दुर्गा प्रसाईँ सम्बन्धित र त्रसित पार्ने अन्य भिडियोहरु हटाउन प्रेस काउन्सिलको युट्युबसहित १७ मिडियालाई स्पष्टीकरण

Technology Khabar ६ मंसिर २०८०, बुधबार

काठमाडौं ।

सञ्चार माध्यमको आवरणमा सर्वसाधारणलाई त्रसित र आतङ्कित गर्ने सामग्री सम्प्रेषण गरेको भन्दै प्रेस काउन्सिल नेपालले बुधबार युट्युबसहितका १७ वटा मिडियालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।

विभिन्न सामाजिक अभियन्ताको प्रदर्शनीको विषयलाई लिएर प्रायोजित एवं जनमानसलाई उत्तेजित, त्रसित पार्ने भाषा शैलीमा हिंसा, आतङ्कलाई प्रश्रय पुग्ने सामग्री सम्प्रेषण गरेको भन्दै आचारसंहिता बमोजिमको कारबाही गरेको काउन्सिलले बुधबार विज्ञप्ति जारी गरेर जनाएको हो ।

काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा दर्ता सूचीकरण भएका सञ्चार माध्यमअन्तर्गत सामाजिक सञ्जालबाट अवाञ्छित सामग्री सम्प्रेषण भएको हकमा २४ घण्टाभित्र स्पष्टीकरण सोधिएको जनाइएको छ।

यहि मंसिर ७ गते बिहिबार भोली मेडिकल व्यवसायी दुर्गा प्रसाईँले काठमाडौं केन्द्रित आन्दोलन र प्रदर्शनको घोषणा गरेका छन् भने उनीसम्बद्ध कार्यक्रमबारे विभिन्न मिडियाहरुमा भिडियोहरु प्रशारण तथा प्रकाशित भएका छन्।

यस्तैगरी राष्ट्रिय युवा संघले समेत सोही दिन प्रदर्शन गर्ने बताउँदै आएको छ।

तर काउन्सिलले भने उनीहरु कसैको नाम र सामग्रीको बारेमा स्पष्ट उल्लेख नगरी त्यस्ता कन्टेन्टहरु हटाउन भनेको हो। त्यस्तै कुन सामाग्रीहरुले सर्वसाधारणलाई त्रसित र आतङ्कित गरेको भन्ने समेत उक्त विज्ञप्तीमा स्पष्ट छैन्।

प्रसाईँको प्रदर्शनमा आएका व्यक्तिहरुलाई युवा संघका कार्यकर्ता भनिएका व्यक्तिहरुले लखेटेको भिडियोहरु सामाजिक संजालमा भारइल भएका छन्। तर युवा संघले त्यस घटनामा आफूहरु संलग्न नभएको बताएको छ।

प्रसाईँले आफूलाई सामाजिक अभियानमा लागेको बताउँदै आएका छन्।उनले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाभियान संचालन गर्दै आएका छन्।

यस्तै काउन्सिलले कुनै मिडियाअन्तर्गत आबद्ध नभएका र आचारसंहिता विपरीत सामग्री सम्प्रेषण गरेका सञ्चार माध्यम (युट्युब च्यानल)लाई त्यस्ता सामग्री हटाइ काउन्सिलमा जानकारी गराउन निर्देशन दिनुका साथै थप अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा पत्राचार गरेको छ ।

“आचारसंहिताविपरीत अफवाह फैलाउने, द्वन्द्व बढाउने, अश्लिल सामग्री सम्प्रेषण गर्ने, घृणास्पद अभिव्यक्ति लगायतका भ्रमपूर्ण सामग्री सम्प्रेषण गर्ने सामाजिक सञ्जाललाई त्यस्ता सामग्री हटाइ काउन्सिलमा जानकारी गराउन निर्देशन दिनुका साथै थप अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा पत्राचार गरिएको छ” विज्ञप्तिमा भनिएको छ।

काउन्सिलले सर्वसाधारणलाई त्रसित एवं उत्तेजित बनाउने शीर्षक दिइ अफवाह फैलाउने, अवाञ्छित गतिविधिलाई प्रश्रय दिने, हिंसा, त्रासलाई प्रश्रय पुग्ने सामग्री सम्प्रेषण गर्ने र त्यस्ता सामग्रीलाई अप्राकृतिकरूपमा भ्युअर बढाउने उद्देश्यले अतिरञ्जित ढङ्गले चरित्र हत्या गर्ने किसिमबाट सामग्री सम्प्रेषण भएको प्रति ध्यानाकर्षण भएको जनाएको छ।

काउन्सिलले हिंसा, त्रास एवं द्वन्द्वलाई प्रश्रय पुर्‍याउने, प्रायोजित एवं पक्षपोषणयुक्त, घृणास्पद अभिव्यति एवं वैयक्तिक गोपनीयताप्रतिकूल सामग्री सम्प्रेषण नगर्न/नगराउन सञ्चार माध्यम, आम पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तामा आग्रह गरेको छ।

*समाचार र हेडलाइन सम्पादित

प्रकाशित: ६ मंसिर २०८०, बुधबार

तपाइको प्रतिक्रिया