
काठमाडौं ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँ र नेकपा एमाले निकट युवा संघ नेपालले आयोजना गरेको प्रदर्शन स्थलमा नेपाल प्रहरीले मोबाइल जामर भेहिकल सञ्चालन गरेको छ। मोबाइल नेटवर्क सम्पर्क विच्छेद गराउन जामर प्रविधि प्रयोग गरिन्छ।
प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’को प्रदर्शन बल्खु र युवा संघको प्रदर्शन स्थल तीनकुने क्षेत्रमा प्रहरीले १ थान जामर भेहिकल सञ्चालन गरेको छ। जामर प्रविधि प्रयोग गरिएसँगै बल्ुख र तीनकुनेको प्रदर्शन स्थलमा मोबाइल नेटवर्कमा समस्या आएको छ।
के हो मोबाइल जामर
मोबाइल फोन जामरले मोबाइल फोनले उत्सर्जन गर्ने बराबरको रेडियो फ्रिक्वेन्सी उत्सर्जित गर्दछ। जामरले मोबाइल फोनले प्रयोग गर्ने समान फ्रिक्वेन्सीमा नै सिग्नल प्रशारण गर्ने गर्दछ, जसले गर्दा मोबाइल फोन र बेस स्टेशनबिच संचार सम्पर्क बिच्छेद गरिदिन्छ। जसले गर्दा जामरको रेन्जमा रहेका सबै मोबाइल फोन लगायतका विद्युतिय डिभाइसहरु अबरुद्ध हुने गर्छन्।
जामरलाई जहाँ पनि राखेर प्रयोग गर्न सकिन्छ। यसलाई निश्चित स्थानमा राखेर वा कुनैपनि गाडिमा राखेर एक ठाउँबाट अर्को ठाउँमा प्रयोग गर्न सकिन्छ।
यस्तो डिभाइसले सामान्यत टूजी, थ्रीजी, फोरजी, सिडिएमए, वाईफाई, ब्लूटूथलगायतका अधिकांश फ्रिक्वेन्सीहरुलाई अवरुद्ध पार्दछ।
जामरले आधिकारिक मोबाइल सेवालाई अबरोध पुर्याउने भएकाले लाइसेन्स नलिइकन जामरको प्रयोगलाई धेरै देशहरुमा गैरकानूनी कार्य र अपराध मानिन्छ। कतिपय देशहरुमा भने यस्तो प्रविधि अनुमतिमा मात्र प्रयोग गर्न सकिन्छ। प्रयोगमा हुँदा मोबाइल जामर उपकरणले इमरेन्जी सेवालाई पनि अवरोध गर्छ।
प्रकाशित: ७ मंसिर २०८०, बिहीबार