
काठमाडौं ।
कुनै समय सञ्चारको सबैभन्दा विश्वासिलो र भरपर्दाे माध्यमका रूपमा हुलाक सेवा थियो तर अहिले यो सेवा सुस्ताएको छ। सूचना र प्रविधिको विकासका कारण हुलाक सेवाको अस्तित्व सङ्कटमा परेको हो।
व्यक्तिगत, पारिवारिक, सामाजिक र सरकारी सूचना आदानप्रदान गर्न भरपरर्दो आधार बनेको हुलाकलाई सरकारले समयसापेक्ष परिवर्तन गर्न नसक्दा र प्रविधिसँगसँगै अघि बढाउन नसक्दा सुस्ताएको जानकारहरुको तर्क छ।
विगतमा हुलाक सेवाले नागरिकको घरदैलोमा सेवा उपलब्ध गराउँदै आए पनि सूचना प्रविधिमा भएको विकास र ग्रामीण क्षेत्रमा पनि इन्टरनेटको पहुँचका कारण हुलाकको अस्तित्व जोखिममा पर्न थालेको हो।
एक दशक अघिसम्म आम नागरिकको भरोसा बनेको हुलाक सेवा अहिले सरकारीपत्र र केही व्यक्तिगत काममा मात्र सीमित छ। प्रविधिको विकाससँगै हुलाक कार्यालयमार्फत आदानप्रदान हुने व्यक्तिगत चिठीपत्रमा कमी आएको छ।
एक ठाउँको सन्देश अर्को ठाउँमा पठाउन इन्टरनेट र मोबाइल फोन सजिलो माध्यम भएकाले व्यक्तिलाई पठाउने चिठीमा कमी आएको हो।
व्यक्तिको नाममा आउने चिठी ९९ प्रतिशतले घटेको जिल्ला हुलाक कार्यालयका प्रमुख सोभाराम बस्नेतले जानकारी दिए। त्यस्तै धेरैजसो सरकारी कार्यालयका चिठीपत्र आदानप्रदान पनि काम हुँदै आएको उनको भनाइ थियो।
हाल दैनिक सरदर डेढ सयदेखि दुई सय ५० वटासम्म चिठी आउने गर्दछन्। जिल्लाका उपमहानगर, नगर, गाउँपालिका तथा वडाका पत्र आउने प्रमुख बस्नेतले बताए। अन्य चिठी आउन छोडेपनि हुलाकको काम भने घटेको छैन्।
हाल हुलाक कार्यालयले चिठीपत्र दर्ता, टिकट बिक्री, हुलाक बैंक सेवा, धनादेश सेवा, पाँच सयबाट क्षमताका एफएम रेडियो नवीकरण, केवल टेलिभिजन नेटवर्कको नवीकरण तथा राजस्व बुझ्ने, सूचनाको हक कार्यान्वयन गर्ने गराउने, जिल्लाका सबै सार्वजनिक निकायमा सूचना अधिकारी तोक्न लगाउने, नागरिक बडापत्र राख्न लगाउने तथा त्यसको अनुगमन गर्ने कार्य गर्दै आएको उनले बताए।
बितेको तीन आर्थिक वर्षमा यस कार्यालयमा रु एक करोड ६६ लाखभन्दा बढी राजस्व सङ्कलन भएको थियो। आर्थिक वर्ष २०७७/७८ मा ५७ लाख ७७ हजार पाँच सय १२ रुपैँया एक पैसा सङ्कलन भएको कार्यालयले जनाएको छ।
प्रकाशित: ७ मंसिर २०८०, बिहीबार