Technology Khabar १२ मंसिर २०८०, मंगलवार
काठमाडौं ।
नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकद्वारा संयुक्त रुपमा प्रवर्धित डिजिटल वालेट सेवा नमस्ते पे ‘मोस्ट इनोभेटिभ डिजिटल वालेट डिप्लोयमेन्ट’अवार्डबाट सम्मानित भएको छ।
‘आइबीएस इन्टेलिजेन्स ग्लोबल फिनटेक इनोभेसन अवार्ड २०२३’ को चौथो संस्करणमा नमस्ते पे ‘मोस्ट इनोभेटिभ डिजिटल वालेट डिप्लोयमेन्ट’ अवार्डबाट सम्मानित भएको हो।
यूएसएसडी च्यानल मार्फत रियल टाइम अफलाइन भुक्तानी समाधान प्रदान गर्ने कम्पनीका ग्राहकले डिजिटल लेनदेन गर्दा बिना इन्टरनेट स्टार५००ह्यास डायल गरेर वालेट सेवा अफलाइनमा पहुँच गर्न सक्नेछन्।
नमस्ते पेले रिक्यूएस्ट मनी सुविधा मार्फत पी२पी उधारो सेवा उपलब्ध गराउँदै आएको छ। उपभोक्ताहरुलाई समूहको बिल भुक्तानी गर्न सजिलो बनाउन स्पील बिल जस्ता सुविधा पनि उपलब्ध गराउँदै आएको छ।
भारतको मुम्बईमा आयोजित उक्त कार्यक्रम सन् १९९१ मा स्थापना भएको बेलायतमा रहेको कम्पनी इन्टरनेशनल बैंकिङ सिस्टम इन्टेलिजेनस (आईबीएसआई) ले आयोजना गरेको थियो।
नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड (एनडीपीसी)का नायव प्रमुख कार्यकारी अधिकृत विनय बिजुक्छेले २४ नोभेम्बर २०२३ मा भारतको मुम्बईमा भएको समारोहमा उक्त अवार्ड ग्रहण गरेका हुन्।
नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो। आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्न यस वालेट सेवाको उद्देश्य रहेको छ।
प्रकाशित: १२ मंसिर २०८०, मंगलवार