Technology Khabar ११ मंसिर २०८०, सोमबार
काठमाडौं ।
नेपालमा फोरजी सेवा सुरु गरिएको करिब ५ वर्ष पुरा हुन लाग्दा पनि देशका सबै स्थानीयतहमा फोरजी सेवाको पहुँच पुग्न सकेको छैन।
नेपाल टेलिकमले उपलब्ध गराएको तथ्यांकअनुसार हालसम्म १६ स्थानीय तह फोरजी पहुँच भन्दा बाहिर छन्।
नेपाल टेलिकमले २०७५ माघमा एक वर्ष भित्रमा मुलुकभर फोरजी सेवा विस्तार गर्ने गरी दुई चिनियाँ कम्पनी चाइना टेलिकम्युनिकेसन सर्भिस इन्टरनेसनल र जेडटीईसँग सम्झौता गरेको थियो।
तत्कालिन समयमा नेपाल टेलिकम र चिनियाँ कम्पनीबीच एक वर्ष भित्रमा मुलुकभर फोरजी सेवा विस्तार गर्ने गरी सम्झौता भएको थियो। तर फोरजी सेवा विस्तारका लागि खरिद सम्झौता भएको करिब ५ वर्ष पुरा हुनलाग्दा पनि अझै कतिपय स्थानीयतहका बासिन्दाले फोरजी सेवाको लाभ लिन पाइरहेका छैनन्।
नेपाल टेलिकमले उपलब्ध गराएको तथ्यांकअनुसार हालसम्म ९३७ स्थानीय तहमा मात्र फोरजी सेवाको पहुँच पुगेको र अझै १६ स्थानीय तह यसको उपयोग गर्नबाट बञ्चित छन्।
हालसम्म काभ्रे, रसुवा, नवलपुर, बझाङ, कालिकोट, मुगु र दार्चुलाका एक/एक स्थानीय तह, मनाङ र डोल्पको दुई/दुई स्थानीयतह र हुम्लाको पाँच स्थानीय तहमा फोरजी सेवा पुग्न सकेको छैन।
काभ्रेको तेमाल गाउँपालिका, रसुवाको उत्तर गया गाउँपालिका, मनाङको नार्पा भूमी र मनाङ डिस्याङ गाउँपालिका, डोल्पाको छार्का ताङसोङ र शे फोक्सुन्डो गाउँपालिका, कालिकोटको महावै गाउँपालिका, मुगुको मुगुम कार्मारोङ गाउँपालिका, हुम्लाको अदानचुली, चंखेली, खार्पुनाथ, नाम्खा र सर्केगाड गाउँपालिका, बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका, दार्चुलाको दुहु गाउँपालिका, नवलपुरको बुलिङटार गाउँपालिका र बझाङको तलकोट गाउँपालिकामा हालसम्म फोरजी सेवा विस्तार हुन नसकेको नेपाल टेलिकमले टेक्नोलोजीखबरलाई जानकारी दिएको छ।
यी मध्ये केही गाउँपालिकामा छिमेकी स्थानीय तहमा रहेको फोरजीको बीटीएस टावरले कभर गर्ने स्थानका बासिन्दाले मात्र फोरजी सेवा थोरबहुत अनुभुत गर्न पाएका छन्।
‘यी स्थानीय तहहरु उच्च हिमाली भेग र भौगोलिकरुपमा कठिन स्थानमा रहेकाले फोरजी पुर्याउन सकिएको छैन। मुलुकभर फोरजी पुर्याउनका लागि नेपाल टेलिकमले काम गरिरहेको छ,’ टेलिकमका प्रवक्ता शोभन अधिकारीले टेक्नोलोजीखबरसँग भने, ‘हामीले यी स्थानहरुमा कसरी फोरजी सेवा विस्तार गर्ने भनेर योजना बनाई रहेका छौं।’
नेपाल दूरसञ्चार प्राधिकरणकाअनुसार देशभर २ करोड १ लाख ३२ हजार ९६१ फोरजी सेवाग्राही छन जसमध्ये १ करोड ३० लाख १५ हजार ३९५ नेपाल टेलिकमका प्रयोगकर्ता छन् भने बाँकी एनसेल आजियाटाका छन्। तथ्यांकअनुसार मोबाइल ब्रोडब्याण्ड ९५ दशमलब ६० प्रतिशत रहेको छ।
प्रकाशित: ११ मंसिर २०८०, सोमबार