Technology Khabar १२ मंसिर २०८०, मंगलवार
काठमाडौं ।
सरकारले प्रतिबन्ध लगाएको टिकटकमा पहुँच बन्द नगरेका इन्टरनेट सेवा प्रदायकहरुको लाइसेन्स नै खारेज गर्ने नियामक निकायले चेतावनी दिएको छ।
दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले आजै अत्यन्त जरुरी सूचना जारी गर्दै टिकटक बन्द नगराएका सेवा प्रदायकहरुको अनुमति पत्र खारेजी लगायतको कारवाही प्रक्रिया अगाडी बढाईने चेतावनी दिएको हो।
प्राधिकरणले यसअघि नै सबै सेवा प्रदायकहरुलाई टिकटकको पहुँचमा रोक लगाउन निर्देशन दिईएको स्मरणसमेत सूचनामार्फत गराएको छ।
“नेपाल सरकार मन्त्रिपरिषद्को २०८०/०७/२७ गतेको बैठकबाट “सामाजिक संजालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सदभाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकोले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने” निर्णय भए बमोजिम उक्त निर्णय कार्यान्वयन गरी जानकारी गराउन सम्बन्धित सवै इन्टरनेट सेवा प्रदायकहरु र मोवाइल सेवा प्रदायकहरुलाई प्राधिकरणबाट निर्देशन दिइसकेको,” सूचनामा भनिएको छ।
सो बारेमा यसअघि प्राधिकरणले सार्वजनिक सूचना पनि प्रकाशन गरिसकेको भन्दै सो निर्देशन अनुसार टिकटक बन्द गरे/नगरेको बारेमा केहि सेवा प्रदायकहरुले जानकारी नदिएको भन्दै करिब ५५ ओटा इन्टरनेट (इमेल सहित) सेवा प्रदायकहरुको अनुमति खारेज गर्ने चेतावनी दिएको हो।
उनीहरुलाई २४ घण्टा भित्रै जानकारी गराउन र सो सूचनाअनुसार कम्पनीहरुबाट जवाफ नआएमा दूरसंचार ऐन, २०५३ बमोजिम अनुमतिपत्र खारेजी लगायतको कारवाही प्रक्रिया अगाडी बढाईने चेतावनी दिएको छ।
“हालसम्म पनि प्राधिकरणको निर्देशन कार्यान्वयन भए/नभएको सम्बन्धमा कुनै पनि जानकारी प्राप्त हुन नआएकोले २४ घण्टा भित्र निर्णय कार्यान्वयन भए/नभएको विषयमा जानकारी गराउन यो सूचना प्रकाशन गरिएको छ। संलग्न सूचीमा उल्लेखित इन्टरनेट सेवा प्रदायक कम्पनीहरुबाट २४ घण्टा भित्र कुनै पनि जवाफ प्राप्त नभएमा प्राधिकरणबाट दूरसंचार ऐन, २०५३ बमोजिम अनुमतिपत्र खारेजी लगायतको कारवाही प्रक्रिया अगाडी बढाईने व्यहोरा समेत यसै सूचना द्वारा जानकारी गराईन्छ।”
यसैगरी प्राधिकरणले टिकटकमा पहुँच रोक्नका लागि आफूले गरेको कार्यसहितको बिबरण समेत सार्वजनिक गरेको छ। जसमा टिकटक बन्द गर्ने बारेमा सेवा प्रदायकहरुसँग छलफल गरिएको, सार्वजनिक सूचनामार्फत जानकारी गराईएको फ्रि भीपीएनलगायत नचलाउन प्रयोगकर्ताहरुलाई सचेत गराईएको लगायतका विषयहरु रहेका छन्।
यसैगरी, यस अवधिमा नियामक निकायले पठाएका विभिन्न निरीक्षण टोलीहरु मार्फत नमूना परिक्षणको रुपमा १७ ओटा इन्टरनेट सेवा प्रदायकहरुको निरीक्षण तथा जाँचबुझ गर्दा ६ ओटामा मात्र टिकटक पूर्ण रुपमा बन्द रहेको र बाँकी ११ ओटा सेवा प्रदायकहरुमा टिकटक चलिरहेको पाईएकोले स्पस्टिकरण पेश गर्न पत्राचार गरिएको छ।
त्यस्तै दूरसञ्चार प्राधिकरणबाट मोबाइल सेवा तथा इन्टरनेट (इमेल सहित) सेवा सञ्चालनको लागि अनुमति प्राप्त सेवा प्रदायकहरु १३० ओटा रहेकोमा हालसम्म ७० ओटा सेवा प्रदायकहरुले टिकटकको प्रयोग/पहुँचमा रोक लगाइएको भनी जानकारी गराएका उल्लेख छ।
यस्तो छ जवाफ नपठाएका इन्टरनेट (इमेल सहित) सेवा संचालनको लागि अनुमतिपत्र प्राप्त सेवा प्रदायकहरुको सूची-
List of nonresponsive Licenseesहेर्नुस् प्राधिकरणको विज्ञप्ति-
Final Press Release 28th Nov 2023प्रकाशित: १२ मंसिर २०८०, मंगलवार