
काठमाडौं ।
अब प्रयोगकर्ताले भुक्तानी सेवा प्रदायकको वालेट एउटा मात्र बोके पुग्ने भएको छ।
नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाहरुलाई जारी गरिएको भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन-२०८० मा एउटा संस्थाको वालेटबाट अर्को संस्थाको वालेटमा रकम पठाउन सकिने व्यवस्था गर्न भनेको छ। राष्ट्र बैंकको यो निर्देशनसँगै वालेट प्रयोकर्ताले छुट्टा छुट्टै वालेटको सट्टा एउटै वालेट प्रयोग गरेर अन्य वालेटमा रकम पठाउन सक्नेछन्।
निर्देशनको भुक्तानी प्रणालीको अन्तरआबद्धता (Interoperablibity) तथा पहुँच (Access) सम्बन्धी व्यवस्थामा ‘एउटा भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेको वालेटबाट अर्को भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेको वालेटमा रकमान्तर गर्नसक्ने गरी विद्युतीय वालेटमा अन्तरआबद्धता कायम गर्ने,’ उल्लेख छ।
हाल नेपालमा २७ ओटा भुक्तानी सेवा प्रदायक वालेट सञ्चालनमा रहेका छन्। तर धेरै जस्तो संस्थाको वालेटबाट अर्को संस्थाको वालेटमा रकमान्तर गर्न सकिँदैन। यसले गर्दा ग्राहकले आफूले प्रयोग नगरेको वालेटबाट अर्को वालेटमा पैसा पठाउन बैंक अकाउन्ट वा सोही वालेट प्रयोग गर्नु पर्ने बाध्यता छ।
नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका अनुसार गत आर्थिक वर्ष नै वालेटहरुलाई भुक्तानी प्रणालीको अन्तरआबद्धता तथा पहुँच सम्बन्धी व्यवस्थाका लागि निर्देशन जारी गरेको थियो। तर गत वर्षको निर्देशनमा भाषागत स्पष्टता नभएकाले यस वर्ष सुधार गरेर राखिएको विभागका एक अधिकारीले जानकारी दिए।
गत आवको निर्देशनमा एउटै संस्थाको वालेटबाट सोही संस्थाको वालेटमा रकमान्तर गर्नु पर्ने जस्तो बुझिएकाले अहिले भाषागत सुधार गरेर प्रष्टसँग बुझ्नेगरी निर्देशनमा लेखिएको ती अधिकारीको भनाई छ।
एउटा संस्थाको वालेट उपयोग गर्ने प्रयोगकर्ताले सहजै रुपमा अर्को संस्थाको वालेटमा रकमान्तर गर्न सक्ने व्यवस्था मिलाउन निर्देशन जारी गरिएको ती अधिकारीले बताए।
“सबै वालेटहरुको आफ्ना–आफ्नै प्रणाली छ र एक अर्कामा प्रणालीको अन्तरआबद्धता हुन प्राविधिक, आर्थिक कठिनाई छ,” उनले टेक्नोलोजीखबरसँग भने, “तर ग्राहकको सुविधाका लागि भुक्तानी प्रणालीको अन्तरआबद्धता कार्यान्वयनमा ल्याउन खोजिएको हो।”
यस व्यवस्थाका लागि राष्ट्र बैंकले गत आवमै निर्देशन जारी गरे पनि प्राविधिक, आर्थिक रुपमा जटिलता भएकाले भुक्तानी प्रणालीको अन्तरआबद्धता कार्यान्वयनमा ल्याउनका लागि समयसीमा भने नकोकिएको ती अधिकारीले जानकारी दिए।
यस्तै भुक्तानी सेवा प्रदायक मध्येको एक कम्पनी माई पेका हेड अफ बिजनेस एण्ड मार्केटिङ रोशन सिग्देलले गत आर्थिक वर्ष राष्ट्र बैंकले जारी गरेको निर्देशनअनुसार कम्पनीहरुले भुक्तानी प्रणालीको अन्तरआबद्धता तथा पहुँच सम्बन्धी व्यवस्थाका लागि पहल सुरु गरिसकिएको बताए।
“राष्ट्र बैंकको गत आवको निर्देशन अनुसार हामीले काम सुरु गरिसकेका छौं। केही वालेटसँग सम्झौता भइसकेको छ भने केहीसँग सम्झौता हुने चरणमा छ,” सिग्देलले भने, “यसका लागि प्राविधिक अन्तरआबद्धताको चरणमा छौं।”
यसैगरी भुक्तानी प्रणालीको अन्तरआबद्धता तथा पहुँचका लागि वालेट सञ्चालकहरुले एक अर्कासँग छुट्टा छुट्टै सम्झौता गरेर एपीआई डकुमेन्ट सेयर गर्नु पर्ने हुन्छ वा थर्ड पार्टी कम्पनीसँग टाइअप गरेर अन्य वालेटमा रकमान्तरण गर्न सकिने व्यवस्था मिलाउन सकिने एक भुक्तानी सेवा प्रदायकका अधिकारीले जानकारी दिए।
“आफ्नो सुबिधा र प्रविधिअनुसार भुक्तानी सेवा प्रदायकहरुले राष्ट्र बैंकको निर्देशनअनुसार अन्तरआबद्धताका लागि व्यवस्था गर्ने हो।”
हाल बजारमा राष्ट्र बैंकको अनुमति पाएका २८ सेवा प्रदायकहरु छन् जसमध्ये करिब १ दर्जनले सेवा दिईरहेका छन्।
प्रकाशित: ११ मंसिर २०८०, सोमबार