Technology Khabar ११ मंसिर २०८०, सोमबार
काठमाडौं ।
लामो समयदेखि चर्चामा रहेको एप्पलको ‘आईफोन एसई ४’ को बारेमा समय समयमा विभिन्न जानकारीहरु आईरहेका छन्। कम्पनीले बजेटमैत्री फोनको रुपमा लन्च गरेको एसई सिरिजको नयाँ फोनमा अब कम्पनीले नयाँ डिजाइन प्रयोग गर्ने चर्चा रहेको छ।
प्रयोगकर्ताहरू यसको पुरानो डिजाइनले गर्दा यो फोन किन्न हिचकिचाइरहेका विभिन्न रिपोर्टहरूले उल्लेख गरेका छन्। यसै विषयलाई ध्यानमा राखेर, एप्पलले आगामी बजेट–मैत्री आईफोन एसई ४ मोडलमा यस समस्यालाई सम्बोधन गर्ने लक्ष्य राखेको जनाइएको छ। साथै यस बहुप्रतीक्षित फोनको कन्सेप्ट भिडियो देखा परेको छ।
नयाँ डिजाइन र ४८मेगापिक्सेल क्यामरा हुनसक्ने
बजेट–फ्रेन्डली आईफोन एसई ४ को डिजाइन आईफोन १४ को जस्तै हुने जानकारी सबैलाई थाहा भएकै विषय हो। साथै फोनमा टच आईडी बटन वा बाक्लो बेजेल्स पनि नहुने थप उल्लेख छ। आईफोन १५ सिरिजबाट प्रेरणा लिने यस फोनले “एक्शन बटन” र यूएसबी–टाइप सी पोर्ट जस्ता आविष्कारहरूलाई पनि समर्थन गर्ने जनाइएको छ।
४आरएमडी नामक एक डिजाइनरले फोनको लागि प्रोफाइल बनाउनको लागि यो सबै जानकारी संयोजन गरेको रिपोर्टमा उल्लेख गरिएको छ।
सो भिडियोमा देखिए जस्तै नयाँ किफायती आईफोन एसई ४ मोडल वास्तवमा नै हरेक अर्थबाट आधुनिक फोन हुने बताईएको छ। यस फोनको एकमात्र नकारात्मक पक्ष भनेको यसले एकल क्यामरा फिचर गर्नेछ। तर ४८ मेगापिक्सेलको दाबी गरिएको यो सेन्सरले फोर के भिडियोहरू रेकर्ड गर्न सक्षम हुने कन्सेप्ट (अवधारणा) भिडियोमा स्पष्ट रूपमा देखाइएको छ।
कन्सेप्ट भिडियोमा देखाइए अनुसार फोनमा ६.१ इन्चको ओएलईडी स्क्रिन र ३२४० एमएएच ब्याट्री रहेको जनाइएको छ। यद्यपी, वास्तविक स्पेसिफिकेसनहरूमा भने केही फरक हुनसक्ने छ। यसमा ओएलईडीको सट्टामा एलसीडी स्क्रिन वा उच्च ब्याट्री क्षमता रोज्न सकिने सम्भावना रहेको छ। तुलनाको लागि, हालको एसई ३ मोडेलमा २०१८ एमएएचको ब्याट्री क्षमता रहेको छ।
नयाँ आईफोन एसई सम्भवतः ४ एनएम ए १६ बायोनिक प्रोसेसरसहित आउने संभावना छ। तसर्थ, यस फोनले आईफोन १५ र आईफोन १५ प्लस जस्तै कार्यसम्पादन प्रदान गर्नेछ।
यद्यपि, प्रयोगकर्ताहरूलाई यो स्तरको गति आवश्यक नहुन सक्ने भएकाले ए१६ र ए१५ प्रोसेसरहरू बीचको छनोटले समग्र नतिजामा उल्लेखनीय प्रभाव पार्ने बताईएको छ।
प्रकाशित: ११ मंसिर २०८०, सोमबार