनतम गतिविधिले प्रयोगकर्ताहरूको खाताहरू सक्रिय राख्ने र तिनीहरूलाई मेटिनबाट रोक्ने छ।

नियमित साइन–इन बाहेक, प्रयोगकर्ताहरूले आफ्नो खाता सक्रिय राख्न र मेटाउन रोक्न विभिन्न गतिविधिहरूमा संलग्न हुन सक्छन्ः

  • गुगल ड्राइभ प्रयोग गरेर
  • युट्युब भिडियोहरू हेरेर
  • गुगल प्ले स्टोरबाट एपहरू डाउनलोड गरेर
  • गुगल सर्चेज पर्फम गरेर
  • थर्ड–पार्टि (तेस्रो–पक्ष) एप वा सर्भिसेस (सेवाहरू) को लागि गुगल मार्फत साइन–इन प्रयोग गरेर

यसैबीच गुगलको हाल युट्युब भिडियोहरूमा निष्क्रिय खाताहरू मेटाउने कुनै योजना नभएको उल्लेख छ। यसको अर्थ यदि प्रयोग नगरिएको पुरानो खाता युट्युबमा लिङ्क गरिएको छ र यसमा सार्वजनिक भिडियो छन् भने गुगलले निष्क्रियताको बाबजुद त्यो अकाउन्ट मेटाउने छैन। यद्यपि, कम्पनीले भविष्यमा यो नीति अद्यावधिक गर्न सक्ने संभावना रहेको छ।

प्रकाशित: १३ मंसिर २०८०, बुधबार

तपाइको प्रतिक्रिया