पाँच किलोको माइक्रो रोभरले चन्द्रमामा खोजी गर्ने, जापानी कम्पनीले अर्को वर्ष मिसन पठाउँदै

Technology Khabar ७ मंसिर २०८०, बिहीबार

काठमाडौं ।

जापानी कम्पनी ‘आइस्पेस’को चन्द्रमा मिसन यसै वर्ष असफल भएको थियो। अप्रिलमा, आइस्पेसको हाकुटो-आर एम१ (HAKUTO-R M1) ल्यान्डर चन्द्रमामा सुरक्षित अवतरण गर्न असफल भयो र क्र्यास ल्यान्डिङमा नष्ट भयो। तर, कम्पनीको मनोबल उच्च छ।

हालैको एक रिपोर्टकाअनुसार आईस्पेसले एउटा मिनी रोभर तयार गरेको छ, जुन अर्को वर्ष चन्द्रमामा अवतरण गर्न पृथ्वीबाट उड्नेछ। विशेष कुरा के छ भने रोभरको तौल ५ किलो मात्र छ। यसमा एचडी क्यामरा जडान गरिएको छ, जसले चन्द्रमाको फोटो खिच्नेछ।

समाचारकाअनुसार माइक्रो रोभर आगामी वर्षको जाडोमा लन्च गर्न सकिनेछ। यो रोभर १०.२४ इन्च लामो, १२.४ इन्च चौडा र २१.२६ इन्च अग्लो छ। माइक्रो रोभरको तौल ५ किलो हुनेछ। यसको अगाडि एचडी क्यामरा जडान गरिएको हुनेछ, जसले चन्द्र सतहको फोटो खिच्न सक्षम हुनेछ।

यो उडान पूरा गर्न आईइस्पेसले ‘मिसन २ उडान’ योजना तयार गरेको छ भने ल्यान्डरको डिजाइन पनि फाइनल भइसकेको छ।

“चन्द्र यातायात र डाटा सेवाहरू प्रदान गर्न निरन्तर मिसन सञ्चालनहरू आवश्यक छन्, त्यसैले म मिशन २ ल्यान्डर उडान मोडेल र माइक्रो रोभरको अन्तिम डिजाइनमा हामीले गरेको प्रगति घोषणा गर्न पाउँदा खुसी छु। विशेष गरी, मलाई यो सम्भव बनाएका सबै कर्मचारीहरूप्रति गर्व छ, जसले करिब छ महिना अघि मिशन १ पूरा गरेको छोटो समयमा नै यस मिशनलाई समयतालिकामा अगाडि बढाउन आवश्यक सुधारहरू समावेश गरेका छन्,” संस्थापक र सीईओ हकामाडाले भने।

यसअघि कम्पनीले डिसेम्बर २०२२ मा आफ्नो पहिलो चन्द्रमा मिसन सुरु गरेको थियो। त्यस अन्तर्गत हाकुटो-आर ल्यान्डर प्रक्षेपण गरिएको थियो। अप्रिल २०२३ मा, ल्यान्डरले चन्द्रमामा अवतरण गर्ने प्रयास गर्यो, तर अन्तरिक्ष यानको अनबोर्ड कम्प्युटरले ल्यान्डरको उचाइ र चन्द्रमाको सतहको गलत गणना गर्यो। जसका कारण ल्यान्डर चन्द्रमाको सतहसँग ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो ।

पहिलो मिसनका गल्तीहरुबाट पाठ सिकेर दोस्रो मिसनका लागि राम्रो सफ्टवेयर तयार गरेको आइस्पेसले जनाएको छ। कम्पनीले अर्को चन्द्रमा मिसनमा काम गरिरहेको छ, जुन सन् २०२६ मा प्रक्षेपण हुनेछ।

हालसम्म विश्वका सिमित देशहरूले मात्रै चन्द्रमामा आफ्नो मिसन अवतरण गराउन सकेका छन्। जसमा अमेरिका, रुस, चीन र भारत पर्छन् । भारत चन्द्रमाको दक्षिणी ध्रुवमा आफ्नो मिसन अवतरण गर्ने विश्वको पहिलो र एकमात्र देश हो।

यदि आईस्पेस आफ्नो मिसनमा सफल भयो भने, यो विश्वको पहिलो निजी कम्पनी बन्नेछ जसको मिसन चन्द्रमामा अवतरण हुनेछ।

प्रकाशित: ७ मंसिर २०८०, बिहीबार

तपाइको प्रतिक्रिया