
काठमाडौं ।
चन्द्रयान–३ को सफलता पछि भारतीय अन्तरीक्ष अनुसन्धान संगठन (इसरो)ले अर्को मिसनको तयारी गरिरहेको छ। उक्त मिसनको नाम चन्द्रयान–४ भनिएको छ। यस मिसन मार्फत इसरोले चन्द्रमाको माटो पृथ्वीमा ल्याउनेछ।
इसरो केन्द्रका निर्देशक नीलेश देसाईले आगामी प्रोजेक्टको बारेमा जानकारी दिँदै चन्द्रमामा चन्द्रयान–३ ल्याण्डरको सफल सफ्ट ल्याडिङ पछि अब दुई नयाँ चन्द्र मिसन ल्यूपेक्स र चन्द्रयान–४ मा काम भइरहेको बताएका छन्।
यस मिसनको लक्ष्य चन्द्रमाबाट माटोको नमूना पृथ्वीमा फिर्ता ल्याउने रहेको छ। यस पटक १० गुणा भारी रोभर लन्च गरिने ड्राइभस्पार्कले उल्लेख गरेको छ। यदि यो मिसनमा भारत सफल भएमा अन्य ग्रह वा भूउपग्रहको नमूना पृथ्वीमा ल्याउने देशहरुमा समावेश हुनेछ।
रिपोर्टका अनुसार इसरोका निर्देशक नीलेशले आगामी चन्द्रयान मिसनको ल्याडिङ पनि चन्द्रयान–३ जस्तै हुने बताएका छन्। यद्दपि यसको केन्द्रीय मोड्यूल चन्द्रमाको परिक्रममा गर्ने मोड्यूलका साथ अवतरण गरेपछि फिर्ता आउनेछ। साथै रि–एन्ट्रि मोड्यूल चन्द्रमाको माटोको नमूनाका साथ फिर्ता आउनेछ।
आगामी ५ देखि ७ वर्षमा चन्द्रमाको सतहबाट नमूना संकलन गर्ने चुनौती पूरा गर्ने नीलेशले जानकारी दिए। यो मिसन चन्द्रयान–३ भन्दा कठिन हुने उनको भनाई छ।
चन्द्रयान–३ मा ३० किलोग्रामको रोभर प्रयोग गरिएको थियो भने नयाँ मिसनका लागि ३५० किलोग्रामको भारी रोभर चन्द्रमाको सहतमा ल्याण्ड गर्नेछ। मिसन ल्याण्ड गरिने क्षेत्र पहिचान गर्न भने बाँकी नै रहेको छ।
यो करिब एक किलोमिटर रेञ्ज हुन सक्छ। चन्द्रयान–३ मिसनमा ७० डिग्रीसम्म गइएको छ। तर ल्यूपेक्स मिसनका माध्यमबाट चन्द्रमाको अध्यारो क्षेत्रका निरीक्षण गर्नका लागि ९० डिग्रीसम्म जाने उनले बताए।
रिपोर्टका अनुसार चन्द्रयान–४ मिसनमा दुई रकेटको मद्दत लिइने सम्भावना छ। भारतीय स्पेस एजेन्सीले जापानको स्पेस एजेन्सीसँग मिलेर एक चन्द्र मिसन लन्च गर्ने योजना बनाइरहेको छ। यसमा पनि काम भइरहेको छ। आगमी मिसन २०२८ मा लन्च हुने सम्भावना छ।
प्रकाशित: ९ मंसिर २०८०, शनिबार